Logo
Logo

समुद्र जस्तै झन–झन गहिरिदै एमाले विवाद


सन्तोष साह


काठमाडौं । एकपछि अर्को गर्दै राजनीतिक घटनाक्रम बढ्दैछ । सँगै, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल समूहबीचको आरोप प्रत्यारोप पनि बढेको छ । तर, एमाले विवादले निकास पाउन सकेको छैन ।

‘पार्टी एकताका लागि पहल हुँदैछ’, भनिएता पनि सकरात्मक परिणाम आउन सकेको छैन । अध्यक्ष ओलीले पछाडि फर्के झै गरे पनि निक्कै अबेर भइसकेको छ । सत्ताबाट बाहिरिएपछि ओलीले गरेका निर्णयहरु फगत सावित भएका छन् । नेता नेपाल ‘सरकार सञ्चान सहजिकरण’ समिति बनाएर अघि बढेका छन् । यसरी हेर्दा आधा एमाले सत्ताधारी, आधा प्रतिपक्षी जस्तो देखिन्छ ।

अहिलेसम्मको गतिविधि हेर्दा ‘अब एमाले एक हुन सक्दैन’ भन्ने वातावरण बनेको छ । तर, एमाले अलग हुन पनि सकेको छैन । बालुवाटारबाट बालकोट पुगेपछि बार्दलीबाट ओलीले नेता नेपाललाई ‘लाल गद्धार’ भन्दै पार्टीमा कुनै स्थान नदिने घोषणा गरे ।

आन्तरिक विवाद समाधान गर्दै पार्टी एकता कायम गर्ने भनिएता पनि बालकोटको बार्दलीबाट ओलीले ‘विष वमन’ गरेपछि परिस्थिति झनै बिग्रियो । साउन ३ गते माधव समूहले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दियो । त्यसले परिस्थितिलाई सकारात्मक दिशा दिन सकेन । प्रतिउत्तरमा ओलीले साउन ४ मा केन्द्रीय कमिटी बैठक राखेर नेता नेपाल बाहेक मात्र पार्टी एकता हुने भने । सोही बैठकले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने २२ जना सांसदलाई स्पष्टीकरण सोध्यो ।

एमालेमा कारवाही र फुकुवाको फेहरिस्त लामो छ । कारवाही र फुकुवाको गन्ति नै छैन । ओलीले धेरै पटक कारवाही गरिसके र धेरै पटक फुकुवा पनि । कारवाही गरे पनि कारवाहीको अर्थ नरहने भएपछि प्रधानन्त्रीलाई विश्वासको मत दिने सांसदलाई कारवाही गर्ने ओलीको निर्णय प्रभाविहीन भयो । चार दिनसम्म चलेको केन्द्रीय कमिटी बैठकले विभिन्न निर्णय गरेता पनि कारवाही गर्न सकेन ।

यसबीचमा ओलीले केन्द्रीय कमिटीको १०औं बैठक बसाए । पार्टीलाई २०७५ जेठ २ मा फर्काउन १०औं बैठक राखिएको भनिए पनि त्यसको अर्थ रहेन । एकपछि अर्को गर्दै माधव समूहप्रति ओलीले प्रहार गरिरहेका कारण माधव समूह त्यो बैठकमा पनि गएन । बैठकपछि प्रतिकृया दिँदै सचिव एवं प्रवक्ता प्रदीप ज्ञवालीले पार्टी एकताको प्रयासहरू जारी राख्ने निर्णय भएको मात्र सुनाए । बरु, त्यो बैठकले ओलीलाई नै पार्टीलाई एकताबद्ध गर्ने जिम्मेवारी दियो । उक्त बैठकले ‘बाटो बिराएकाहरुलाई कमजोरी सच्याएर आउनका लागि अपिल गर्ने’ निर्णय त गर्यो । तर, परिस्थितिले त्यो दिशा समात्न सकेन । किनकी, कसले बाटो बिराएको हो भन्नेमा माधव समूह स्पष्ट छ ।

त्यसपछि ओलीले नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४३औँ स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममार्फत माधम समूहका सबैलाई ‘आममाफी’ घोषणा गरे । तुलसीलाल स्मृति प्रतिष्ठानको कार्यालय च्यासलबाट ओलीले ‘आममाफी’को घोषणा गर्दैगर्दा ५ सय मिटर दूरीमा रहेको निवासबाट माधवकुमार नेपाल ओलीको कुरा सुनेर मज्जाले हाँस्दै थिए । ‘असंवैधानिक रूपमा दुई–दुई पटक संसद विघटन गर्ने ओलीलाई कि मलाई आममाफी दिनुपर्ने ?’ नेता नेपालको प्रश्न थियो ।

ओलीले ‘आममाफी’ घोषणा गरेकै ठाउँबाट नेता नेपालले शुक्रबार कटाक्ष गरे– ‘महाराजधिराज खुसी हुनु भएछ, हामीलाई आममाफी मिलेछ !’

