Logo
Logo

ऋण लिएरै भएपनि सबैलाई खोप दिन्छौँ : प्रधानमन्त्री


दृष्टि संवाददाता


काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार गठनका सन्दर्भमा गरेका वाचा पूरा गरेरै छाड्ने प्रतिबद्धता गरेका छन् ।

प्रतिनिधिसभामा दलका नेताबाट बधाई तथा शुभकामना दिने क्रममा उठाइएका जिज्ञासाका जवाफ दिँदै प्रधानमन्त्री देउवाले जति महँगो भए पनि ऋण वा सापट लिएर सबैलाई खोप उपलब्ध गराइने प्रतिबद्धता जनाए । उनले समृद्धिको राष्ट्रिय आकांक्षा पूरा गर्ने विश्वास दिलाउँदै सबै राजनीतिक दलको साथ र सहयोगबाट मुलुकको हितमा देखिने गरी काम गरिने स्पष्ट पारे ।

प्रधानमन्त्री देउवाले भने, ‘राष्ट्रपतिको आह्वानअनुसार हामीले सरकार गठनका लागि बहुमत सदस्यको हस्ताक्षरसहित निवेदन दिएका थियौँ, सोहीअनुसार राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गरेको भए त्यसबेला नै संसद्मा विश्वासको मत लिन सकिन्थ्यो तर राष्ट्रपतिबाट त्यो भएन ।’

संविधानसभाका तत्कालीन अध्यक्षले अदालतको फैसलाबाट दलको चुनाव चिह्न र टिकटबाट उम्मेदवार भई जितेका सांसदलाई ह्विप नलाग्ने अवस्था हुन्छ र भनी राख्नुभएको जिज्ञासामा प्रधानमन्त्री देउवाले प्रतिप्रश्न गरे ।

उनले भने, ‘विश्वासको मत लिने सन्दर्भमा उपस्थितिका लागि सामान्य अनुरोध मात्र गरिएको हो, ह्विप लगाएको होइन ।’ उनले ठूलो संख्याका सांसदको साथ पाएर प्रधानमन्त्री बनेकोमा उनीहरुलाई धन्यवाद दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्