Logo
Logo

सडकमा छोडिएका चौपायामा टल्कने स्टिकर !


हिक्मत बम


धनगढी । छाडा चौपायाले सडक दुर्घटना बढ्दै गएको भन्दै ट्राफिक प्रहरले कैलालीमा दुर्घटना न्यूनीकरण गर्ने प्रयास थालेको छ ।
पछिल्लो समय सुदूरपश्चिम प्रदेशको राजधानी कैलालीमा सडक दुर्घटनाहरु बढ्दै गएको भन्दै जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले दुर्घटना न्यूनीकरण गर्ने प्रयास गरेको हो ।

जिल्लाका मुख्य सडकहरुमा छाडा पशु चौपायाको घाँटीमा टल्कने स्टिकर टाँसेर दुर्घटना न्यूनीकरण गर्ने प्रयास गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख तथा प्रहरी निरीक्षक बीरेन्द्रबहादुर बोहराले बताए ।

छाडा पशु चौपायाबाट हुने दुर्घटना न्यूनीकरणका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालयले जिल्लाको धनगढी-अत्तरिया ६ लेन सडकखण्डमा छाडा चौपायाको घाँटीमा टल्कने स्टिकर (रिफ्लेक्टिब स्टिकर बेल्ट) लगाउन थालिएको प्रहरी निरीक्षक बोहराले जानकारी दिए ।

उनका अनुसार जिल्लामा पछिल्लो समय सडक दुर्घटना ६ लेन सडकखण्ड र पुर्व-पश्चिम राजमार्गमा छोडिएका चौपायाका कारण बढ्दै गएको छ । रातको समयमा छाडा चौपायाको बास स्थान सडक क्षेत्र भएकाले सडक दुर्घटना बढ्दै गएको प्रहरीको अनुमान छ ।

कैलाली यातायात प्रालिको सहयोग र जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीको समन्वयमा समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत छाडा पशु चौपायामा रिफ्लेक्टिब स्टिकर बेल्ट लगाउन थालिएको हो ।

शनिबार जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख तथा प्रहरी निरिक्षक बीरेन्द्रबहादुर बोहरासहितको टोलीले धनगढीका सडकमा छोडिएका चौपायामा रिफ्लेक्टिब स्टिकर बेल्ट लगाएको हो ।

मोहना–अत्तरिया ६ लेन सडकखण्ड तथा बजार क्षेत्रमा छोडिएका छाडा चौपायामा टल्कने स्टिकर लगाइएको छ । अन्य स्थानको तुलनामा मोहना–अत्तरिया ६ लेन सडकखण्ड तथा मुख्य बजार क्षेत्रमा छाडा चौपायाको संख्या धेरै भएको हुँदा सो क्षेत्रमा अभियान शुरु गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्