यसरी एमालेमा ओली–माधव समूहबीच आरोप–प्रत्यारोपको क्रम चलिरहेको छ । तर, एमालेले ठोस निकास पाउन सकेको छैन ।

ओली पक्षको बेतुक तर्क

ओली निकट नेता कर्णबहादुर थापा एकपटकलाई आममाफी दिएर भए पनि पार्टी एकता जोगाउनुपर्छ भन्ने निष्कर्षमा अध्यक्ष ओली पुगेको बताउँछन् । आ–आफ्नो कमजोरी स्वीकार गरेर पार्टीमा फर्कन चाहनेका लागि नै अध्यक्ष ओलीले कारवाहीको प्रक्रिया अगाडि नबढाएको उनको भनाइ छ । उनी भन्छन्– ‘यदी आत्मलोचना गर्दै, आफ्नो कमीकमजोरी स्वीकार गरेर पार्टीमा कोही फर्किन चाहन्छ भने आममाफी दिएर भए पनि पार्टी एकता जोगाउँनुपर्छ ।’

ओलीले घोषणा गरेको ‘आममाफी’लाई माधव समूहले भने बेतुक भनेको छ । बरु, ओलीले आफ्ना सबै गल्ती स्वीकार गरे पार्टीले ‘आममाफी’ दिने उनीहरुको भनाइ छ ।

ओलीले असंवैधानिक काम गरेका छन् । दुई–दुई पटक प्रतिनिधिसभा विघटन गर्ने काम अपराध हो । त्यसैले, ओलीले चाहिँ ‘आममाफी’ माग्नुपर्छ भन्ने माधव समूहको तर्क हो । नेपाल निकट नेतृ अष्टलक्ष्मी शाक्य संविधान विपरित कार्य गर्ने अध्यक्ष ओलीले ‘आममाफी’ माग्नुपर्ने बताउँछिन् । उनी भन्छिन्– ‘जसले संविधान र लोकतन्त्रको रक्षा गर्छ उसलाई के को आममाफी ? असंवैधानिक र अलोकतान्त्रिक कार्य गर्नेलाई ‘आममाफी’ दिने कि नदिने भन्ने पार्टीले निर्णय गर्नसक्छ । त्यो भन्दा पहिले माफी त माग्नुपर्यो ।’

१० बुँदेमै आशा

परिस्थिति फरक बन्दै गए पनि कतिपय नेता १० बुँदे प्रस्ताव कार्यान्वयन भए पार्टी एकता कायम हुने आशा राख्छन् । नेपाल समूहका अर्का नेता युवराज ज्ञवाली पार्टी एकताका लागि १० बुँदे सहमतिमा आवश्यक परिमार्जन गरेर अगाडि बढ्नुपर्ने मत राख्छन् । अध्यक्ष ओली र वरिष्ठ नेता नेपालले १० बुँदे प्रस्तावमा छलफल गरे एकता असम्भव नरहेको उनको धारणा छ ।

पार्टीलाई एक बनाउने सबै सम्भावनाहरु सकिँदै गएपछि ओली निरन्तरपछि फर्कने क्रममा छन् । सत्तामा रहँदासम्म पार्टी एकता कायम गर्न गठित कार्यदललाई नदेखे झै गर्ने ओली अहिले भने १० बुँदेकै वरिपरि घुम्दैछन् । माधव समूहका नेता भन्दैछन्– ‘बेला घर्कीसक्यो, परिस्थिति निक्कै अगाडि बढ्यो । अब एकता नै गर्ने हो भने फरक शिराबाट अगाडि बढ्नुपर्छ ।’

यसरी एकपछि अर्को गर्दै एमालेको विवाद समुद्र जस्तै गहिरो हुँदै गएको छ । एकताका लागि सतह भेट्नै मुस्किल हुँदै गएको छ । यस्तो अवस्थामा एमाले एक हुने उपाय भनेको ओलीद्वारा हार स्वीकार हो । ओलीले ‘विगतमा मैले गल्ती गरेकै हुँ । जसका लागि क्षमा चाहान्छु । आगामी दिनमा यस्तो गर्ने छैन’ भने मात्रै एमाले एक हुनसक्छ ।

प्रतिक्रिया दिनुहोस्