Logo
Logo

पहिलोपटक सरकारले सगरमाथाको उचाई मापन गर्दै


- दृष्टि न्युज/संवाददाता

0
Shares


काठमाडौं, २७ चैत ।
विश्वको सर्वाेच्च शिखर सगरमाथाको नेपाल सरकारले पहिलोपटक उचाई मापन गर्ने भएको छ । उचाइ नाप्न सरकारी टोली बुधबार सगरमाथातर्फ जाँदै छ । नापी विभागका प्रमुख नापी अधिकृत खिमलाल गौतमको संयोजकत्वमा चारजनाको टोली सगरमाथा क्षेत्रतर्फ जाने उचाइ मापन कार्यक्रमका संयोजक सुशील डंगोलले जानकारी दिए । चारजनामध्ये खिमलाल गौतम र रविन कार्की सगरमाथाको टुप्पोसम्म जानेछन् ।


नेपाल सरकारको तर्फबाट पहिलोपटक सगरमाथाको उचाई मापन गर्न जाने टोलीलाई बुधबार विहान बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीले शुभकामना दिएर विदाई गरेका छन् ।

गौतमले सन् २०११ मा निजामती कर्मचारी सगरमाथा आरोहण दलको सदस्य भई सगरमाथाको आरोहण गरिसकेका छन् । सुरजसिंह भण्डारी र युवराज धिताल भने सगरमाथा आधार शिविरमै बस्ने संयोजक डंगोलले जानकारी दिए । यसअघि सन् १९५४ मा भारतको नापी विभागको टोलीले सगरमाथाको उचाइ नापेको थियो ।

कति लाग्नेछ समय ?
सगरमाथाको टुप्पोसम्म जाने दुई आरोहीले यो सिजन सुरु भएलगत्तै आरोहण थाल्नेछन् । करिब एक महिना लाग्ने आरोहणबाट उनीहरू फर्केपछि र खुम्बु क्षेत्रको कम्तीमा ८ स्थानमा गरिएको उचाइको मापन प्राप्त भएपछि आधुनिक उपायबाट तथ्यांक अध्ययन गरिने नापी विभागले जनाएको छ । उक्त तथ्यांकको अध्ययन विदेशमा नभई नापी विभागमा नै गरिने संयोजक डंगोलले बताए । उनले भने, ‘सगरमाथाको टुप्पोबाट र विभिन्न ८ स्थानबाट संकलित तथ्यांकलाई एकीकृत रूपमा अध्ययन गरिनेछ, यो अध्ययन हामी नापी विभागमा नै गर्नेछौं ।’

सगरमाथाको उचाइको अन्तिम रिपोर्ट सन् २०१९ को डिसेम्बरसम्म आउने संयोजक डंगोलले जनाए । उनले भने, ‘जतिसक्दो छिटो रिपोर्ट तयार पार्न खोज्छौं, तर यो अलि जटिल प्रकारको अध्ययन हुने भएकाले डिसेम्बर अन्तिमसम्ममा ल्याइसक्नेछौं ।’

कति लाग्नेछ लागत ?
सगरमाथाको उचाइ मापनकै लागि भनेर चालू आर्थिक वर्षमा १५ करोड रुपैयाँ विनियोजन गरिएको छ । अध्ययनको सुरुवात चरणदेखि अन्तिमसम्मको यो रकम पर्याप्त हुने नापी विभागको भनाइ छ । सगरमाथा आरोहण दलका लागि भने ५० लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ । त्यसैगरी, खुम्बु क्षेत्रको ८ स्थानमा उचाइ मापन प्रक्रियाका लागि भने रकम तोकिएको छैन ।

यस कारण आवश्यक छ उचाइ नाप्न
सन् १९५४ मा भारतीय नापी विभागले सगरमाथाको उचाइ नापेको थियो । त्यसयता सगरमाथाको आधिकारिक उचाइ ८ हजार ८ सय ४८ मिटर रहेको मानिँदै आएको छ । तर, तीन वर्षअघि गएको भूकम्पले सगरमाथाको उचाइ घटाएको भन्ने समाचार अन्तर्रा्ष्ट्रिय रूपमा चर्चामा रह्यो । सोहीकारण पनि सगरमाथाको उचाइ पुनः मापन गर्न आवश्यक भएको हो ।

दोस्रोपटक पनि भारतीय नापी विभागले नै उचाइ मापन गर्न इच्छा देखाएको थियो । तर, नेपालभित्र विश्वको अग्लो शिखरको उचाइ आफैँले नाप्नुपर्ने दबाब आएपछि सरकार आफैँ अघि सरेको हो । सन् १९९९ मेमा अमेरिकन टोलीले जिपिएस प्रणालीबाट सगरमाथाको उचाइ नापेर थप दुई मिटर अग्लो रहेको जनाएको थियो । अहिलेको अध्ययनले सगरमाथाको उचाइबारे देखिएको विवादलाई आधिकारिक रूपमा समाधान गर्ने उचाइ मापन टोलीका संयोजक सुशील डंगोलले जनाए ।

यसरी नापिनेछ उचाइ
सगरमाथाको टुप्पोसम्म पुग्ने दुईजनाले उचाइ नाप्ने विशेष मेसिन जिएनएसएस साथमा लैजानेछन् । ग्लोबल नेभिगेसन स्याटेलाइट सिस्टम (जिएनएसएस) मेसिनले उचाइको तथ्यांक संकलन गर्नेछ । उनीहरूले संकलन गरेको तथ्यांकलाई उचाइ मापनमा नै प्रयोग हुने आधुनिक प्रणालीबाट परिवर्तन गरिनेछ । सगरमाथा आधार शिविरमा रहने दुईजनाले आरोहणको समन्वय गर्नेछन् ।

त्यसैगरी, सगरमाथा क्षेत्रको कम्तीमा ८ स्थानमा लेबलिङ सर्भेका लागि स्थान छनोट गरी मेसिन राखिनेछ । लेबलिङ सर्भेले समुद्र सतहबाट कति उचाइ छ भन्ने तथ्यांक उपलब्ध गराउँछ । तर, सगरमाथाको उचाइसम्म मापन गर्ने प्रणालीले भने समुद्र सतहदेखिको उचाइ मापन नगरी जमिनको सतहबाट उचाइ मापन गर्ने संयोजक डंगोलले बताए ।

प्रतिक्रिया दिनुहोस्