Logo
Logo

प्रशासनमा व्यापक हेरफेरको तयारी


दृष्टि संवाददाता


काठमाडौं । नयाँ सरकारले निजामती प्रशासनमा व्यापक हेरफेरको तयारी थालेको छ । केही दिनपछि नै सबै जसो मन्त्रालयका सचिव फेरिने सम्भावना छ । अर्थ तथा गृह मन्त्रालयको सचिवका लागि लबिङ सुरु भइसकेको छ । तर, रमाइलो के भने अहिलेका करिब ६० जना सचिवमध्ये ४÷५ जना मात्र कांग्रेस निकट देखिएका छन् ।

गृह मन्त्रालयका सचिव महेश्वर न्यौपानेलाई हटाउने तयारी भइरहेको छ । गृहमा सचिव अर्जुन पोखरेलको सम्भावना प्रबल देखिएको मन्त्रालय स्रोत बताउँछ । गृहमन्त्री बालकृष्ण खाँणले गृहको टिम नै हेरफेर गर्न लागेका छन् । सहसचिव हरि प्रसाद मैनाली पनि केही दिनमै सचिवमा बढुवा हुनेछन् । गृहमा लामो अनुभव भएको र कांग्रेस नेताहरुसँगको सम्बन्धका कारण उनलाई पनि गृहका दाबेदारका रुपमा हेरिएको छ ।

ओली सरकारले पेलेका केही सचिवहरुले देउवा सरकारमा अवसर पाउने सम्भावना छ । रामकृष्ण सुवेदी त्यसमध्ये एक हुन् । सचिवमा बढुवा भएको तीन वर्षसम्म मन्त्रालयको त कुरै छाडौं उनलाई प्रदेशमा सिमित गरिएको थियो । हालै उपराष्ट्रपति कार्यालयमा सरुवा भएका उनलाई पनि यो सरकारले महत्वपूर्ण जिम्मेवारी दिने सम्भावना छ । माओवादी मन्त्रीले सम्हालेको मन्त्रालयमा उनको सरुवा हुने स्रोत बताउँछ ।

अर्थ मन्त्रालयको सचिवमा मधु मरासिनीको सम्भावना उच्च छ । हाल उनी महालेखा नियन्त्रकका रुपमा कार्यरत छन् । कांग्रेस निकट सचिवका रुपमा चिनिएका केवल प्रसाद भण्डारीको पनि सकेसम्म अर्थमा नत्र अर्काे महत्वपूर्ण मन्त्रालयमा जाने सम्भावना छ । सचिव भएयता उनले पनि मन्त्रालय पाएका छैनन् । हालै सचिव भएका कृष्णहरी पुष्कर कर्ण पनि कांग्रेस निकट सचिव हुन् । यामकुमारी खतिवडा, देवेन्द्र कार्की लगायत सचिव पनि कांग्रेस नेतृत्वमा सरकार बनेपछि उत्साहित बनेका छन् ।

प्रतिक्रिया दिनुहोस्