Logo
Logo

अझै रोकिएन ओलीको दम्भ


4.1k
Shares

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वामपन्थी एकता, ध्रुवीकरणप्रति औपचारिक रूपमै अनिच्छा प्रकट गरेका छन् । निश्चित दल, विचार या शक्तिलाई निषेध गर्ने गरी अगाडि बढाइने वामपन्थी एकता या समाजवादी ध्रुव या अन्य कुनै नाममा गरिने ध्रुवीकरण उचित, व्यवहारिक र लाभदायी हुने ओलीको निष्कर्ष छ ।

प्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजवादी मोर्चा र वामपन्थी एकताको सान्दर्भिकता उठाइरहेका छन् । एमालेसँग नयाँ गठबन्धन बन्दा वाम एकताको आधारको रुपमा अर्थाइएको थियो । प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीले एकीकृत समाजवादीलाई सरकारमा सहभागी गराउने क्रममा वामपन्थी एकताको आवश्यकता औँल्याएका थिए ।

तर, ओलीले गत शनिवार र आइतबार सम्पन्न राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को प्रथम बैठकमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै वाम एकताको प्रयासलाई खारेज गरिदिएका छन् । वाम एकताको अवस्थामा अहिलेजस्तो ओलीको मनपरीतन्त्र चल्न सक्दैन । अहिले एमालेमा भित्रभित्रै असन्तुष्टि चुलिए पनि ओलीलाई कसैले चुनौती दिन सकेका छैनन् । ओली व्यक्तिवादमा चलेका छन्, उनी आफूमाथि कसैले प्रश्न उठाउन नसकेकोस् भन्नेमा छन् । 

ओलीकै कारण विगतमा शक्तिशाली नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मात्रै होइन, एमालेसमेत विभाजित भएको थियो । २०७७ पुस ५ गते प्रतिनिधिसभा विघटन नगरेको भए अहिले पनि वामपन्थीको एकल सरकार हुने थियो । नेकपाकालीन पार्टी एकता र बहुमतको सरकार टिकाउन नसक्नुको परिणाम आज राष्ट्र र नेपाली जनताले भोग्नुपरिरहेको छ ।

कम्युनिष्ट घोषणापत्र लागू भएको भए अहिलेको अराजक स्थिति आउने थिएन । जनजीविकाका सवाल सम्बोधन हुनुका साथै विकास निर्माणका कामले गति लिने थिए । तर, ओली नेतृत्वको सरकारले जनतामा आशा र भरोसा जगाउने काम गर्न सकेन । ओलीमा आजीवन सत्तामा रहने महत्त्वाकाङ्क्षा जाग्यो । असंवैधानिक रुपमा संसद् भङ्ग गरिदिए । 

दलहरू र नागरिक समाज मिलेर आन्दोलन नगरेको भए देशमा अहिलेसम्म निर्वाचन हुने थिएन । ओलीको मनपरीतन्त्र हुन्थ्यो । ओली अहिले पनि आफूले विगतमा गरेको असंवैधानिक संसद् विघटनलाई सही साबित गर्ने प्रयासमा छन् । ओली प्रचण्डलाई प्रयोग गरेर फेरि संसद् भङ्ग गर्ने दाउमा छन् ।

प्रचण्डबाट सम्भव नभए कांग्रेससँग मिलेर भए पनि मिसन पूरा गर्ने रणनीति ओलीको छ । त्यसैले ओलीले राजनीतिक प्रतिवेदनमा कांग्रेससँग संवादको ढोका खुला राखेका छन् । कांग्रेस र एमालेका नेताहरू बीच नयाँ सत्ता सहकार्यबारे छलफल चलिरहेको बेला ओलीले प्रमुख प्रतिपक्ष कांग्रेसलगायत सबैसँग सार्थक संवाद गर्ने नीति लिएको छ ।

अघिल्लो गठबन्धन कायम रहेको भए एमाले अर्को निर्वाचनमा पनि सत्ताबाहिर हुने निश्चित थियो । त्यसैले ओलीले गठबन्धन भत्काउन हर सम्भव प्रयत्न गरे । उनले प्रचण्डलाई प्रयोग गरेर सत्ता गठबन्धन भत्काइदिए । ओलीले सत्तामा फर्किनुलाई विजयीको रुपमा लिएका छन् ।

घेराबन्दी, धक्का र षडयन्त्रको चक्रव्यूह चिर्दै अगाडि बढेको र अब लयमा फर्किने दाबी ओलीको छ । ओलीमा आत्म केन्द्रित स्वार्थी प्रवृत्ति र व्यक्तिवाद हाबी छ । विगतमा राप्रपासँग मिलेर निर्वाचन लडेका ओली आफ्नो स्वार्थका लागि जे पनि गर्न तयार हुन्छन् । विगतका कमी–कमजोरीबाट शिक्षा लिएर अगाडि बढ्नुपर्नेमा स्वार्थको दाउपेचले काम गरेको छ ।

पछिल्लो गठबन्धन बनेसँगै वामपन्थीहरूमा केही हदसम्म आशाको सञ्चार भएको थियो । एकीकृत समाजवादीले पनि वाम सहकार्यकै लागि नयाँ गठबन्धनलाई समर्थन गरेको थियो । तर, ओलीको पछिल्ला व्यवहार र लिखित दस्ताबेजले ओली सुध्रिँदैनन् भन्ने निष्कर्ष छ ।

प्रतिक्रिया दिनुहोस्