Logo
Logo

दृष्टिका १० हेडलाइन्स् : ३ हजारमा काेराेना पुष्टिदेखि शेयरबजारमा गिरावटसम्म


दृष्टि संवाददाता


हेडलाइन्स् :

१. २४ घण्टामा पीसीआर र एन्टिजेन विधिबाट गरिएको १३ हजार १३५ परीक्षणमा ३ हजार १०८ जनामा कोरोना संक्रमण पुष्टि,थप १ हजार ५९५ जना संक्रमणमुक्त, हालसम्म निको हुनेको संख्या ६ लाख ३४ हजार ९ सय २७ पुग्यो, कोरोना संक्रमणबाट थप २५ जनाको मृत्यु, हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ६ सय ७ पुग्यो, काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ७१९ जना संक्रमित थपिए ।

२. प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका नेकपा एमालेका २२ सांसदले प्रतिशोधको राजनीति नगर्न पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई आग्रह, पार्टीलाई एक बनाउन चाहने हो भने अध्यक्ष पदबाट राजीनामा दिन सुझाव, स्पष्टीकरण पत्र आए राजनीतिक रुपमा प्रतिवाद गर्ने र आवश्यक परे कानूनी लडाइँमा जाने चेतावनी ।

३. नेपाली कांग्रेसका संस्थापन इतर समूहका नेताहरुद्वारा पार्टी समायोजनका नाममा जथाभावी क्रियाशील सदस्यता नदिन आग्रह, संयुक्त विज्ञप्ति जारी गरी जथाभावी क्रियाशील सदस्यता वितरण गर्दा पार्टीको मर्ममाथि प्रहार भइरहेको दावी, समायोजनका नाममा पार्टी कब्जा गर्ने षड्यन्त्र रचिएको आरोप, पार्टीमा नयाँ सदस्यहरुको आगमन हुनु आवश्यक भएपनि कांग्रेसका पुराना कार्यकर्तालाई विस्थापित गर्नेगरी समायोजनका नाममा विधि विपरीत बाँडिएका सदस्यताले पार्टीको मर्ममाथि प्रहार हुने वक्तव्यमा उल्लेख ।

४. जनता समाजवादी पार्टी नेपाल (उपेन्द्र यादव पक्ष) को संसदीय दलको बैठकले पार्टीको संसदीय दलको विधान पारित, मंगलवार बसेको पार्टीको बैठकले संसदीय दलको विधान सुझावसहित पास गरेर पार्टीमा पठाउने निर्णय, पार्टीका सांसद रामबाबु यादवले संसदीय दलको विधान पार्टीबाट अनुमोदन भएर आएपछि यस अनुसार नै संसदीय दलका पदाधीकारी चयन गरिने, केन्द्रीय कार्यकारिणी समितिको बहुमत र सांसदको पनि बहुमत आफूसँगै रहेको यादवको तर्क ।

५. नेकपा एमालको केन्द्रीय कमिटीको बैठक जारी, बैठकमा छलफलका लागि नौ एजेण्डा प्रस्तुत, बैठकमा अध्यक्ष केपी शर्मा ओलीद्वारा पार्टी एकता जोगाउने दशबुँदे सहमति, संसद पुनर्स्थापना गर्ने अदालतको फैसला, एमाले सरकारले गरेको काम, पार्टीको भावी कार्ययोजना, शुद्धीकरण र सुदृढीकरण लगायत एजेण्डा प्रस्तुत, २४ घण्टा नपुगेको भन्दै माधव नेपालसहितका २२ सांसदमाथिको कारबाहीबारे निर्णय बैठकमा नभएको नेताहरूद्वारा जानकारी ।

६. कालीगण्डकी–तिनाउ डाइभर्सन परियोजना सम्वन्धी मुद्दामा सर्वोच्चका दुई न्यायाधीसको राय बाझियो, न्यायाधीश हरिप्रसाद फुँयालद्वारा आयोजनाको पक्षमा र न्यायाधीश प्रकाशमान सिंह राउतद्वारा विपक्षमा मत जाहेर, आयोजना सञ्चालन गर्दा हजारौं मानिसहरुको आस्थामा चोट पुग्ने तथा संवैधानिक एवं कानूनी व्यवस्था विपरित हुने न्यायाधीश राउतको जिकिर, आयोजनाका प्रारम्भिक कामहरु नै रोक्ने गरी अन्तरिम आदेश जारी गर्नु नपर्ने न्यायाधीश फुयाालको ठहर, राय बाँझिएपछि मुद्धा पूर्ण इजलासमा जाने ।

७. नेपाल वायुसेवा निगमलाई बेच्न खोजेको भन्दै महाप्रबन्धकको राजीनामा माग्दै निगमका कर्मचारी १९ दिनदेखि आन्दोलित, राजीनामा नदिएसम्म कार्यालय प्रवेशमा रोक, आर्थिक वर्षको बजेट र योजना कार्यान्वयन समेत प्रभावित, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिवले समेत बेवास्ता गरेको कर्मचारी यूनियनको गुनासो, बुधबारदेखि मुख्यालय भित्रका सम्पूर्ण कार्यालय बन्द गर्ने चेतावनी ।

८. पाँच दिनमा १४० अंकको वृद्धिपछि नेप्सेमा ९ अंकको करेक्सन, म्युचुअल फण्डमा झुम्मिए लगानीकर्ता, एफएनसीसीआईले भेट्यो ऊर्जामन्त्री, ट्रंक तथा डेडिकेडेट लाइन महशुल विवाद समाधान गर्न माग, नेशनल लाइफको गत बर्ष प्रथम बीमा शुल्क चार अर्ब नाघ्यो, कुल बीमा शुल्क १२ अर्ब रुपैयाँमाथि, करदाताको फाइल हेरफेर गर्दै राजस्व विभाग, सुन, इन्धन र सवारी कारोबार अब साना कर कार्यालयले हेर्ने ।

९. नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेले इंग्ल्यान्डमा आयोजना हुने द हन्ड्रेड क्रिकेट प्रतियोगिता गुमाउने, सन्दीपको स्थानमा दक्षिण अफ्रिकी बलर ताब्रेज शाम्सीले इन्भिन्सिबलबाट खेल्ने, असोज ३ गतेका लागि तय ’ए’ डिभिजन लिग रोक्न माग गर्दै चार क्लबले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई ज्ञापन पत्र बुझाए, कोरोना महामारीमा प्रतियोगिता नगर्न सुझाव, पालकी उपकप्तान सिता राना मगरको आईसीसी टी–ट्वान्टी ब्याटिङ वरीयतामा सुधार ।

१०.र, इराकमा बम विस्फोट हुँदा कम्तीमा २८ जनाको मृत्यु, भारतमा थप २९ हजार कोरोना संक्रमित, ३ सय ७२ संक्रमितको मृत्यु, भारतमा कोरोना कारण अतिरिक्त मृत्यु हुनेको संख्या ४० लाखबढी, चिनियाँ जहाजले फोहोर फालेको विषयमा फिलिपिन्सले अनुसन्धान गर्ने, राष्ट्रपतिले नमाज पढिरहेकै समयमा गरियो अफगानिस्तानको राष्ट्रपति कार्यालयमा आक्रमण, अमेरिकाको ओरेगन राज्यस्थित जंगलमा भीषण आगलागी ।

प्रतिक्रिया दिनुहोस्