Logo
Logo

दृष्टिका १० हेडलाइन्स् : २४ सयमा काेराेना पुष्टिदेखि राजदूत नियुक्ति खारेजसम्म


दृष्टि संवाददाता


हेडलाइन्स् :

१. २४ घण्टामा पीसीआर र एन्टिजेन विधिबाट गरिएको ११ हजार ६६४ परीक्षणमा २ हजार ४४५ जनामा संक्रमण पुष्टि, थप १ हजार २५८ जना संक्रमणमुक्त, हालसम्म नेपालमा कोरोनामुक्त हुनेको संख्या ६ लाख ३३ हजार ३३२ पुग्यो, थप ३२ जनाको मृत्यु भएसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ५८२ पुग्यो, सोमबारबाट जोनसोन एन जोनसोनको खोप लगाउन सुरू ।

२. नेपाललाई अनुदान वा खरिदमार्फत थप खोप उपलब्ध गराउन खोप उत्पादक देशलाई आग्रह गर्ने मन्त्रिपरिषदको निर्णय, ओली सरकारले गरेका राजदूत नियुक्ति खारेज, साउन ६ गते सार्वजनिक बिदा दिने निर्णय, सिन्धुपाल्चोक र मनाङलाई विपदग्रस्त क्षेत्र घोषणा, स्वास्थ्य सचिवमा डा. रोशन पोखरेल बढुवा गर्ने निर्णय, भारतसँगको उडान थप गर्ने मन्त्रिपरिषद्को निर्णय, अब सातामा ६ उडान हुने ।

३. नेकपा एमालेको केन्द्रीय कमिटीको बैठकद्वारा पार्टीको आन्तरिक विवाद सम्बन्धमा दुई निर्णय, पार्टी कार्यदलले गरेको १० बुँदे सहमतिलाई अनुमोदन, प्रधानमन्त्री शेरबहादुर देउवाको समर्थनमा भोट हाल्ने सांसदलाई कारवाही गर्ने, २४ घण्टे स्पष्टीकरण माग, एमालेमाथि हमला सुरु भएकाले प्रतिवाद गर्न अध्यक्ष केपी शर्मा ओलीको निर्देशन, सबै नेपालीलाई पुग्ने खोपको व्यवस्था आफूले गरेको भन्दै देउवा नेतृत्वको सरकारलाई जस नलिन ओलीको सुझाव ।

४. संवैधानिक परिषद् सम्बन्धी अध्यादेश खारेज भएसँगै केपी ओली सरकारले नियुक्त गरेका पदाधिकारी अवैधानिक हुने जिकिर गर्दै सर्वोच्च अदालतमा पूरक निवेदन पेश, संविधानको धारा ११४ बमोजिम गत मंसिर ३० मा जारी अध्यादेश स्वतः निष्क्रिय भइसकेको अवस्थामा संवैधानिक निकायका ५२ जना पदाधिकारी आफ्नो पदमा कार्यरत रहनु अवैधानिक हुने जिकिर गर्दै वरिष्ठ अभिवक्ता ओमप्रकाश अर्यालद्वारा सर्वोच्च अदालतमा पुरक निवेदन दर्ता,संविधानको धारा १३३(२),(३) तथा धारा १३७(३) समेतका आधारमा अदालतको आदेशबाट पदमुक्त गरी पाउन अधिकारपृच्छा, प्रतिषेध वा अन्य आवश्यक आज्ञा आदेश जारी गर्न माग ।

५. सत्तारुढ नेपाली कांग्रेसको १४ औँ महाधिवेशन चुनावी प्रक्रिया घटाएर गर्ने तयारी, पार्टीका तल्लो तहका केही समितिहरुको अधिवेशन थाँती राखेर महाधिवेशन गर्ने योजना, कार्यतालिकाअनुसार गाउँ÷नगर, वडा अधिवेशन आगामी साउन १२ गते, गाउँ÷नगरपालिका अधिवेशन साउन १६ गते र प्रदेशसभा क्षेत्रीय अधिवेशन साउन २० गते हुने ।

६. चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीद्वारा कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारलाई मेडिकल माफियाको हितमा काम गरेमा जुनसुकै बेला आन्दोलनका कार्यक्रम ल्याउने चेतावनी, चिकित्सा शिक्षा आयोगमा प्रधानमन्त्री र मन्त्रीहरु नरहने गरी ऐन संशोधनको माग, कोरोनाको परीक्षण, भ्याक्सिन वितरण र उपचारको पर्याप्त व्यवस्था गर्न समेत सरकारसँग आग्रह ।

७. यस वर्षको मनसुनबाट हालसम्म ६३ जनाको मृत्यु, ३५ जना अझै बेपत्ता, ६३ जना घाइते, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार मनसुनबाट ४८ जिल्ला प्रभावित, ५ सय ६५ निजी आवास पूर्ण रुपमा क्षति, १ सय ५५ घर आंशिक रुपमा तथा ३७ सरकारी भवन र १२ वटा सामुदायिक भवन तथा विद्यालय क्षति ।

८. धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक सोमबार दोहोरो अंकले बढ्यो, नेप्से परिसूचक १३ दशमलव ९७ अंकले बढेर दुई हजार ९ सय ९४ दशमलव ५८ अंक कायम, कुल २ सय १९ कम्पनीको तीन करोड ७५ लाख ७१ हजार ३५४ कित्ता शेयर ११ अर्ब ८१ करोड ३७ लाख ५४ हजार ६ सय ७ रुपैयाँ मूल्यमा खरिद बिक्री, तेह्रथुम पावर कम्पनीको आइपीओ भोलिबाट खुला हुँदै, सर्वसाधारणलाई आठ करोडको शेयर विक्री हुँदै, निजी क्षेत्रका लागि आवश्यक सहजीकरण गर्न तयार रहेको प्रधानमन्त्री शेरबहादुर देउवाको भनाइ ।

९. नेपाली राष्ट्रिय महिला फुटबल टिमको प्रारम्भिक बन्द प्रशिक्षण सुरु, ४५ खेलाडी सहभागी, चेतन घिमिरे महिला फुटबल टिमको सहायक प्रशिक्षकमा चयन, कोरोना भाइरसको महामारी कारण एएफसी अवार्ड २०२१ रद्द, धवनको उत्कृष्ट प्रदर्शन श्रीलंकाविरुद्ध भारत ७ विकेटले विजयी, टोकियो ओलम्पिक भिलेजभित्रै खेलाडीहरुमा कोरोना पुष्टि ।

१०.र, भारतमा थप ३८ हजार संक्रमित, ५०१ संक्रमितको मृत्यु, पाकिस्तानमा ट्रक र बस जुध्दा ३० जनाको मृत्यु, बाढीले घर भत्काउँदा मुम्बईमा २५ जनाको मृत्यु, पाकिस्तानका सबै कुटनीतिक अधिकारी फिर्ता बोलाउने अफगानिस्तानको निर्णय, कोराना भाइरसको महामारीकाबीच चीनमा फैलिएको मंकीपक्स भाइरसका कारण १ जनाको मृत्यु, अफगान सरकार र तालिवानी विद्रोहीले शान्ति वार्तालाई निरन्तरता दिने ।

प्रतिक्रिया दिनुहोस्