Logo
Logo

कांग्रेसका १० नेताको वक्तव्य : जथाभावी क्रियाशील सदस्यता नदिऔँ


दृष्टि संवाददाता


काठमाडाैं । नेपाली कांग्रेसका संस्थापन इतर समूहका नेताले पार्टी समायोजनका नाममा जथाभावी क्रियाशील सदस्यता वितरण नगर्न नेतृत्वलाई आग्रह गरेको छ ।

कांग्रेस १० केन्द्रीय सदस्यले संयुक्त वक्तव्य जारी गर्दै जथाभावी क्रियाशील सदस्यता वितरण गर्दा पार्टीको मर्ममाथि प्रहार भइरहेकाले सदस्यता वितरणमा ध्यान दिन नेतृत्वलाई सुझाएको हो ।

कांग्रेस केन्द्रीय सदस्यहरु डा. चन्द्र भण्डारी, धनराज गरुङ, कमला पन्त, रत्ना शेरचन, गगन थापा, बद्री पाण्डे, गुरुराज घिमिरे, सरिता प्रसाईं, रामकृष्ण यादव र किरण यादवले संयुक्त विज्ञप्ति जारी गरी विधि र प्रक्रिया नाघेर जथाभावी वितरण गरिएका क्रियाशील सदस्यताले कांग्रेसलाई बलियो नबनाउने भन्दै उनीहरुले यसलाई तुरुन्त रोक्न नेतृत्वको ध्यानाकर्षण गराएका छन् ।

‘समायोजनका नाममा पार्टी संरचना कब्जा गर्ने उद्देश्यले निर्धारित प्रक्रिया बाहिरबाट वितरण गरिएका क्रियाशील सदस्यताले पार्टीको मर्ममाथि नै प्रहार गरेको छ,’ १० नेताले भनेका छन्, ‘यसले आफ्नो सर्वस्व सुम्पेका साथीहरुको आत्मसम्मानमा प्रहार गरेको छ ।’

कांग्रेसभित्र पार्टी एकतामार्फत आएका विजय गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिक र राप्रपाबाट आएका सुनीलबहादुर थापालाई दिएको क्रियाशील सदस्यता संख्यामा उनीहरुले प्रश्न उठाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्