Logo
Logo

‘हरेक घरको दानव’ लत बन्दै छ पब्जी


एमपी सुब्बा


एमपी सुब्बा


याद राख्नुस् कि हिजोआज जो स्र्माटफोनमा व्यस्त छ उ ‘पब्जी’ खेलिरहेको छ । अझै नजिकै गएर नियाल्नुस्, उनी चिच्चाइरका हुन्छन्, ‘ओई मार मार, त्यसलाई पछाडिबाट हान, ओई, आयो–आयो’ यस्तै–यस्तै । यसरी जोशमा चिच्चाइरहेको देख्दा लाग्छ, ‘उ युद्ध मैदानमा दुश्मनसँग आमने–सामने छ र युद्ध वार–पार हुँदैछ ।’ उ थाक्दैन, बरु झन् जोसिँदै जान्छ । कसैले नबिच्काएसम्म लडिरहन्छ ।


पछिल्लो समय नेपालमा मात्र नभएर संसारमै ट्रेण्डिङमा रहेको अनलाइन भिडियो गेम हो, ‘पब्जी’ । तर, अहिले ‘पब्जी’ ट्रेण्डिङको सँगै ‘खतरा’ पनि बन्दै गएको छ । छोटो समयमै ‘लत’ बनेको ‘पब्जी’लाई भारतमा त ‘हरेक घरको दानव’ संज्ञा दिइएको छ ।


के हो पब्जी ?
इन्टरनेट, कम्युटर र स्मार्टफोनको जमानालाई सदुपयोग र बालबालिकाहरुलाई मध्येनजर गर्दै विकास गरिएको भिडियो गेम हो, ‘पब्जी’ अर्थात ‘प्लेयर अननोन्स ब्याटल ग्राउन्ड’ । तर, यसको लतमा लागेर मानिसहरुले आफ्नो ज्यान नै जोखिममा पार्न थालेपछि चिन्ता व्यक्त गर्न थालिएको छ । यो भिडियो गेमले भारतमा तहल्का मच्चाइरहेको छ, जहाँ धेरै मानिस यसै भिडियो गेमका कारण पक्राउ समेत परिरहेका छन् ।


केही समयअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दिल्लीस्थित एक विद्यालयको कार्यक्रममा सहभागी हुँदा एक महिलाले आफ्नो छोरा अनलाइन गेमको लतमा लागेका बारे चिन्ता व्यक्ति गर्दै गुनासो गरेकी थिइन् । त्यतिखेर मोदीले उनलाई सोधेका थिए ‘के ऊ पब्जी प्लेयर हो ?’ मोदीले त्यस्तो प्रश्न गर्दा उपस्थित दर्शकमा हाँसो गुन्जिएको थियो ।


हुन पनि ‘पब्जी’बारे थाहा नहुने अहिले सायदै होलान् । एकभन्दा बढी प्लेयरले खेल्न मिल्ने यो गेम पछिल्लो समय भारतमा विभिन्न कारणवश चर्चा र विवादमा आइरहेको छ । केही साता अघिमात्र भारतको राजकोटबाट पब्जी खेलेकै कारण १६ जनालाई पक्राउ गरिएको थियो ।
यो अनलाइन भिडियो गेम विशेषगरी बालबालिका लक्षित विकास गरिएको भएपनि पछिल्लो समय युवाहरुमा पनि लोकप्रिय बनेको छ । पब्जीकै कारण एक १८ वर्षीय किशोरको आत्महत्याको घटनाले यो विवादित बनेको हो भने अर्कोतिर यो गेम युवामाझ पनि लोकप्रिय बन्दै छ भने एक उदाहरण हो । त्यो किशोरले आत्महत्या गरेपछि ‘उनको स्मार्टफोनले पब्जी सपोर्ट नगरेपछि आत्महत्या गरेको’ खबर बाहिरिएको थियो ।


