Logo
Logo

चीनको विकासबाट हामीले के सिक्ने ?


कृष्णमणि पराजुली


चीन विश्वको मानचित्रमा एक महत्वपूर्ण भूमिकामा रहेको देखिन्छ । यसको क्षेत्रफल ९६ लाख वर्ग किलोमिटर छ । र, विश्वमा ठूलो जनसंख्या भएको देश पनि हो । अमेरिकापछि दोश्रो ठूलो अर्थतन्त्र भएको मुलुक पनि हो ।

केही वर्षको अवधिमा अमेरिकालाई उछिनेर विश्वकै धनी देश अर्थात् पहिलो अर्थतन्त्र भएको मुलुक हुने आकांक्षा लिएर अघि बढिरहेको छ । चीनको जनसंख्या १ अर्ब ४४ करोड छ । प्रतिब्यक्ति आय १० हजार ५०० अमेरिकी डलर पुगेको छ । यति ठूलो जनसंख्यालाई कसरी व्यवस्थापन गरेको होला ? भन्ने जिज्ञासा विश्वसामु भए पनि चीनले कम्युनिष्ट शासन व्यवस्थाबाटै गरेरै देखाइदिएको छ ।

त्यस्तै गरी कुल गार्हस्थ उत्पादन १५.६६ ट्रिलियन अमेरिकी डलरभन्दा बढी छ । कम्यनिष्ट देशमा धर्म हुँदैन र मानिदैन भनिए पनि चीनमा मुख्य रुपमा बौद्ध, मुस्लिम, ताओजस्ता धर्मावलम्बी छन् । यसले के बुझाउँछ भने बाहिरी संसारमा जति अफवाह फैलाइएको छ त्यो होइन । विश्व बजारमा जतासुकै चिनियाँ सामान छताछुल्ल भेटिन्छन् । अरु मुलुकको तुलनामा धेरै सस्ता पनि छन् । चिनियाँ सामानको लोकप्रियताले उसको आर्थिक सम्पन्नतामा वृद्धि हुँदै गएको छ ।

चिनियाँ कम्युनिष्ट पार्टीले आफ्नो राजनीतिक संगठन बलियो बनाउँदै गएको छ । बलियो बनाउनु भनेको बढिसे बढी जनतालाई राजनीतिमा सक्रिय सहभागिता गराउनु नै हो । परिणामस्वरुप चिनियाँ कम्युनिष्ट पार्टीले १० करोड पार्टी सदस्य बनाएर विश्वमा ठूलो राजनीति संगठन बन्न पुगेको छ । उसले समुन्नत चीन बनाउनका लागि राजनीति सहभागिताको माध्यमबाट यसरी पार्टी सदस्यतामा वृद्धि गर्दै आएको हुन सक्दछ । सन् २०१३ मा सी जिनपिङ सत्तामा आएदेखिनै विश्वमा चीनलाई सन् २०५० सम्ममा संसारकै सबभन्दा समुन्नत समाजवादी मुलुक बनाउने लक्ष्य लिएर अघि बढिरहेको देखिन्छ ।

चीन छोटो अवधिमा यो अवस्थामा आईपुगेको होइन । यसको शुरुवाति बिन्दु सन् १९२१ को जुलाई १ देखि नै हो । चीनले शताब्दी वर्षगांठ मनाइरहेको छ । वर्षगांठको अवसरमा आयोजित कार्यक्रममा ठूलो जनउपस्थिति थियो । उक्त समारोहमा चिनियाँ राष्ट्रपति सिले चीनले समृद्धिको खुट्किलो पार गरिसकेको र अब समाजवादी आधुनिक दिशातिर अघि बढि रहेको कुरा बतानु भयो । सम्बोधनको क्रममा उहाँले चिनियाँ कम्युनिष्ट पार्टी नभएको भए विश्वलाई चुनौती दिन सक्ने र यस अवस्थामा आईपुग्न सक्ने पनि थिएन भन्नु भएको थयो ।

मुलुकको विकासका लागि राजनीति नेतृत्व, शासन प्रणाली र स्वयं जनता विकासको मूलधारमा आउनुपर्छ । चीनको विकासमा यी सबैको भूमिका रहेको पाइन्छ । नेपालले चीनबाट सिक्नुपर्ने यस्ता धेरै कुरा छन् ।

हामीले यहाँ बुझनुपर्ने कुरा यो छ कि, अहिलेको चीन त्यसै बनेको होइन । यहाँसम्म ल्याउन धेरै चिनियाँ नेता र चिनियाँ जनताहरुको ठूलो योगदान छ । शुरुमा माओत्सेतुङ्को ठूलो भूमिका थियो । लामो क्रान्ति गरेर चिनियाँ कम्युनिष्ट पार्टीले सत्ता लिएको थियो । र, सन् १९४९ को अक्टुवर १ तारिखमा तियानमेन स्क्वारबाट जनगणतन्त्र चीनको घोषणा भएको थियो । यसरी लामो कालखण्ड पार गरेर स्वर्गीय नेता माओले चीनमा गणतन्त्र स्थापना गर्नुभएको थियो । राजनीतिलाई एउटा ट्रयाकमा ल्याएर देशलाई अघि बढाउने काम उहाँले गर्नुभएको थियो ।

