Logo

माधवलाई ‘लाल गद्दार’को लाञ्छना र केपीको उदाङ्गो छवि


लक्ष्मण देवकोटा


पार्टीगत पद्धति र संरचनालाई धुलिसात् पारेर नेपाल कम्युनिष्ट पार्टी एमालेको विरासतमाथि नग्न नृत्य गरिरहेका पार्टी अध्यक्ष केपी शर्मा ओली समूहको तारो माधवकुमार नेपाल भएका छन् । नेपाल समूहलाई लाल गद्दार भनेर ओली गुटले सार्वजानिक रुपमा दुत्कार्न शुरु गरिसकेका छन् । विधिको शासनमा विश्वास गर्ने र संसदीय पद्धतिमा आस्था राख्ने एमालेका अग्रगमनकारीहरुले ओली प्रतिगमनको हरेक कुटिल चालहरुलाई परास्त गरेपछि बालकोटको बार्दलीबाट आएको बर्बराहटलाई त्यति धेरै अस्वाभाविक मान्नु पर्ने पनि छैन । जसको जे चरित्र हो, त्यसले गर्ने त्यही नै हो ।

माधवकुमार नेपालहरुले शेरबहादुर देउवाका पक्षमा मतदान गर्नुपर्ने परिस्थिति किन आयो ? सबैभन्दा पहिले यसको छिनोफानो नगरी को गद्दार हो र को अग्रगमनकारी हो भन्ने चिनिन्न । केपी शर्मा ओलीलाई यो मुलुकको सर्वेसर्वा कसले बनायो ? त्यसको पहिचान नगरी को गद्दार हो र को होइन ? जानिन्न । जनताले शदियौंदेखि मनमनमा पालेको समृद्ध हुने रहर, नागरिक भएर बाँच्ने अधिकारका साथ दुईतिहाइ बहुमतबाट संसदमा पुर्याएको जनताको अभिमतलाई कुल्चिएर कसले ताण्डव नृत्य गर्यो ? त्यो नबुझीकन अझ झन् केही बुझिन्न । शीतल निवास र बालुवाटारको ‘मृदंगको लय’मा कमरेड पुष्पलालदेखि मदन भण्डारीका विचारहरुको श्रृँखलावद्ध हत्या नहेरी झन् केही बुझ्दै बुझिन्न ।

संसदीय सर्वोच्चतालाई स्वीकार गर्ने सबैको निम्ति प्रमुख प्रतिनिधि थलो सार्वभौम संसद हो । सोभियत संघको पतन पश्चात संसदीय अभ्यासलाई स्वीकार गर्ने नीति अनुरुप मदन भण्डारीले अगाडि सारेको जनताको बहुदलीय जनवादलाई स्वीकार गर्नेहरुको पनि मुख्य थलो संसद नै हो । भण्डारीले आफ्नो विचारको पुष्टिकरणमा पटक–पटक भनेकै कुरा हो, जनता जनता जनता । कमरेड पुष्पलालदेखि मनमोहन अधिकारीसम्म सबैको अर्जुन दृष्टि जनता नै हुन् ।

शदियौंदेखि वर्गीय उत्पीडनमा परेका, दबाइएका, हेपिएका मानिसहरुको पक्षमा आवाज बुलन्द गर्दै, उनीहरुकै गुन्द्रीमा बसेर, उनीहरुसँगै श्रम गरेर, उनीहरुसँगै क्रान्तिका आवाज उठाएर हामीले संसदमा पठाएका हाम्रा नेताहरुले हाम्रो पक्षमा बोल्नेछन् । आवाज उठाउनेछन् । नीति बनाउनेछन् । दलित, महिला, उत्पीडित जाति जनजातिको मुक्तिको निम्ति जनताले जिताएका जनप्रेमीहरुले हामीलाई ओखतीमूलो गर्नेछन् । ओखती नपाएर अकालमा मर्नुपर्ने छैन । महंगा कलेज, स्कूलहरुमा पढेकाहरुले सधै अवसर पाउने चलन तोडिनेछ ।

आटोपीठो खाएर गाउँवस्तीकै स्कूलमा पढेका हाम्रा छोराछोरीले पनि डाक्टर, इञ्जीनियर, विज्ञ बन्ने अवसर पाउनेछन् । महँगो दाम तिरेर डाक्टर, इन्जिनियर, नर्स, पाइलट बन्ने चलन तोडिनेछ । पैसाको बिटो देखाएर होइनकि विद्यार्थीको क्षमताको आधारमा उनीहरुले अध्ययन गर्न पाउनेछन् । यो मुलुकमा दुखी गरिबका दिन आउनेछन् । र, त्यो दिन ल्याउन संसदमा हाम्रा नेताहरुले नीति बनाउनेछन् । जनमुखी नीति । गरिबमुखी नीति । यही नै त थियो पुष्पलालको सपना । यही नै त थियो जनताको बहुदलीय जनवादको अन्तर्य ।

