Logo
Logo

सेनाको कमाण्डमा कतारका राजालाई ‘अति विशिष्ट स्तर’को सुरक्षा

ड्रोनदेखि डग र सीसीक्यामेराबाट निगरानी



काठमाडौैं । आज (मंगलबार)देखि हुने कतारी अमिर (राजा) शेख तमिम बिन हमाद अल थानीको सुरक्षा जिम्मा नेपाली सेनालाई दिइएको छ ।

थानीको दुई दिने नेपाल भ्रमणको सुरक्षा सेनाका रथी अशोक सिग्देलको कमान्डमा विशिष्ट व्यक्ति सुरक्षा कार्यविधि, २०७५ मा व्यवस्था भएबमोजिम अति विशिष्ट स्तर (क श्रेणी) को सुरक्षा प्रदान गर्न लागिएको हो । सिग्देल नेपाली सेनाका प्रधानसेनापतिपछिका सर्वोच्च अधिकारी हुन् ।

सैनिक प्रवक्ता सहायक रथी गौरव कुमार केसीले कतारी राजाको सुरक्षाको मुख्य जिम्मेवारी नेपाली सेनाले सम्हाल्ने बताए ।
उनका अनुसार विशिष्ट व्यक्तिको क्लोज सेक्युरिटीमा सेनाको अति विशिष्ट व्यक्ति सुरक्षा निर्देशनालयबाट टोली खटिनेछ । बाहिरी सुरक्षामा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभाग खटिनेछ ।

कतारका राजा अमिर शेखको सडकमा सवारीका बेला सबैभन्दा अग्रभागमा प्रहरी वार्निङ मोटरसाइकल, प्रहरीको अगुवा जीप, १८ जना आउट राइडर्स, विशिष्ट व्यक्ति, विशिष्ट व्यक्तिको पछुवा कार, फेरि आउट राइडर्स र जगेडा कार समेत रहने छ ।
आपतकालीन अवस्थाका लागि एम्बुलेन्स, प्रहरी जीप, पछुवा कार पनि उनको सवारीका बेला साथमै रहनेछन् । सेनाका स्नाइपरदेखि बम डिस्पोजल टोली पनि तैनाथ रहनेछन् ।

प्रहरीबाट उनको सवारीका बेला उपत्यका प्रहरी प्रमुख एआईजी दिपक थापा आफैं खटिनेछन् भने सशस्त्र प्रहरी बलले उपत्यका हेर्ने पशुपतिप्रसाद बाहिनीका प्रमुख डीआईजी पुरुषोत्तम थापालाई खटाउँदैछ । सूचना संकलनका लागि राष्ट्रिय अनुसन्धान विभागको टोली पनि खटिनेछ ।

यसका अतिरिक्त नेपालस्थित कतारी दूतावासले परराष्ट्र मन्त्रालयसँग समन्वयमा छुट्टै सुरक्षा टोली पनि खटाउनेछ । राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा नपाल आउन लागेका विदेशी विशिष्ट पाहुनाको सुरक्षा व्यवस्थापनका लागि सैनिक मुख्यालय जंगीअड्डाको अतिविशिष्ट व्यक्ति सुरक्षा निर्देशनालयमार्फत पूर्वतयारी र रिहलसल पनि गरिएको थियो । आमिरको सुरक्षाका लागि उनी हिड्ने रुटमा ड्रोनदेखि, डग र सीसी क्यामेराहरुबाट पनि निगरानी गरिनेछ ।

कतारी राजा मंगलबार पौने ५ बजे काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिने भए पनि बिहानैदेखि चोक–चोकमा सुरक्षाकर्मीहरु परिचालन भइसकेका छन् । कतारका राजासहितको भ्रमण टोलीलाई सोल्टी होटलमा बस्ने व्यवस्था मिलाइएको छ ।

उनलाई स्वागत गर्न राष्ट्रपति रामचन्द्र पौडेल आफैं त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्नेछन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली सेनाले २१ तोपको सलामी अर्पण गर्ने छ ।

राष्ट्रपति रामचन्द्र पौडेलसँग आजै बेलुकी भेटवार्ता हुने छ । उनले बुधबकार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गर्नेछन् । त्यसपछि उनीहरुबीच नेपाल र कतारबीच द्विपक्षीय सम्झौता र समझदारी पत्रमा हस्तार गर्ने कार्यक्रम रहको छ । कतारको राजासहितको भ्रमण टोली बुधबार दिउँसो दुई बजे स्वदेश फर्किनेछ ।

प्रतिक्रिया दिनुहोस्