Logo
Logo

‘ओलीले स्पष्टीकरण सोध्नुको कुनै अर्थ छैन’


दृष्टि संवाददाता


काठमाडौं । नेकपा एमाले माधवकुमार नेपाल पक्षले अध्यक्ष केपी शर्मा ओलीले स्पष्टीकरण सोध्नुको कुनै अर्थ नभएको बताएको छ । काठमाडौंको बुद्धनगरमा बसेको बैठकबारे जानकारी दिँदै नेता रघुजी पन्तले अदालतको फैसलामा सांसदको विवेक प्रयोग गर्न पाउने भनेकाले स्पष्टीकरणको अर्थ नभएको बताए ।

बैठकपछि पन्तले एकता वार्ता चलिरहेको र १० बुँदे प्रस्ताव तयार पारेको बेलामा स्पष्टीकरण सोध्नले एकतामा बाँजो हालेको पनि बताए । उनले भने, ‘स्पष्टीकरण सोध्ने कामले एकतामा भाँजो हाल्छ । यसको कुनै अर्थ छैन ।’

सर्वोच्च अदालतको फैसला अनुरुप आफ्नो विवेक प्रयोग गरेर विश्वासको मत दिने सांसद्हरुलाई आतंकित पार्ने गतिविधि पनि तत्काल राेकिनुपर्ने माधव पक्षले जनाँएकाे छ ।

नेपाल पक्षका स्थायी कमिटी सदस्यहरूको बैठकले पारित गरेको प्रस्तावमा भनिएको छ- ‘वरिष्ठ नेता माधवकुमार नेपालविरुद्ध नाराजुलुस गर्ने एवं पुत्ला जलाउने साथै संविधान र सर्वोच्च अदालतको फैसला अनुरुप आफ्नो विवेक प्रयोग गरेर विश्वासको मत दिने सांसद्हरुलाई आतंकित पार्ने र उनीहरु विरुद्ध उत्तेजक गतिविधि र नाराबाजी गर्ने काम तत्काल रोकिनुपर्छ ।’

नेपाल पक्ष अनुपस्थित रहेको एमालेको केन्द्रीय कमिटी बैठकले नेपाल पक्षका २२ सांसदलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । सोहीअनुसार अध्यक्ष ओलीले पठाएको पत्र सांसदहरूले बुधबार प्राप्त गरेका छ्न् ।

आइतबार प्रधानमन्त्री शेरबहादुर देउवालाई एमालेका २२ सांसदले विश्वासको मत दिएका थिए।

प्रतिक्रिया दिनुहोस्