Logo
Logo

डिआइजीमा चारजना प्रतिस्पर्धी



काठमाडौं । नेपाल प्रहरीभित्र डिआइजी बढुवामा रस्साकस्सी चल्न थालेको छ । अहिले रिक्त रहेको तीन र जेठमा रिक्त हुने एकसहित चार सिटका लागि रस्साकस्सी चल्न थालेको हो । वैशाख ७ गते दुई एआइजी सन्दीप भण्डारी र मिरा चौधरी तथा डिआइजी विकास खनालको अनिवार्य अवकाश भएको थियो ।

भण्डारी र चौधरीको स्थानमा उमेशराज जोशी र भीम ढकाललाई बढुवा सिफारिस गरेपछि तीन डिआइजी खाली भएको हो । यस्तै जेठको पहिलो हप्ता सुरेन्द्र मैनालीको अवकाशपछि चार सिट रिक्त हुनेछ । उनीहरुको स्थानमा त्रिभुवन विमानस्थलमा रहेका एसएसपी कृष्णहरि शर्मा पोखरेल एक जनाको बढुवा कन्र्फम भएपनि अन्यको हकमा भने उनीभन्दा पछिल्ला व्याचीहरुको प्रतिस्पर्धा चलेको छ ।

२०७७ माघमा एसएसपी भएका कृष्णहरि शर्मा पोखरेल तथा २०७८ मंसिरमा एसएसपी भएका ध्रुवराज राउत र भोलाबहादुर रावल डीआईजी बढुवाको लाइनमा छन् । यीमध्ये राउत र रावल वर्तमान आईजीपी बसन्तबहादुर कुँवरका भर्ना ब्याची हुन् । उनीहरु २०५१ चैतमा प्रहरीमा भर्ना भएका थिए । पोखरेल भने एआईजी दीपक थापाका भर्ना ब्याची हुन् । उनी २०५२ भदौमा भर्ना भएका थिए हाल विमानस्थल सुरक्षागार्ड प्रमुखका रुपमा थापाकै मातहतमा कार्यरत छन् ।

यी बाहेक २०७९ साउनमा एसएसपी भएका ३२ जना पनि बढुवाका लागि दावेदार छन् । उक्त टोलीमा पहिलो नम्बरमा रहेका गणेश चन्द वर्तमान आईजीपी कुँवरका भर्ना ब्याची हुन् । चन्दकी श्रीमती दुर्गा सिंह कुँवर यसअघि नै डिआइजी भैसकेकी छिन् । अन्य ३१ जना २०५३ पुस र २०५४ चैतमा भर्ना भएको टोलीका छन् ।

उनीहरु २०५३ पुसमा राष्ट्रिय अनुसन्धान विभागमा भर्ना भएको टोलीबाट २०५८ सालमा नेपाल प्रहरीमा स्थानान्तरण भएका थिए । सिद्धिविक्रम शाह, सुशीलसिंह राठोर, उमाप्रसाद चतुर्वेदीलगायत थुप्रै अधिकृत त्यतिबेला नेपाल प्रहरीमा समायोजन भएका थिए । तर, एसएसपीमा बढुवा हुँदा उनीहरुसँग नेपाल प्रहरीमा २०५४ चैतमा भर्ना भएको टोली पनि मिसिएको थियो ।

२०७९ साउनमा एसएसपी भएका ३२ जनामध्ये चन्दपछि शाह, राठोर र चतुर्वेदी क्रमशः शीर्ष तीनभित्र छन् । त्यसपछि क्रमशः रहेका दानबहादुर कार्की, मनोज केसी, राजन अधिकारी, जीवनकुमार श्रेष्ठ २०५४ चैतको भर्ना टोलीका हुन् । यीमध्ये शाहले ललितपुर प्रहरी प्रमुखका रुपमा काम गरिसकेका छन् । कार्कीले काठमाडौं प्रहरी प्रमुख र केसीले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रमुख रहेर काम गरेका छन् ।

यीबाहेक अन्यले यी चार वटा ठाउँमा काम गरेका छैनन् । श्रेष्ठले मानव वेचविखन नियन्त्रण व्यूरो प्रमुख भएर अहिले ट्राफिकमा कार्यरत छन् । डिआइजी बढुवामा अहिले पोखरेल र चन्दका अतिरिक्त कार्की र केसीलाई बढुवा गर्नुपर्ने आवाज प्रहरीभित्रबाटै आएको छ । आगामी नेतृत्वका लागि कार्यसम्पादन बढाउन पनि आवश्यक रहेको भन्दै प्रहरीभित्रबाट यस्तो आवाज आएको हो ।

प्रतिक्रिया दिनुहोस्