काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले संविधान सभा अध्यक्ष तथा एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङलाई ‘संविधानको धारा ७६ को (५) किन लेखिएको ?’ भन्दै प्रश्न गरेका छन् । शुक्रबार प्रतिनिध सभा बैठकलाई सम्बोधन गर्दै नेम्वाङले गरेको टिप्पणीप्रति संकेत गर्दै प्रधानमन्त्री देउवाले नेम्वाङलाई प्रश्न गरेका हुन् ।

सर्वोच्च अदालले गत असार २५ गते संसद पुनर्स्थापना गर्दै कांग्रेसका सभापति शेरबहादुर देउवालाई २९ गते साँझ ५ बजेसम्म प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएको थियो । सर्वोच्चको उक्त आदेपछि नेम्वाङले देउवा संविधान र जनमतभन्दा पनि अदालतको परमादेशको प्रधानमन्त्री भएको टिप्पणी पनि गरेका थिए ।
शुक्रबार प्रतिनिधि सभा बैठकमा बोल्दै प्रधानमन्त्री देउवाले नेम्वाङलाई संविधानको धारा ७६(५) किन लेखिएको भनेर प्रश्न गरे । उनले भने, ‘यो संविधानमा धारा ७६ को उपधारा ५ किन लेखेकिएको हो ? तपाईं नै हो संविधान सभाको अध्यक्ष र सभामुख पनि । किन गरियो यो व्यवस्था ?’
शुक्रबार पनि नेता नेम्वाङले संविधानको धारा ७६ (५) अनुसारको सरकार गठनका सन्दर्भमा सर्वाच्चले गरेको व्याख्याले निर्दलीय व्यवस्था ल्याउने र दलीय प्रतिस्पर्धा समाप्त हुने बताएका थिए ।











