Logo
Logo

बेलायत घुम्दाको अनुभूति ‘ग्रीनबीचको साँझ’


होमशंकर बास्तोला


होमशंकर बास्तोला

कवि एवम् नियात्राकार छविरमण सिलवालको ‘ग्रीनबीचको साँझ’ नियात्रासङ्ग्रह वेलायत यात्राको यथार्थ वर्णन हो । नियात्रा वास्तवमा कुनै स्थानको भ्रमण गर्दा, यात्रा गर्दा, अवलोकन गर्दा, घुम्दा आफूले भोगेका अनुभव, अनुभूति, घटना आदिको कलात्मक वर्णन हो । यस सङ्ग्रहमा नियन्त्राकार सिलवालले नेपालबाट वेलायत प्रस्थान गर्दादेखि वेलायतबाट आफ्नो देश नफर्कदासम्म देखिएको घटना, अनुभव, अनुभूति र अवलोकनको विवरण फेहरिस्त प्रस्तुत गरेको देखिन्छ ।

हतारको बेलामा बेलायत यात्रा’बाट यात्रा सुरु भएर ‘घर फर्कने दिन’ नियात्रा कृति अन्त्य भएको छ । यस नियात्रा सङ्ग्रहमा घरबाट यात्रा गर्दाको घटनादेखि बेलायत पुगेर त्यहाँ रहँदाका अनुभव, साँस्कृतिक, भौगोलिक अवस्था र भौतिक संरचनाहरु घुम्दाको वर्णन हो । त्यहाँ र यहाँको रहनसहन बुझ्ने र घुम्दा देखिएका कुराहरुको वास्तविक वर्णन नै यस नियात्रासङ्ग्रहको विचार हो । भिषा लागेपछि विदेश जान हतारो हुन्छ । समय तत्कालै सकिन्छ सकिन्छजस्तो लाग्छ र हतारहतार गरेर यात्रा सुरु गर्नुपर्दछ । ‘हतारमा बेलायत यात्रा’ घरबाट यात्रा गर्दादेखिको यात्रा अनुभव हो । भिषा लागेर केही समय विदेश घुमघाम गर्ने विषय बेग्लै भए पनि विदेश जाने अधिकांश नेपालीहरु आर्थिक अभाव टार्न र अध्ययनको लागि बाध्य भएर विदेश छिर्न विवश छन् । विदेश छिर्नु रहर होइन बाध्यता भएको छ । धेरै पैसा खर्च गर्न सक्नेहरु अमेरिका, बेलायत, क्यानाडा वा भनाँै आर्थिक सम्पन्न राष्ट्रहरुमा रोजगारी र अध्ययनको लागि जान्छन् र आवासीय अनुमति प्राप्त गरेर उतै बसोबास गर्दछन् । तर कम आय र सीप भएका अधिकांश युवाहरु खाडी मुलुकमा पसिना बगाउन विवश छन् । यो विदेशिने ठूलो नेपाली संख्या हो । यत्तिका नेपालीलाई विदेश जान बाध्य बनाउने तत्व गैह्र जिम्मेवारी व्युरोक्रेसी र जनउत्तरदायीविहीन राजनीति हो भन्ने कुरा लेखकको उद्घोष र नेपाली जनताको भनाइ हो ।

एक सय रुपैया बोकेर काठमाडौँ छिरेको ठिटो आज बेलायत वा भनौ विदेश घुम्न जान सक्ने हुनु पनि आफ्नै परिश्रम र मेहनतको फल हो भन्दा फरक पर्ने नदेखिएला । नेपालीले विदेशी भूमिमा गएर कति पसिना बगाएका छन् र त्यसको उचित मूल्य पाए वा पाएनन्, त्यो एउटा छुट्टै विषय हो । तर लेखक दुई घण्टाको कतार ट्रान्जिटको समयमा कतार विमानस्थलमा रहँदा ‘मलाई विश्वास भयो कि कतार बनाउने नेपाली पो रहेछन्’ भन्ने नियात्राकारको विश्वासले नेपाली प्रतिको गौरव र मेहनतलाई प्रस्तुत गरिएको छ । हुन पनि साउदी, कतार, मलेसिया वा अन्य खाडी मुलुक बनाउने अधिकांश नेपालीहरु नै हुन् । तर ती नेपाली नागरिकहरुले पसिनाको मूल्य उचितरुपमा पाए वा पाएनन् त्यो पनि एउटा प्रश्नको विषय बनेको छ । नेपाली हातहरुले कतार, साउदी, मलेसिया बनेको छ तर नेपाल कहिले बन्छ ? नेपालीहातहरु नेपाल बनाउन कहिलेदेखि लाग्लान् । विदेशमा गएर जस्तोसुकै काम गर्न उद्दत रहने नेपालीहरु स्वदेशमा जस्तोसुकै काम गर्लान् ? यो पनि सोचनीय विषय हो ।

