Logo
Logo

सशस्त्र प्रहरीमा हंगामा


दृष्टि संवाददाता


काठमाडौं । सशस्त्र प्रहरीमा आइजिपी शैलेन्द्र खनालले चिफ इन्सपेक्टर पद थप्नेसम्बन्धी प्रस्ताव अघि बढाएपछि संगठनभित्र व्यापक असन्तुष्टि देखिएको छ । संगठनमा छलफल नै नगरी हचुवाको भरमा यस्तो योजना बनाइएको भन्दै उच्च अधिकारी मात्र होइन इन्सपेक्टरहरु नै बेखुशी देखिएका छन् ।

सशस्त्रमा १६ वर्ष पुराना इन्सपेक्टरबाट डिएसपीमा बढुवा हुन सकेका छैनन् । २०६२ सालमा भर्ना भएकाहरु अझै इन्सपेक्टर नै छन् । २०६४ सालमा भर्ना भएकाहरु डिएसपी हुन २० वर्ष लाग्ने अवस्था छ । यो समस्या समाधानका लागि सशस्त्र प्रहरीमा लामो समयदेखि कुरा उठ्दै आएको छ । इन्सपेक्टर र डिएसपीको बीचमा चिफ इन्सपेक्टर पद सिर्जना गरेर समस्या समाधान गर्ने महानिरीक्षक खनालले प्रक्रिया अघि बढाएका छन् । तर, १६ वर्ष इन्सपेक्टर भएपछि डिएसपी हुने पालो कुरिरहेका अधिकृतलाई चिफ इन्सपेक्टर पद निल्नु र ओकल्नु हुने अवस्था देखिन्छ । यसले उनीहरुको मनोबल बढ्ने अवस्था छैन ।

‘एसपी र डिएसपीको दरबन्दी थप्नुको विकल्प छैन,’ एक सशस्त्र प्रहरी अधिकारी भन्छन्,‘चिफ इन्सपेक्टर पद अहिलेको अवस्थामा कुनै अर्थ छैन ।’ सशस्त्रको अहिलेको संरचनामा चिफ इन्सपेक्टर पद फिट नहुने अवस्था समेत भएको सशस्त्र प्रहरी अधिकारीहरु बताउँछन् ।

सरकारले यो वर्ष सीमा एक सय २० बिओपी थप्ने घोषणा गरिसकेको छ । त्यसका लागि चार हजार दुई सय थप जनशक्ति चाहिन्छ । त्यसरी जनशक्ति थप्ने बेलामा नै डिएसपी र एसपीको दरबन्दी थपेर नै समस्या समाधान गनुपर्ने पक्षका सशस्त्र प्रहरीका अधिकारीहरु छन् ।

तर, यस्ता नीतिगत विषयमा महानिरीक्षक खनालले आफ्नै सहकर्मीसँग छलफल समेत गर्दैनन् । पछिल्लो समय एकल रुपमा संगठन चलाउन खोज्दा उनी अलोकप्रिय हुँदै गएका छन् भने संगठनभित्र पनि गुटबन्दी बढेको छ । उता सशस्त्र प्रहरीमा डिएसपीबाट एसपीमा बढुवा हुँदा एसपीबाट एसएसपीमा कामु बढुवा भने रोकिएको छ । बढुवाको अन्तिम तयारी भइरहँदा सरकार फेरिएकाले अहिलेसम्म त्यसको टुंगो लागेको छैन । बढुवा हुने सूचीमा कुरा नमिल्दा बढुवा हुन नसकेको स्रोत बताउँछ ।

प्रतिक्रिया दिनुहोस्