गृहयुद्धको समयमा गरिबी र अभावमा चिनियाँ जनताले ठूलो दुःख भोग्नुपर्यो । आन्तरिकरुपमा यसै कमजोर थियो र बाह्य रुपबाट पनि शक्ति आर्जन गर्न सकेको अवस्था थिएन । यसरी त्यस समयमा दुवै पक्षमा चीन कमजोर नै थियो ।

यसरी कमजोर भएको अवस्थामा माओको निधन भएपछि सन् १९८० को अन्त्यतिर पूर्वी यूरोपका कम्युनिष्ट देशहरु पतन हुन पुगे । सोभियत संघसहित रुमानिया, अल्बानिया, हंगेरी, चेकोश्लोभाकिया आदि देशहरुका कम्युनिष्ट शासन प्रणाली ढल्दै गए । यस अवस्थामा चीनलाई आफ्नो शासन प्रणाली जोगाउन ठूलो कठिन थियो । नेतृत्वले ठूलो सुझबुझसाथ जोगाउने काम गरे । यद्यपि, तियान मेन स्क्वायरमा बिरोध प्रदर्शन भईकन छोड्यो । त्यस समयमा चीनका उदारवादी नेता देङ्स्याओ पिङ्को सुझबुझको कारणले गर्दा आफूलाई समयानुकूल बनाउन चीन सफल भएको थियो ।

सन् १९४९ सम्म चीनमा धेरै उतार चढाव भईनै रहे । गरिबीको चरम उत्कर्ष र भोकमरीले जनतामा निरासा छाएको थियो । पछि देङ्स्याओ पिङ् सत्तामा आएपछि उहाँको उदार आर्थिक नीतिले ठूलो भूमिका खेलेको पाइन्छ । सन् २०१३ देखि सि जिङ्पिङ् सत्तामा आएपछि अझ तीब्र रुपमा चीनले विकास गर्दै आएको छ ।

दुई कार्यकालसम्म राष्ट्रपति हुन पाउने प्रावधानलाई संसोधन गरेर अवधि बढाउन सक्ने व्यवस्था भएको देखिन्छ । यसले के बुझाउँछ भने अझै पनि अर्को कार्यकालमा पनि उहाँ नै रहनुहुने अनुमान गर्न सकिन्छ । उहाँको आवश्यकताको बोध गरेर नै पदावधि बढाईएको हुन सक्दछ । सय वर्ष अघिको चीनले कति कष्ट पाएको थियो र अहिलेको चीन कति अगाडि बढिसकेको छ अनुमान गर्न पनि नसकिने भएको छ ।

अहिले चीन भ्रष्टाचारविरुद्ध आक्रामक रुपले अघि बढिरहेको छ भने आर्थिक समृद्धिको लागि अमेरिकासँग प्रतिष्पर्धा गर्ने भइसकेको छ । यही प्रतिष्पर्धाले चीन र अमेरिकाबीच बेला–बेलामा ब्यापार युद्ध हुुने गरेको छ ।

चीनको विकासमा माओत्सेतुङ, देङ्स्याओ पिङ र सी जिनपिङको योगदान महत्वपूर्ण छ । त्यसैले उनीहरुको मूल्यांकन गरेर माओ विचारधारा, देङ सिद्धान्त र सी बिचारधारा गरी बिभाजन गरिएको छ । माओले कम्युनिष्ट पार्टी स्थापना गर्नुका साथै नयाँ जनवादी क्रान्ति, सैन्य रणनीति, तेश्रो विश्वको सिद्धान्त जस्ता अवधारणा ल्याउनु भयो ।

देङ्ले सांस्कृतिक क्रान्ति पछिका समस्याहरुको सम्बोधन गर्ने कार्य गर्नुभयो र चिनियाँ अर्थतन्त्रलाई नयाँ दिशातिर लैजाने काम गर्नुभयो । विश्वमा आएको आर्थिक उदारिकीकरणलाई ध्यान दिदै खुलापन, अर्थतन्त्रको विश्वव्यापीकरण, उत्पादनमा वृद्धि, वैदेशिक लगानीमा जोड जस्ता सुधारका कार्यक्रमहरुले देशलाई अग्रगामी उन्मुख बनाउन सफलता प्राप्त गर्न सघाउ पुर्याउने काम गर्यो ।

त्यसैगरी वर्तमान राष्ट्रपति सि जिङ्पिङ् सन् २०५० सम्म चीनलाई संसारकै सबभन्दा विकसित र सभ्य मुलुक बनाउने दृढताका साथ अघि बढ्नु भएको छ । सी सत्तामा आएपछि मुलुकको लागि धेरै काम भइआएका छन् । तीमध्येको एक हो– बेल्ट एण्ड रोड इनिसियटिभ । अबको केही वर्षमा चीनको जनसंख्या अझ बढ्न सक्ने छ ।

