Logo
Logo

विमला वली एमालेमै फर्किइन्


दृष्टि संवाददाता


काठमाडौं । लुम्बिनी प्रदेश सभा सदस्य (सांसद) विमला खत्री वली नेकपा एमालेमै फर्किएकी छन् । आफू सूर्य चिह्नबाट निर्वाचित भएको भन्दै वली एमालेमै फर्किएको बताएकी हुन् ।

तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएकी वाली सर्वोच्च अदालतको फैसलाअनुसार पार्टी विभाज भएपछि उनी माओवादी केन्द्रतिर लागेकी थिइन् । उनले पत्रकार सम्मेलन नै गरेर दुवै पार्टी एक हुँदा नेकपाबाट चुनाव जितेको र माओवादीबाटै बढी सहयोग पाएकाले माओवादी रोजेको बताएकी थिइन् ।

सोमबार वलीद्वारा जारी विज्ञप्तिमा भनिएको छ– ‘मैले सूर्य चिह्नबाट चुनाव जितेको र अहिले सूर्य चिह्न एमालेको रहेकाले एमाले छाडेर माओवादी रोज्ने कुरा पनि कानुनी रुपमा ठीक नभएकाले एमालेमै रहेको स्पष्ट पार्न चाहन्छु’ उनले भनेकी छन्, नेकपा एमाले र माओवादी केन्द्र एकता भएपछि नेकपाको चुनाव चिह्नबाट म चुनावमा उम्मेदवार भएको हो । पार्टी विभाजनपछि म नेकपा एमाले संसदीय दलको बैठकमा उपस्थित भएको र पार्टी एक दाङ जिल्ला कमिटी सदस्यको हैसियतले समेत बैठकमा सहभागी भएकाले कुनै भ्रममा नपर्नुहुन सबैमा आग्रह गर्दछु ।’

२०७४ सालको प्रदेश सभा निर्वाचनमा दाङ क्षेत्रनम्बर ३ (ख)बाट निर्वाचित उत्तर कुमार ओलीको निधन भएपछि उपनिर्वाचन हुँदा उत्तरकी श्रीमती विमला नेकपा उम्मेदवारको रुपमा निर्वाचनमा उठेकी थिइन् । उनले कांग्रेसमा उम्मेदवार केशवराज आचार्यलाई ५ हजार १०४ मतान्तरले पराजित गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्