तर, त्यसो भैदिएन । जनताकै घरदैलोमा घुमेका नेताहरुमा दम्भ पलायो । अहंकारले बास गर्यो । हिजो सँगै भुटेका मकै खाएर खाली खुट्टा संगठन गर्न हिंडेका नेताहरुका अघिपछि दलालहरु जम्मा हुन थाले । यतिसम्म कि पार्टीका वैठकहरु बस्न आवश्यक ठानिएन । छलफल गर्न जरुरी मानिएन । जताततै भ्रष्टाचार र दूराचारका दूर्गन्ध ह्वास्स आए । कमिटीगत रुपमा कुराकानी गरौं, पार्टीलाई गतिशील बनाउन भनेर बालुवाटारमै वैठक राख्दासमेत पार्टी अध्यक्ष ओलीलाई त्यो वैठकमा जान, बोल्न र कुराकानी गर्न मन लागेन ।

आफू प्रधानमन्त्री र अध्यक्ष भएपछि बाँकी सब मेरा रैती र खेताला हुन् भन्ने मनाग्रन्थीले ओलीलाई अहंकारको धरहरामा पुर्यायो । आफ्ना आसेपासेहरुको सल्लाहमा पार्टीभित्रको बहसलाई पार्टीगत पद्धतिबाट टुंग्याउनुको साटो संसद्को हत्या गर्ने धृष्टता अध्यक्ष ओलीले गरे । यो सबै हाम्रै आँखाले देख्नुपर्यो ।

लेनिनवादी संगठनात्मक पद्धतिको कुरा गर्ने कम्युनिष्ट पार्टीको अध्यक्षले यसरी संसदकै वध गर्दा जनताको अपमान भयो कि भएन ? यहीँनेर सोध्नुपर्ने हुन्छ, पार्टीलाई विधि र पद्धतिमा चलाउँ भन्ने लाल गद्दार हुन्छ कि पार्टीका कुनै पनि वैठकलाई दुत्कार्दै सरकारी खर्चमा आफ्नै नेता विरुद्ध र्याली गर्दै हिंड्ने व्यक्ति गद्दार हुन्छ ? पार्टीलाई जीवन्त राख्नको निम्ति निरन्तर संघर्ष गर्ने माधव नेपाललाई असाध्यै निम्छरो भाषामा अपमानित गर्दै वडा तहसम्मै माधव नेपालको विचार निकट भयो कि सिध्याइहाल्ने व्यक्ति पार्टीको निम्ति गद्दार हो कि पार्टीलाई पार्टीकै शैलीमा चलाउँ भन्ने व्यक्ति गद्दार हो ? यसको जवाफ ओली गुटले जनअदालतमा दिनुपर्ने छ ।


ओली गुटको सर्वसत्तावादी सोंच र कृत्यले गर्दा राष्ट्रपति जस्तो मर्यादित संस्थाको शाख पनि रछ्यानमा पुग्यो । जनताले कम्युनिष्टहरु भनेका यस्ता हुँदारहेछन् भन्ने दिन आयो । मध्यरातमा, गुप्त षडयन्त्रपूर्वक बुनिएका हरेक तानाबाना, संवैधानिक आयोग र निकायहरुमा आफ्ना भरौटेहरुलाई भर्ति गरेर पद्धतिलाई धुस्न बनाइएका परिघटना, क्षमताको आधारमा भन्दा पहुँच र निकटताको आधारमा आफ्नाहरुलाई राज्यको महत्वपूर्ण अंगहरुमा पुर्याएर गरिएको राज्यकोषको दोहन हेर्दा आफूलाई वामपन्थी हुँ भन्नेको समेत शीर लज्जाले निहुरिने अवस्था आयो ।

समृद्धिको सपना देखेका जनताहरुले पर्खिरहे सरकारमा नेतृत्व गर्ने सुध्रिन्छ कि भनेर । माधव नेपाल लगायतका नेताहरुले खबरदारी गरिरहे । यसरी भएन आउनुहोस् बहस गरौं भनेर पद्धतिपूर्वक चल्न खोज्ने लाल गद्दार कि विधि पद्धतिलाई धुलिसात् पार्दै सिंगो पार्टी ध्वस्त गर्ने व्यक्ति गद्दार ? पहिलो पटक सार्वभौम संसदको वध गरेर नपुगेर फेरि षडयन्त्रपूर्वक दोश्रो पटक दुनियाँले देख्ने गरी छलकपट गरेर जनताको मतको खिल्ली उडाउने ओली गुट गद्दार कि त्यसको प्रतिवाद गर्ने माधव नेपाल गद्दार ?