‘पब्जी’को विकास
सन् २०१७ मा आधिकारिक लञ्च भएको ‘पब्जी’ जापानको हरर फिल्म ‘ब्याटल रोयल’बाट प्रेरित रहेको बताइन्छ । उक्त फिल्ममा विद्यार्थीहरुको एउटा समूह सरकारद्वारा नमरुन्जेलसम्म लडाईँ गर्न बाध्य पारिन्छन् । यसमा कुनै हतियार बिना एउटा टापूबाट लडाईँ सुरु गर्नुपर्ने हुन्छ र विरोधीहरुलाई मार्दै अगाडि बढ्नुपर्दछ । एक सय खेलाडीहरु एकअर्काविरुद्ध लडिरहेका हुन्छन् ।
पब्जी दक्षिण कोरियाको भिडियो गेम प्रकाशक ब्लुहोलको हो । यो गेमका लागि शुल्क तिर्नुपर्ने हुन्छ । यो गेमले हालसम्म विश्वभरबाट १.३ अर्ब डलरभन्दा बढी कमाइ गरिसकेको छ । यो गेम भारतमा सबैभन्दा लोकप्रिय छ । जहाँ हालसम्म १० करोडभन्दा अधिक डाउनलोड भइसकेको बताइन्छ ।


पपुलर र लत बन्दै ‘पब्जी’
ई–स्पोर्टस फेडेरेशन अफ इन्डियाका निर्देशक लोकश सुजी भन्छन्, ‘यो स्मार्टफोन र डाटा दुवै सस्तो हुँदै गएकाले यति धेरै लोकप्रिय बन्न पुगेको हो ।’ तर, ‘पब्जी’को राइभल गेम फर्नाइटका अनुसार एन्ड्रोइडमा काम गर्ने र नगर्ने भएकाले पब्जीले खाशै सोचेजस्तो सफलता पाएको छैन ।
नेपालमा पनि ‘पब्जी’ लोकप्रिय बन्दै गएको छ । भारतमा चलिरहेको भनाइलाई सापट लिने हो भने बालबालिका र युवामा ‘लत’ बन्दैछ ‘पब्जी’ । भारतमा दैनिक कम्तीमा एक घण्टा मोबाइलमा ‘पब्जी’ खेरेर बिताउन थालेको केही समयअघि नै बिबीसीले जनाएको थियो । त्यसैले ‘पब्जी’ लाई त्यहाँ ‘लत’ भन्न थालिएको छ । यतिमात्रै नभएर यो गेमकै कारण चोरी, दुव्र्यवहार, आफूलाई हानी पु¥याउनेलगायतका घटना बढ्न थालेपछि भारतमा ‘पब्जी’लाई ‘हरेक घरको दानव’ नाम दिइएको छ ।

गेमिङ विश्लेषकहरुका अनुसार वास्तवमा ‘पब्जी’मा भएको भ्वाइस च्याट फिचरका कारण युवाहरुलाई बढी आकर्षण गरिरहेको छ । उक्त फिचरअन्र्तगत प्लेयरले खेलको समयमा आफ्नो टिमसँग च्याट गर्न पाउँछन् । र, यसमार्फत नयाँ साथीहरु पनि बनाउन सकिन्छ । भारतका एक पब्जी प्लेयरले भनेका छन्, ‘मैले अहिलेसम्म यत्तिको वास्तविक ग्राफिक र मोबाइल गेममै च्याट गर्न मिल्ने फिचर भएको कहिल्यै देखेको छैन ।’

नेपालमा ‘पब्जी’
‘पब्जी’ नेपाली युवापुस्तामाझ ट्रेन्डमा रहेको अनलाइन गेम हो । यो खेल ५ वर्षे बालकदेखि युवा र बृद्धसम्म समेत पपुलर बन्दै गएको छ । संसारमै पपुलर रहेको ‘पब्जी’ एन्ड्रोइड र आईओएस भर्सनमा प्रवेश गर्नेबत्तिकै ह्वातै चर्चामा आएको हो ।


चाबहिलका अनुज श्रेष्ठ (१३) पब्जी नखेली दिन बिताउन सक्दैनन् । उनका अनलाइन साथीहरु पनि छन् । जो उनीहरुसँग कुरा गर्दै पब्जी खेल्नु पाउँदा खाजा र खाना खानुसमेत बिर्सन गरेको बताउँछन् । त्यस्तै, ललितपरका सुदेश खड्का (१९) भन्छन्, ‘मलाई पब्जी भएपछि केही चाहिँदैन ।’ उनले पब्जी खेल्न थालेको खासै धेरै भएको छैन । उनी भन्छन्, ‘त्यही तीन÷चार महिना भयो होला ।’


