Logo
Logo
काँग्रेसविरुद्ध ओलीको १ घण्टा १० मिनेट भाषण :

काँग्रेसकै नेतृत्वमा राजतन्त्र फर्काउने प्रयास हुनसक्छ !


दृष्टि संवाददाता


काठमाडौं । सत्ताबाट बाहिरिएपछि पहिलोपटक लामो भाषण गरेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली काँग्रेस र राजतन्त्रको सम्बन्धबारे लामै ब्याख्या गरे ।

नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४३औं स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा १ घण्टा १० मिनेट भाषण गरेका ओलीले विगतमा राजतन्त्र फर्काउने काम काँग्रेसले नै गरेको भन्दै काँग्रेसकै नेतृत्वमा राजतन्त्र फर्काउन प्रयास हुनसक्नेतर्फ इङ्गित गरेका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले भने– ‘देश छोडेर दिल्ली पुगिसकेका राजालाई देशमा ल्याउँने र दिल्लीमै सम्झौता गरेर गृहमन्त्री पाउँने लोभमा राजतन्त्र पार्काउँने काम काँग्रेसले गर्यो । राजतन्त्र मान्ने वा नमान्ने सन्दर्भमा काँग्रेसमा अझै विवाद छ । यो आश्चर्यजनक कुरा हो ।’

कांग्रेस र राजतन्त्रको सम्बन्धबारे ओली त्यतिमा रोकिँदैन । संवैधानिक राजतन्त्रलाई काँग्रेसले हिजो–अस्तिसम्म आफ्नो आदर्श मान्दै आएको भन्दै काँग्रेसप्रति खनिए । ओलीले भने– ‘लोकतन्त्र तथ्यहीन सामन्तवादसँग सम्झौता गर्ने सिद्धान्त होइन । लोकतन्त्र जनताको तन्त्र, जनता सार्वभौम रहेको तन्त्र हो’ ओलीले भने ‘कुनै परिवारमा जन्मेको आधारमा शासक छानिनु नपर्ने हो । तर, कांग्रेसले त्यो गर्यो । कांग्रेसले संवैधानिक राजतन्त्रलाई हिजो–अस्तिसम्म आफ्नो आदर्श बनायो । आज पनि त्यहाँ राजतन्त्रबारे विवाद चलिरहेकै छ ।’

सम्बोधनको पूरा समय काँग्रेसरिुद्ध खर्चेका ओलीले काँग्रेसलाई लोकतन्त्र विरोधी शक्तिसँग सहकार्य गर्ने शक्तिको रुपमा समेत व्याख्या गरे । उनले भने– ‘मित्र शक्तिहरूलाई एक्ल्याउन खोज्ने, अनेकथरी षड्यन्त्रकारी नन्दी भिरिङ्गीसँग सहकार्य गर्ने कांग्रेसको नीति २००७ सालदेखिकै हो । आजको नीति पनि त्यही हो । लोकतन्त्र ल्याउन बलिदान गरेर आएको शक्तिसँग सहकार्य गर्न तयार नहुने, लोकतन्त्रविरोधी शक्तिसँग सहकार्य गर्ने काँग्रेसको नीति हो ।’

एमाले एकताबारे
पुष्पलालको चाहना तथा उदेश्य पुरा गर्नका लागि एमालेलाई एकताबद्ध बनाउन आह्वान गर्दै ओलीले असन्तुष्ट नेताहरुलाई पार्टीमा फर्किन आग्रह गरे । असन्तुष्ट नेताहरुलाई एकजुट भएर बढनुको बिकल्प नभएको बताउँदै उनले कम्युनिष्ट पार्टीको उदेश्य पुरा गर्नका लागि टुटफुटको राजनीति छोडन भन्दै आग्रह गरेका हुन्र ।

अहिले पनि एमाले प्रमुख दल नै रहेकाले संसदमा समेत ठुलो दल नै रहेको उनले बताए । प्रतिनिधिसभा, राष्ट्रियसभादेखी अन्य ठाउँमा समेत एमाले प्रमुख दलकै रुपमा रहेकाले एमालेको शक्ति अझै बढाउँन एकजुट हुनुको विकल्प नरहेको अध्यक्ष ओलीको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्