अहिलेकै अवस्थामा यति ठूलो जनसंख्याको व्यवस्थापन गर्नु मुख्य चुनौती भइरहेको छ भने भावी पुस्ताबारे चीनलाई राम्रोसँग थाहा छ । त्यसकारण वृद्धि हुँदै गएको जनसंख्यालाई भरथेग गर्नु एकातिर छँदैछ भने अर्कोतिर आफ्नो देशको उत्पादनलाई सहज रुपमा वितरण हुनसक्ने चुनौती पनि छदैछ । किनकि उत्पादित वस्तु निर्यात गर्न सकियो भने मात्र वैदेशिक स्रोत बलियो हुने हो ।

यही कुरालाई मध्यनजर गरेर बेल्ट एण्ड रोड इनिसियटिभजस्तो एकदमै महत्वाकांक्षी महायोजना सन् २०१३ मा शुरु गरिए पनि यो योजना २०१७ मा लागू गरेको छ र नेपालले यसमा आफ्नो सहभागितासमेत जनाइसकेको छ ।

यो योजना सन् २०४९ सम्ममा पूरा गर्ने उद्देश्य लिईएको छ । यसले विश्वका ७० भन्दा बढी देशलाई जोड्ने भनिएको छ । चीनले यस महायोजनामा अरु देशलाई पनि समावेश गर्न आह्वान गरेको छ । यो योजना सफल भयो भने निश्चयनै चीनको आर्थिक विकासका लागि कोशेढुंगा हुने छ । यो योजनाले चीनलाई मात्र होइन सहभागी हुने सबै मुलुकको विकासमा सघाउने छ ।

नेपालको सन्दर्भमा ‘बेल्ट एण्ड रोड इनिसियटिभ’मा समावेश भए पनि यसबाट अहिलेसम्म फाइदा लिन सकेको छैन । यस योजनाअन्तर्गत सिगात्से–केरुङ–काठमाडौँ–पोखरा–लुम्बिनी रेलमार्ग निर्माण गरिने भनिए पनि हालसम्म केही प्रगति हुनसकेको छैन । चीनले बेल्ट एण्ड रोड इनिसियटिभलाई नेपालसँग जोडेको कारणबाट भारत पनि नेपाललाई सहयोग गर्न आतुर भएको थियो ।

भारतले रक्सौल–काठमाडौँ रेलसेवा निर्माण गर्ने भने पनि त्यसै सेलाएर गएको देखिन्छ । यी दुईवटा काम छिमेकी मुलुकबाट नेपालले गराउन सक्यो भने निश्चय नै नेपालको कायापलट हुन जाने देखिन्छ । छिमेकी देशहरुले यस्तो प्रस्ताव ल्याइरहँदा पनि नेपालले कुनै चासो नदेखाउनु के कारण हो ? बुझ्न सकिएको छैन ।

नेपालले चीन र भारत दुई ठूला देशबीच रहेको र दुवै शक्तिशाली बन्ने दिशामा उन्मुख रहेका छन् । नेपालको विकासका लागि दुवै देशले चासो राखेका छन् र सहयोग पनि गरिरहेका छन् । यद्यपि विकासले मूर्तरुप लिन सकेको छैन । अझसम्म पनि गरिबीको रेखामुनि रहेका जनसंख्या ३१ प्रतिशतभन्दा बढी नै छ । देशको कूल ऋण स्वदेशी र बाह्य गरी २०÷२१ खर्ब पुगिसकेको छ ।

प्रत्येक नेपालीको टाउकोमा ५२ हजार ऋणभार थोपरिएको छ । अहिलेको अवस्थामा त झनै विश्वव्यापी कोभिड–१९ ले आक्रान्त पारिरहेको हुँदा अर्थतन्त्र चलायमान हुनसकेको छैन । देशको अर्थतन्त्र करिब–करिब थला परेको छ । यस्तो अवस्थामा नेपालले छिमेकी मुलुक चीनले गरेको विकासबाट पाठ सिक्नु पर्नेछ । भारतबाट पनि त्यत्तिकै मात्रामा अपेक्षा गर्नु उपयुक्त नै हुनेछ ।

सन् १९५० को हाराहारीमा भारत, चीन र नेपाल स्वतन्त्र भएका हुन् । भारत र चीन विज्ञान तथा प्रविधिको विकास गरेर धेरै अघि बढिसकेका छन् । तर, नेपालले भने उनीहरुको तुलनामा केही गर्न सकेको छैन । नेपाल सबै जसो विकासका अवयवहरुमा पछि नै परेको छ । बुझ्नुपर्ने कुरा के रहेछ भने विकासलाई समग्रतामा हेर्नुपर्छ । कुनै एक पक्षले गरेर मात्र पनि हुने होइन ।

यसका लागि राजनीति नेतृत्व, शासन प्रणाली, स्वयं जनता आफैँ पनि विकासको मूलधारमा आउनु पर्छ । चीनको विकासमा यी सबैको भूमिका रहेको पाइन्छ र नेपालले चीनबाट धेरै कुरा सिक्नुपर्ने छ ।

(लेखक नेपाल सरकारका पूर्व उपसचिव हुन् ।)

प्रतिक्रिया दिनुहोस्