Logo
Logo
टिप्पणी

राजनीतिक ‘स्पेस’ खोज्दै विप्लव



– Milan Limbu

काठमाडौं । पछिल्लो समय नेत्र विक्रम चन्द ‘विप्लव’ राजनीतिक भेटघाटमा व्यस्त छन् । शान्तिपूर्ण राजनीतिमा आएको केही समय चुपचाप बसेका विप्लव पछिल्लो समय एकपछि अर्को गर्दै राजनीतिक भेटघाट गरिरहेका छन् ।

लामो समयपछि आफ्नै कमाण्डर पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल, नेकपा क्रान्तिकारीका नेता मोहन वैद्य ‘किरण’, जनता समाजवादी पार्टी, (जसपा)का संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग क्रमैसँग भेटेका छन् । सबै भेटलाई सामान्य भेटघाट मात्रै भनिएता पनि विप्लव दौडका केही अर्थहरु छन् ।

राजनीतिक ‘स्पेस’ खोज्दै विप्लव
विप्लवले राजनीतिक भेटलाई तीब्रता दिनुको अर्थ उनले संदीय राजनीतिमा ‘स्पेस’ खोज्दैछन् भन्ने बुझ्नु पर्छ । वर्तमान व्यवस्था नै अस्वीकार गर्दै गैरराजनीतिक गतिविधि रोजेका विप्लव त्यसै मुलधारको राजनीतिमा फर्केका होइनन् ।

शसस्त्र संघर्षबाट राजनीतिक उद्देश्य प्राप्त नहुने निर्णयपछि उनी मुलधारमा फर्केका हुन् । तर, मुलधारको राजनीति पनि विप्लवले सोचे जस्तो सहज छैन । प्रतिवन्धित अवस्थामा हुँदा विप्लवको गन्ती जसरी हुन्थ्यो आज त्यो छैन । त्यसैले उनी संसदीय राजनीतिमै स्थान खोजिरहेका छन् ।

प्रचण्डसँगको भेटमा विप्लवले संसदीय राजनीतिमा आफ्नो स्थानबारे निक्कै लामो कुरा गरेका थिए । प्रचण्डले पनि ‘पार्टीमा फर्कनुस मिलेर अघि बढौं’ भने । विप्लवले ‘मेरा केही असहमतिहरु छन् । मेरा केही मुद्धाहरु छन् । ती असहमति र मुद्धाहरुको सम्बोधन हुने परिस्थिति बने एकै ठाउँमा रहन सकिन्छ’ भनेका थिए ।

प्रचण्डसँगको छलफल लगत्तै नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न पुगे । नेता नेपालसँग पनि विप्लवले संसदीय राजनीतिमा आफ्नो भूमिका र एकीकृत कम्युनिष्ट पार्टीका बारेमा छलफल गरेका थिए ।

यस बिचमा आफ्ना पुराना कमाण्डर डा. बाबुराम भट्टराईसँग पनि विप्लवले भेटेका छन् । भट्टराई र विप्लवबीच माओवादीबाट बाहिरिनुपर्ने कारणबारे लामो छलफल भएको थियो ।

यसैबीच, विप्लवले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग पनि मंगलबार भेटवार्ता गरे । ओलीसँगको भेटमा विप्लवले ‘तपाईकै कारण मुलधारको राजनीतिमा फर्के पनि तपाई सरकारमा हुँदा सहमतिअनुसार काम भएन’ भन्दै दुखेसो पोखेका थिए ।

किन थाके विप्लव ?
राज्यले प्रतिवन्ध लगाएपछि शसस्त्र क्रान्तिको बाटो रोजेको विप्लव समूहले केही समय त ‘जनयुद्ध शैली’ नै अपनायो । तर, अहिलेको अवस्थामा त्यो सम्भव भएन । शक्ति क्षयीकरण हुँदै गएपछि विप्लवले संसदीय राजनीतिमै फर्कने निधो गरेका हुन् ।