भारतीयहरुले सडक खनिरहँदा सरकारले थाहा पाएन । नाकाबन्दीका बेला देशभक्तको छवि बनाएका ओलीले कालापानी, लिपुलेक, लिम्पियाधुराको नक्शा ल्याए । सिंगो संसदले एकमतले नयाँ नक्साको समर्थन गर्यो । भारतपरस्त भनिएको मधेशवादी दललेसमेत देशविरुद्ध बोल्ने संसदलाई ठेगान लगाएर देशको अखण्डताको पक्षमा बोल्यो । जब सामन्त गोयलहरु मध्यरातमा बालुवाटार प्रवेश गरे, तब ओलीको राष्ट्रवादी जामा च्यातियो । अझ वैराग त चुच्चे नक्शा समेटिएको पाठ्यक्रम गोदाममा थन्क्याएर अर्को जात्रा देखाएपछि भयो ।

माक्र्सवाद लेनिनवादका कुरा गर्ने कम्युनिष्ट पार्टीको अध्यक्षले ठोरीमा राम जन्मभूमी देखे । मोदीको हिन्दूत्वको लयमा लय मिलाउँदा जनवादको धुलिसात भयो । पार्टी पाटीमा परिणत भयो । देशभक्तिको नक्कली मुकुण्डो उत्रिएपछि सक्कली अनुहार देखाइदिने माधव नेपाल लाल गद्दार कि भारतीय संस्थापनसँग सत्ता जोगाउन घूँडा टेक्ने लाल गद्दार ?


त्यसो त नेपालको वामपन्थी आन्दोलनमा गद्दार भनिने कुरा कुनै नौलो कुरा होइन । मालेले पुष्पलाललाई गद्दार भन्यो । मोहनविक्रम सिंहलाई धेरैले गद्दार भने । प्रचण्डलाई विप्लवले गद्दार भने । अहिले ओलीले माधव नेपाललाई गद्दार भन्दैछन् । माधव नेपाललाई गद्दार भनिरहँदा आम कार्यकर्ताले ओलीलाई सोधेको यौटै प्रश्न थियो, तपाईंले हरेकपटक गरेका कामहरुमा सत्यता र इमान्दारिता थियो भने संसदमा आएर आफूले गरेका कामहरुको बचाउ गर्ने आँट किन गर्नुभएन कमरेड ? कार्यकर्ताले सोध्ने गरेकाछन्, मदन भण्डारीले त महाधिवेशननै छोडेर हिंडेका प्रदीप नेपाललाई त जिम्मेवारीको झोला बोकाएर पठाए ।

तर, तपाईं पार्टीले झोला बोकाइदेओस् भन्नेहरुलाई उल्टै शत्रु बनाएर पठाउनुभयो ? अनि तपाईं कसरी कुशल संगठक र नेता कमरेड ? त्यसभन्दा एककदम अघि आम नागरिकले सोधिरहेका छन्, सार्वभौम संसदलाई देखिनसहने व्यक्ति तामझाम र लावालस्करका साथ निर्वस्त्र महाराजकै शैलीमा बालकोट आफू बस्ने घरमा जाँदा यहाँको कुन चाहिँ बहादुरी देखियो कमरेड ? हेर्नोस् त तपाईंकै वकालतकर्ताहरुले उल्टै देउवालाई भोट हालिदिए । देख्नुभएन, यो सत्ताको रापतापको कारण मात्रै स्वार्थी र लोभीहरुले तपाईंको जयजयगान गरिरहेका रहेछन् ।

तपाईंलाई ‘राजनेता’ र ‘बा’ भन्ने तपाईंका छोराछोरी भनिएकाहरु फेरि स्वार्थको खोजीमा अन्तकतै लाग्नेछन् । तपाईं फेरि घूमिफिरी तपाईंले मान्छे नै नठानेको जमीनको मानिसका बारेमा सोंच्न बाध्य हुनुपर्नेछ । फेरि पनि अन्तिम प्रश्नछ समयको, सामूहिक नेतृत्वमा चल्ने कम्युनिष्ट पार्टीमा म नै सत्ता, म नै राज्य भन्ने चरित्र बोक्ने बा प्रवृत्ति गद्दार कि यसो हुनुहुँदैन भन्ने गद्दार ?

विगतको बहस आफ्नो ठाउँमा होला तर आफ्नो जीवनको यति लामो राजनीतिक यात्रालाई दाउमा राखेर माधवकुमार नेपालले संसदीय सर्वोच्चताको रक्षाको निम्ति चालेको कदमले यति भन्न सकिन्छ, माधव नेपाल लाल गद्दार होइनन् । उनी लोकतन्त्रलाई जोगाइराख्नुपर्छ भन्ने राजनीतिक चेत भएका अग्रगमनकारी नेता हुन् । आज गद्दार भनेर दुत्कार्ने ओलीहरुले भोलि माधव नेपाललाई अघि लगाएर पार्टी बँचाउन गाउँघर हिंड्ने दिन पक्कै आउनेछ । विचारविहीन ओली गुटले मदन भण्डारीलाई भजाएर भण्डारीकै हूर्मत लिने कूकर्म धेरै गरिरहन सक्दैन । जनताले बुझिसकेका छन् । जनताको बलिदानीबाट बनेको पार्टीलाई पाटीमा परिणत गर्ने को हुन् ?

मदनपोखरा, पाल्पा

प्रतिक्रिया दिनुहोस्