Logo
Logo

नेपाल कोरियामैत्री नगर अस्पतालमा डायलासिस सेवा सुरु


756
Shares

भक्तपुर । मध्यपुरथिमि नगरपालिकाद्वारा सञ्चालित नेपाल कोरियामैत्री नगर अस्पतालमा मिर्गौला रोगीको उपचारमा सहज पु¥याउने उद्देश्यले डायलासिस सेवा सुरु भएको छ ।

अस्पताललाई रोटरी क्लब अफ साङ्ग्ली मिडटाउनको प्राविधिक सहयोग, रोटरी क्लब अफ जवलपुर वेष्टको आर्थिक सहयोग र रोटरी क्लब अफ मध्यपुरमार्फत् मध्यपुरथिमि नगरपालिकासँगको सहकार्यमा चार थान डायलासिस मेसिन हस्तान्तरण गरिएसँगै यो सेवा सञ्चालनमा आएको हो ।

अस्पताललाई बिहीबार क्लबले रु ४२ लाख नगरपालिकाले रु २० लाख गरी कूल रु ६२ लाख सहयोगमा ल्याइएका मेसिन अस्पताल व्यवस्थापन समितिका अध्यक्ष एवं नगर प्रमुख सुरेन्द्र श्रेष्ठ र रोटरी इन्टरनेशनल डिष्ट्रक ३२९२ का पूर्व डिजी किरणलाल श्रेष्ठले संयुक्तरूपमा हस्तान्तरण गरेका थिए ।

अस्पतालमा पहिलो पटक डायलासिस सेवा सञ्चालन गर्न पाउँदा खुसी लागेको भन्दै नगर प्रमुख श्रेष्ठले बताए । ‘जनताको स्वास्थ्यप्रति हामी सचेत छौँ, अस्पताललाई कोइकाले रु एक अर्ब सहयोग गरेको छ, केही वर्षभित्र अस्पताल विस्तार शय्याको सङ्ख्या दुई सय पु¥याउने छौँ’, उनले भने ।

अस्पतालमा आगामी दुई महिनाभित्र सिटिस्क्यान मेसिन सञ्चालन गर्ने र ब्लड बैंक सञ्चालन गर्ने उनले योजना सुनाए । ‘मध्यपुरवासीलाई स्वास्थ्यमा सहज पहुँच पु¥याउन प्रत्येक वडामा एक डाक्टर र एक नर्स परिचालन गरी ल्यावसहितको सहरी स्वास्थ्य क्लिनिक सञ्चालनमा ल्याउने छौँ’, उनले भने । उनका अनुसार अस्पतालमा सेवा विस्तारका लागि नगरपालिकाले रु तीन करोड बजेट विनियोजन गरेको छ ।

नगरपालिकाका उपप्रमुख विजयकृष्ण श्रेष्ठले यसअघि अस्पतालमा तलब खुवाउन नसक्ने अवस्था आएकोमा अहिले त्यो समस्या नरहेको बताए । नगरपालिकाले अस्पतालका लागि छुट्टै रु तीन करोड ५० लाखको कोष बनाएको उनको भनाइ छ ।

‘नगरबासी उपचारका लागि टाढा जान नपर्ने गरी सेवा विस्तार गरेका छाैँ, अहिले ५० शय्यामा रहेकोमा अब एक सय शय्यामा विस्तार गरी नर्सिङ र मेडिकल कलेजसमेत सञ्चालन गर्ने तयारी गरेका छौँ’, उनले भने ।

विसं २०६१ सालमा स्थापना भएको अस्पताल आजका दिनसम्म मिर्गौलाको बिरामीका लागि डायलासिस सेवा सञ्चालन गर्न पाउँदा निकै खुसी लागेको मेडिकल डाइरेक्टर डा डिके रौशनले बताए ।

अस्पतालमा ६ शय्यामा डायलासिस सेवा सञ्चालनका लागि तत्काल एक जना चिकित्सक, तीन जना नर्स र एक जना प्राविधिक गरी पाँच जना जनशक्ति परिचालन गर्दै दैनिक एक सिफ्टमा सञ्चालन गर्ने उनको भनाइ छ ।

‘अहिलेलाई एक सिफ्ट र एक महिनापछि दुई सिफ्टमा विस्तार गर्नेछौँ, त्यसपछि मेसिन पनि थपेर अझै सेवा विस्तार गर्दै जानेछौँ, अहिलेलाई भने बीमाबाट सेवा दिने र मन्त्रालयसँग सहमति लिएपछि सरकारको निःशुल्क कोटाबाट डायलासिस सेवा दिनेछौँ’, उनले भने ।

प्रतिक्रिया दिनुहोस्