वर्तमान अवस्थामा भाषा, साहित्यको विकास द्रुत गतिमा भइरहेको छ । पुस्तक प्रकाशन, लेखन, साहित्यिक पत्रिकाहरुको प्रकाशन पनि नियमित जसो हुँदैछ । तर साहित्य, संस्कृति र लेखकलाई नेपालमा हेर्ने दृष्टिकोण सकारात्मक छैन । तर विदेशमा लेखक, कविलाई कति सम्मान रहेछ नियात्राकारले बेलायतको विमानस्थलबाट कागजपत्र चेकिङ गर्दा पाएको सम्मानले छाती ढक्क फुल्छ । अध्यागमन अफिसरले नियात्राकारको स्पोन्सर लेटर हेरेर जुरुक्क उठ्दै भन्छ, ‘तिमी कवि हो’ भनी गरेको सम्मान साँच्चै हाम्रो देशको लागि आश्चर्य जनक विषय हो । अघि कडाकडा बोलीले थर्काउने मान्छे कवि भएको थाहा पाएपछि सम्मान गरेको विषय नियात्राकारको लागि आजसम्मकै सम्मान हो । हुन पनि प्रत्येक लेखकको सम्मान पनि त्यही हो । यस्तो सम्मान हाम्रो देशमा कहिले होला ? लेखक त्यहाँ पुगेपछि भाइ विजय र साहित्यकार कृष्ण बजगाईं पर्खेर स्वागत गरेको र त्यहाँको प्रविधिले त्यहाँको जीवनशैली कसरी परिवर्तन भएको छ भन्ने कुरा पनि यस यात्रा वर्णनमा उल्लेख गरिएको छ ।

बेलायत बसाइको क्रममा रमाइलोका लागि घुमघाम भइरहेको देखिन्छ । घुम्ने क्रममा नियात्राकार त्यहाँको कुनै बसस्टप तर्फ बस चढ्न जाँदा देखिएको अवस्था प्रस्तुत गरिएको छ । नेपालका बसपार्कको सम्झना हुन्छ जहाँ हेर्दै दुर्गन्ध आउने फोहोर, कानै खानेगरी बजाइएका गाडीको आवाज, मानिसहरुको खचाखच भिड, खलासीहरुको तीखो र छुद्र बोली । यत्रतत्र खिचिङमिचिङ सडकको पेटी र छेउछाउमा राखेका सामानहरुले वसस्टेसन कुरुप नै देखिन्छ । तर त्यहाँ कति फरक छ ! गाडी आउँछ यात्रु चढ्छन् गाडी गुडिहाल्छ । सिटभन्दा बढी यात्रु नचढाउने । जताततै सफा सुग्घर, बसहरु लाइन लगाएर राखिएका । कति फरक छ यहाँ र त्यहाँ । त्यो नियात्राकारले भोगेको र देखेको विषय हो । हाम्रो देशमा कहिले होला त व्यवस्थित सहर ?

‘ग्रीनबीचको साँझ’ नियात्रा बेलायत यात्रा वर्णन त हुँदै हो त्यसमा त्यो नियात्रा चाहिँ टेम्स नदीको यात्रा गर्दाको सुखद् अनुभूतिको वर्णन हो । लोमो पुल हुँदै विश्वप्रसिद्ध बेस्टमिन्स्टर र विग वेन पुगेर तस्वीर लिएको र केही परको सानो बगैँचामा भएको महात्मा गान्धीको सालिक नजिक फोटो खिच्दाका रोमाञ्चकताहरु समेत यस नियात्रासङ्ग्रहमा उनिएका छन् । ‘ग्रीनबीच’ अचम्म लाग्ने मानव निर्मित संरचना हो, पानीमुनिको बाटो । ‘ग्रीनबीच फुट टनल’ भनिने त्यो बाटो हिँड्दा नियात्राकारले गरेको अनुभव र त्यस सेरोफेरोको यात्रा र अनुभूतिको वर्णन हो ‘ग्रीनबीचको साँझ’ । टेम्स नदीभन्दा तलबाट सुरुङ मार्ग बनाइएको छ । जहाँ पानीमुनिको बाटो ३७० मिटर लामो र गहिराइ ५० फिट रहेछ । त्यहाँ म्युजियम, क्विन्स हाउस जस्ता आकर्षक ठाउँहरु समेत रहेका नियात्राकारले नियात्रामा प्रस्तुत गरेको पाइन्छ ।

अतः नियात्राकार छविरमण सिलवालको ‘ग्रीनबीचको साँझ’ नियात्रासङ्ग्रह लेखक नेपालबाट बेलायत यात्रा गरी फर्किएको समयसम्म गरेका अनुभव, घुमघामका रोमाञ्चित दृष्यहरु हुन् । जसमा बेलायतका प्रसिद्ध स्थलहरु, रमाइला स्थानहरु, लण्डनका दृष्यहरु, शेक्सपियरको जन्मस्थल घुम्दाका अनुभूति, साँस्कृतिक र भौगोलिक चित्रहरु प्रत्यक्ष देख्दाको अवस्था आदिलाई मुखरित गरी लेखिएको कृति हो । जुन कृति अध्ययन गर्दा पाठक बेलायत नै पुगी त्यहाँको अनुभूति गरेजस्तो भान हुन्छ । नियात्राकार छविरमण सिलवालले आफू घुमेका स्थान र त्यहाँ देखिएका दृष्यहरुलाई सजिव रुपमा जस्ताको त्यस्तै उतारी पाठक समक्ष पु¥याउनुभएकोमा ह्दयदेखि नै धन्यवाद नदिइरहन सकिदैन ।

कृति : ग्रीनबीचको साँझ (नियात्रासङ्ग्रह)
नियात्राकार : छविरमण सिलवाल
प्रकाशक : शाब्दिक बुक, काठमाडौँ
प्रकाशन : २०७५ भदौ
मूल्य : रु. २००
पृष्ट : १०३ खोटाङ, हाल, काठमाडौँ

प्रतिक्रिया दिनुहोस्