Logo

ओलीको प्रलोभनमा नफस्न २२ सांसदको माधव नेपाललाई सुझाव


दृष्टि संवाददाता


काठमाडाैं । बुधबार नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले शेरबहादुर देउवालाई विश्वासको मत दिएका २२ सांसदसँग छलफल गरे । पार्टी अध्यक्ष केपी शर्मा ओलीको निर्देशन विरुद्ध उत्रिएका उनीहरुलाई धन्यवाद दिन नेपालले सामूहिक छलफल गरेका थिए ।

छलफलमा नेपाललाई २२ सांसदले दोस्रो अध्यक्षको प्रलोभनमा नफस्न सुझाव दिएका छन् । अधिकांसले सरकारमा जान र सरकारलाई सफल पार्नेतिर नेपालको ध्यानाकर्षण गराएका थिए ।

साहना प्रधान स्मृति प्रतिष्ठानको हलमा भएको छलफलमा सांसदहरुले कार्यदलमा रहेका माधव नेपाल पक्षबाट प्रतिनिधित्व गर्ने नेताहरुले केपी ओलीलाई सहयोग गरेको आरोप समेत लगाएका थिए ।

छलफलमा नेपालले सबैप्रति कृतज्ञता जनाउँदै सुझावलाई छलफल गरेर अघि बढ्ने प्रतिबद्धता जनाएका थिए । नेपाल यसअघि नै ओलीले प्रस्ताव गरेको दोस्रो अध्यक्षको विपक्षमा रहँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्