Logo
Logo
लुम्बिनीमा सत्ता संकट

नयाँ सरकार गठनका लागि आह्वान गर्न विपक्षीको माग


दृष्टि संवाददाता


बुटवल । संविधानको धारा १६८ को उपधारा २ बमोजिम सरकार गठनका लागि आह्वान गर्न माग गर्दै लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनसमक्ष विपक्षी गठबन्धनले निवेदन दिएको छ ।

प्रदेशसभामा तत्काल कुनै पनि दलको स्पष्ट बहुमत नरहेकाले संविधानको धारा १६८ को २ अनुसारको सरकार गठनका लागि आह्वान गर्नुपर्नेमा सो अनुसार नगरी प्रदेशसभामा तत्कालीन समयमा जम्मा ३८ जना सदस्य रहेको नेकपा एमाले दलका नेता शंकर पोखरेललाई धारा १६८ (१)अनुसार प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गरेको स्मरण गराउँदै विपक्षीले नयाँ सरकार गठनका लागि आह्वान गर्न निवेदन दिएका हुन् ।

निवर्तमान प्रदेश प्रमुख धर्मनाथ यादवले संविधान विपरित हुने गरी नेपालको संविधान, संसदीय शासन प्रणालीका आधारभुत मूल्य, मान्यता, मर्म, भावना र संवैधानिक परम्परा विपरित संविधानको जालसाजी प्रयोग गरी पोखरेललाई नियुक्ति र सपथ गराएको समेत विपक्षीले दावी गरेका छन् ।

विपक्षी गठबन्धनले दिएको निवेदनमा उल्लेख छ– ‘गत वैशाख १९ गते संविधानको जालसाजीपूर्ण प्रयोग गरी संविधानको धारा १६८ को १ बमोजिम मुख्यमन्त्रीमा पोखरेल नियुक्त हुँदा नेकपा एमाले संसदको बहुमत प्राप्त संसदीय दल नरहेको र त्यस पश्चात पनि एमालेमा तत्काल कायम रहेका दुईजना प्रदेशसभा सदस्यहरुले आफ्नो पदबाट राजीनामासमेत दिई सकेको भन्दै विपक्षी गठबन्धनले लुम्बिनी प्रदेशसभामा आजका मितिसम्म तत्काल कायम रहेका ८० जना प्रदेशसभा सदस्यमध्ये ३८ जनामात्र एमाले सांसद रहेको प्रस्ट पारेका छन् ।’

प्रधानन्त्रीबाट केपी शर्मा ओली हटेसँगै त्यसको प्रभाव प्रदेश सरकारहरुमा पनि परेको छ । काँग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले लुम्बिनी, गण्डकी र प्रदेश २ मा प्रदेश प्रमुख फेरिसकेको छ । लुम्बिनीमा नयाँ प्रदेश प्रमुखको रुपमा अमिक शेरचन आएसँगै सरकार परिवर्तनको खेल सुरु भएको छ । नयाँ प्रदेशप्रमुख आएसँगै मुख्यमन्त्री शंकर पोखरल संकटमा परेका छन् । सम्भवत अबको केही दिनमा लुम्बिनीमा नयाँ मुख्यमन्त्री चुनिने छन् ।

सोमबार नेकपा माओवादी केन्द्र, नेपाली काँग्रेस, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले प्रदेश प्रमुख समक्ष संयुक्त निवेदन दिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्