मुलधारको राजनीतिमा आएपछि पनि विप्लवको शक्ति क्षयीकरण रोकिएन । प्रतिवन्धित अवस्थामा हुँदा जस्तो खुल्ला राजनीतिमा चन्दा आतंक चलेन । एकपछि अर्को गर्दै नेता कार्यकर्ता ठूला पार्टीमा जान थाले । उक्त अवस्थाले विप्लवलाई निक्कै निरुत्साहित गरायो । त्यसैले उनी थप शक्ति आर्जनमा लागेका हुन् ।

माओवादीमा फर्काउने प्रयास
‘विप्लव’लाई नेकपा माओवादी केन्द्रमा फर्काउने विषय पनि चर्चामा छ । विभिन्न कारण माओवादी आन्दोलन संकटमा परेको बहस सुुरु भएको बेला माओवादीबाट नै विप्लवलाई पनि सँगै लैजानुपर्छ भन्ने कोणबाट छलफल अघि बढेको हो । अहिलेसम्म सत्तामा नगएका कारण ‘क्लिन’ देखिएका ‘विप्लव’लाई पार्टीमा भित्र्याएर महासचिव बनाउनुपर्छ भन्ने मत जाहेर हुन थालेको छ ।

यद्यपि यो सहज भने छैन । माओवादी भित्र व्यक्ति हाबी हुने प्रवृत्तिले नै विप्लवलाई महासचिव बनाएर लैजाने वातावरण सहज देखिदैन । यसबीचमा विप्लवले धेरै माओवादीसँग भेटेका छन् ।

के गर्लान विप्लव ?
संसदीय राजनीतिमा ‘स्पेस हन्टिङ’मा रहेता पनि विप्लवलाई सहज त छैन । यस्तो अवस्थामा विप्लवसँग दुई विकल्प हुन्छ । एक, अलि समय निर्वाचन कुर्ने र निर्वाचनमार्फत बैधानिक रुपमा संसदीय राजनीतिमा प्रवेश गर्ने । तर, संगठनात्मक रुपमा कमजोर भएकाले निर्वाचनमार्फत विप्लव समूहको नेकपाले स्थान बनाउने अवस्था छैन ।

कुनै पार्टीसँग एकता गर्ने विप्लवको दोस्रो विकल्प हो । विप्लवको लागि यो विकल्प उत्तम देखिन्छ । विप्लवले भने जस्तै वर्तमान व्यवस्था नै फेर्न त अहिलेकै अवस्थामा सम्भव छैन । विप्लव आफै हारेर पुरानै संरचनामा फर्केका हुन् । त्यसैले सारभूत रुपमा मुद्धा मिल्ने वा मिल्दा सहज हुने पार्टीसँग एकता गर्नुपर्ने हुन्छ । त्यसो भए कुन पार्टीसँग एकता गर्लान ? भन्ने चासो रहन्छ ।

विप्लवले कम्तिमा अहिले नै एमालेसँग एकता गर्न सक्दैनन् । कांग्रेस वा जसपा लगायतसँग एकता गर्ने सम्भावना पनि कम छ । त्यसैले प्रचण्डसँग विमतिहरु रहेता पनि माओवादीसँग एकता गर्दा विप्लवलाई सहज देखिन्छ ।

विप्लवको पहल
विप्लवले पछिल्लो समय राजनीतिक भेटघाटलाई तीब्रता दिनुको अर्थ एकिकृत कम्युनिष्ट पार्टी निर्माण पनि हो । पार्टीका उच्च तहका नेताहरुसँग ‘नेकपा खारेजप्रति ठूलो जमात असन्तुष्ट रहेकाले हामीले पहल थाल्नुपर्छ’ भनेका छन् । सोही बमोजिम माओवादी, पूर्वमाओवादी र अन्य कम्युनिष्टसँग भेटघाट गरेको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्