Logo
Logo

अष्टलक्ष्मीको प्रश्न- सडकमा बाँदर पछार्ने काम किन गरियो ?


दृष्टि संवाददाता


काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले कम्युनिस्ट पार्टीभित्र हुर्किएको संस्कारप्रति चिन्ता व्यक्त गरेकी छन् ।

४३ औं पुष्पलाल स्मृति दिवसको उपलक्ष्यमा ललितपुरमा आयोजित नेपाली कम्युनिष्ट आन्दोलनको वर्तमान संकट र आगामी बाटो विषयक प्रवचन कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेतृत्वको गलत सोचाइ, व्यवहार र संस्कारको उपज भएको बताइन् ।

पार्टीको नेतृत्व र त्यसको निर्देशनबाट युवाहरु विचार, अध्ययन र सिर्जनात्म भएपनि पछिल्लो समय उनीहरुमा गलत संस्कार भएको उनको भनाइ थियो ।

सर्वोच्च अदालतले संसद पुनर्स्थापना गरी शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिएपछि एमाले अध्यक्ष केपी शर्मा ओली निकट युवासंघले बाँदरको रुपमा प्रर्दशन गरेको थियो ।

युवाले पार्टी र सिंगो राष्ट्रको नेतृत्व लिनका लागि संस्कारको विकास गर्नु जरुरी रहेको बताइन् । उनले भनिन्, ‘कस्तो संस्कार हामीले हुर्कायौं ? एउटा कम्युनिष्ट पार्टीको नेतृत्व र त्यसको निर्देशनबाट ती युवाहरु विचारका थिए, केही गर्न चाहन्थे, अध्ययनशील थिए, सिर्जनात्मक थिए। तर बाँदर सडकमा पछार्ने काम किन गरियो ? खण्डन गर्नुपर्छ पर्छ भन्ने लाग्छ ।’

कम्युनिस्ट आन्दोलनले सगरमाथको उचाइ चुमिसकेको भएपनि आज गल्र्यामगुर्लुम माथिबाट तल झरेको उनले बताइन् । उनले भनिन्, ‘सगरमाथाको चुचुरो पुगेको कम्युनिष्ट आन्दोलन आज गर्लाम्गुर्लुम एकैचोटी माथिबाट तल झर्‍यो । कम्युनिष्ट आन्दोलन धरासायी किन हुन पुग्यो ? यसको गम्भीर ढंगले समीक्षा हुनु आवश्यक छ ।’

उनले कम्युनिस्ट आन्दोलनले जनताको माया पाएर पनि आज धराशयी बन्न पुगेको बताइन । कम्युनिस्ट आन्दोलनभित्र बेलाबखत देखापर्ने दक्षिणपन्थी, अवसरवादी, व्यक्तिवादी, गुटवादी, सर्वसत्तावादी सोचहरुले कम्युनिस्ट पार्टी ढल्ने उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्