Logo
Logo

दुई अध्यक्षको प्रस्ताव एकताको पक्षमा छैन : नेपाल


दृष्टि संवाददाता


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले पार्टीभित्र दुई अध्यक्षको प्रस्ताव एमाले एकताको पक्षमा नरहेको बताएका छन् ।

दृष्टिन्यूजसँग कुरा गर्दै वरिष्ठ नेता नेपालले अल्मल्याउँन र भ्रम सृजना गर्न पार्टी अध्यक्ष केपी शर्मा ओलीले दुई अध्यक्षको प्रस्ताव गरेको बताए । केन्द्रीय कमिटीको बैठकमा अध्यक्ष ओलीले वरिष्ठ नेता नेपाललाई दोस्रो अध्यक्ष बनाउँन तयार रहेको बताएका थिए । पार्टीको विधान विपरित दोस्रो अध्यक्ष प्रस्ताव गरेर अध्यक्ष ओलीले एकता हुन नदिने खेल खेल्न खोजेको नेता नेपालले आरोप लगाए ।

‘हिजोको दिनमा एमाले र माओवादी केन्द्रबीच पार्टी एकता हुँदा दुई अध्यक्षको व्यवस्था गरिएको थियो । अध्यक्ष ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच दुई अध्यक्ष रहने सहमति गरिएको थियो । दुई पार्टी एक हुँदा व्यवस्थापन र पार्टी एकता बलियो बनाउन त्यसो गरिएको हुनसक्छ । तर, अहिले त्यो आवश्यक छैन । यो प्रस्ताव एमाले एकताको भावना विपरित छ’, नेता नेपालले भने ।

नेता नेपालले पार्टी एक हुने एउटा मात्र आधार २ जेठ २०७५ रहेको भन्दै पार्टीको विधान विपरित अर्को अध्यक्ष राख्ने प्रस्ताव गर्नु गलत रहेको बताए । एमालेलाई २ जेठ २०७५ कै बिधान, कमिटी अनुसार अगाडि बढाएर पार्टी एकताबद्ध गर्न सकिने उनको धारणा रहेको छ ।

अहिले पार्टीको विधान अधिवेशन गर्नका लागि प्रतिकुल समय नभएको र पार्टी एकताबद्ध बनाउँनुपर्ने आवश्यक्ता रहेकाले विधानअनुसार नै अगाडि बढनुपर्ने उनको भनाइ रहेको छ ।

यसैबीच आज आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ नेता नेपालले पार्टी अध्यक्ष ओली सुध्रिए पार्टी एकता हुन सक्ने बताएका छन् । पार्टी एकताका लागि अध्यक्ष ओलीको कार्यशैली सुध्रिनुपर्ने बताएका नेता नेपालले कसैको अपमान सहेर बस्न नसकिने धारणा राखे ।

नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४३ औँ स्मृति दिवसको अवसरमा आज ‘पुष्पलाल स्मृति पार्क’ चम्पादेवीमा भएको कार्यक्रममा बोल्दै नेता नेपालले कम्युनिष्ट आन्दोलनलाई अगाडि बढाउँदै एमालेलाई जनताको पार्टी बनाउनुपर्ने बताए ।

‘नेतृत्व सुध्रिन चाहन्छ भने ठिक छ । आफूले बनाएको घर त्यसै कसैले छाड्न चाहँदैन तर अपमान सहेर, गलत कुरा सहेर कोही बस्दैन । अब एमालेलाई जनताको पार्टी बनाउँन आवश्यक छ’ नेता नेपालले भने ।

प्रतिक्रिया दिनुहोस्