‘पब्जी’ खेल्न थालेपछि अरु सबै गेम खेल्न छाडेको उनले सुनाए । पब्जीमा मज्जा के छ त ? उनी भन्छन्, ‘यो गेम अहिलेसम्मकै उत्कृष्ट हो । मैले अहिलेसम्म पब्जीजस्तो आनन्द लाग्ने गेममै देखेको थिइनँ ।’ अनलाइनमा भ्वाइस चाट गर्दै साथीहरुसँग गेम खेल्दाको आनन्द नै बेग्लै हुने उनले बताए ।


‘पब्जी’मा लत बसेपछि खानुको कुरै छाडौँ, सुत्न समेत बिर्सिने गरेको यसका प्लेयरहरु बताउँछन् । ‘अलिकति फुर्सद हुनेवित्तिकै म पब्जी खेल्छु’ सुनसरीका विरेन्द्र कार्की (१७)ले भने, ‘यो गेम खेल्नलाई समयसीमा हुन्न । दिन–रात पनि खेल्न सक्छु ।’


‘पब्जी’प्रति चिन्ता बढ्दै
पछिल्लो समय ‘पब्जी’ले प्रयोगकर्ताको मानसिक स्वास्थ्यलाई समेत जोखिममा पारिरहेको छ । जसले गर्दा यो गेमप्रति गम्भीर चिन्ता व्यक्त गरिएको हो । भारतका मानसिक विशेषज्ञ राजिव शर्माले भनेका छन्, ‘वास्तवमा हाम्रो मस्तिष्कले गेममा जसरी कुनै ठूलो उपलब्धी हासिल गरेको जस्तो महसुस गरिरहन्छ, हामी त्यसैमा एडिक्ट हुन थाल्छौँ ।’ तर, एक पब्जीमा लत बसेका प्लेयरले भने यो गेम नखेली नसक्ने बताएका छन् । उनले भनेका छन्, ‘ म आफ्नो काम थाँती राखेर भएपनि पब्जी खेल्न मिस गर्दिनँ ।’


आत्महत्या निम्ताउँदै पब्जी
‘पब्जी’ लत बन्दैछ भन्ने कुरा पछिल्लो समय यससँग जाोडिएर आएका समाचारहरुले पनि पुष्टि गर्छ । केही दिनअघि मात्र भारतको दक्षिणी क्षेत्रका कल्लाकुरी सम्बाशिव नामका ६ कक्षामा अध्ययनरत एक बालकले आत्महत्या गरेका छन् । ती बालकलाई उनकी आमाले परीक्षाको समय ‘पब्जी’ नखेल भन्दा बालकले आत्महत्या गरेको बताइएको छ ।


भारतीय समाचारमाध्यमका अनुसार ती किशोरले आत्महत्या गरेपछि उनका पिताले ‘पब्जी’मा रोक लगाउन माग गरेका छन् । परीक्षाको बेला ‘पब्जी’ खेलिरहेका किशोरलाई उनकी आमाले पढ भनेर कर गरेका थिए । तर, आमाले गाली गरेपछि ती किशोरले हैदराबादमा रहेको घरको आफ्नै कोठामा फ्यानमा झुण्डेर आत्महत्या गरेको जनाइएको छ ।


हालैमात्र न्युजिल्याण्डमा एक गोलीकाण्ड भएको थियो । सो गोलीकाण्डमा करिब दर्जनले ज्यान गुमाएका थिए । उक्त गोलीकाण्ड ‘पब्जी’कै कारण उब्जिएको भन्दै त्यहाँको सरकारले पब्जीमाथि प्रतिबन्द लगाउने आवाज उठाएको छ । तर, अहिलेसम्म प्रतिबन्ध भने गरिएको छैन । भारतपछि न्युजिल्याण्डमा ‘पब्जी’माथि प्रतिबन्धको आवाज उठाइएको हो । (विभिन्न एजेन्सीको सहयोगमा)

प्रतिक्रिया दिनुहोस्