Logo
Logo

बिशेष अदालतमा बक्रदृष्टि


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । बिशेष अदालतमा मुद्दाको चाप बढ्दो छ । हरेक साता ४÷५ वटा मुद्दा दायर हुने गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा नवीन घिमिरेको नियुक्तिसँगै भ्रष्टाचारको अनुसन्धान र अभियोजनले तिव्रता पाएको छ । सोही कारण बिशेष अदालतमा मुद्दाको चाप बढेको हो ।

मुद्दाको चापअनुसार बिशेषमा तीन वटा इजलाश चाहिने अवस्था छ । तर, दुई महिनायता बिशेषमा एक वटा मात्र इजलाश सञ्चालन हुँदै आएको छ । जसकारण नयाँ दर्ता भएका मुद्दाको बहस र थुनछेक आदेशमै सो इजलाश व्यस्त हुने गरेको छ ।

बिशेष अदालतमा कार्यबोझ बढेको प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणालाई पनि थाहा छ । तर, दुई महिनादेखि बिशेष अदालत तीन न्यायाधीशको भरमा चलेको छ । बिशेषबाट तीन न्यायाधीशलाई अन्यत्र सरुवा गरिएकोमा नयाँ न्यायाधीश पठाइएको छैन ।

बिशेषमा ६ न्यायाधीशको दरबन्दी छ । न्याय परिषद्ले करिब दुईमहिनाअघि विशेष अदालतका तीन न्यायाधीशलाई सरुवा गरेको थियो । नयाँ न्यायाधीध नपठाउँदा काम गर्न गाह्रो भएको बिशेषका कर्मचारीले बताएका छन् ।

न्याय परिषद्ले बिशेषका न्यायाधीशहरु नारायणप्रसाद पोखरेल, रत्नबहादुर बागचन्द र चण्डीराज ढकाललाई एक्कासी सरुवा गरेको थियो । हाल अध्यक्ष बाबुराम रेग्मीसहित प्रमोदकुमार श्रेष्ठ बैद्य र द्वारिकामान जोशी मात्र बिशेषमा छन् । विगतमा हरेक दुई दुई वटा इजलाश बस्नेमा हाल न्यायाधीश अभावमा एक मात्र इजलाश बस्ने गरेको छ । जसकारण थुनछेक बहस र आदेशमै भ्याइनभ्याई हुने गरेको छ ।

‘मुद्दाको चापअनुसार यहाँ तीन वटा इजलाशको आवश्यकता देखिन्छ,’ बिशेष अदालतका एक अधिकारी भन्छन्,‘तर एकमात्र इजलाश हुँदा कति समस्या भएको छ भन्ने सहजै अनुमान गर्न सकिन्छ ।’ पर्याप्त न्यायाधीशको अभावमा पुराना मुद्दाको पेशी प्रभावित हुन थालेको छ । उजुरीका आधारमा न्यायपरिषद्ले बिशेषका न्यायाधीशहरुलाई सरुवा गरेको हो ।

लामो समयदेखि बिशेषमा न्यायाधीश नपठाउनुलाई धेरैले अर्थपूर्ण रुपमा लिएका छन् । बिशेषमा न्यायाधीशको पोष्टिङमा सधैं चलखेल हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्