Logo
Logo

राजनीतिक नेतृत्व परिवर्तनको आवश्यकता


3.2k
Shares


कुनै पनि जीवन्त पार्टी/संगठनको असली पहिचान भनेको उक्त संगठनले गरिरहेको वर्तमान क्रियाकलाप हो । मानिसहरूले हिजो र भोलिको भन्दा पनि कुन राजनीतिक दलले आजको दिनमा के गरिरहेको छ ? भनेर नियाली रहेका हुन्छन् ।

हर कोहीलाई पार्टीको विगतबारे चासो र चिन्ता नहुन पनि सक्छ । जस्तो राणाविरोधी आन्दोलनको नेतृत्व गरेको नेपाली कांग्रेस र मुलुकका हरेक परिवर्तनकारी क्रान्तिमा सहभागी हुँदै आएको कम्युनिष्ट पार्टीको विरासत आजको पुस्ताको निम्ति महत्वको विषय नहुन सक्छ ।

आजको पुस्तालाई विगतको पाठले आकर्षित नगर्न सक्छ । त्यसैले विगतको व्याख्या र भविष्यको चिन्ताभन्दा पनि आजका नागरिकहरूले के सोचिरहेका छन् ? उनीहरूको अवस्था के छ ? राज्यबाट कस्तो खालको विकास चाहिरहेका छन् ? भन्ने खालका अनेकन् सवालहरूको जवाफ दिने पार्टी नै गतिशील र प्रगतिशील पार्टी हुन्छ । रहरलाग्दो, भरलाग्दो, असल र सफल पार्टी बनाउनका निम्ति आजको दिनमा केही महत्त्वपूर्ण काम गर्नुपर्ने हुन्छ ।

वर्तमान समयका नेताहरूले बोकिरहेको विचार र गरिरहेको व्यवहारले नै पार्टीको भविष्य निर्धारण हुन्छ । खासगरी पार्टी/संगठनका अध्यक्ष र महासचिवले कस्तो खालेको भाषण गर्छन्, कुन विचारलाई बढवा दिन्छन्, कुन कुरालाई बढी महत्त्व दिन्छन्, कस्ता खालका कार्यक्रममा भाग लिन्छन्, कस्तो खालको जीवनशैली बाँचिरहेका छन्, कस्ता खालका कार्यकर्तालाई बोकेर हिँडिरहेका छन्, कस्तो खालको रिपोर्टिङ सुन्छन् भन्ने खालका महत्त्वपूर्ण सवालहरूले पनि पार्टी÷संगठनको जीवनमा खास अर्थ राख्छन् ।

दुःखको कुरा आजको दिनमा विचार उत्पादनको काम ठप्प छ । आलोचनात्मक चेत भुत्ते बनेको छ । यसको मुख्य दोषी पहिलो पुस्ताका नेताहरू नै हुन् । जसले पार्टी र संगठन विचार, सिद्धान्त र विधिमा चल्नुपर्छ भन्ने आवाज उठाउँछ त्यो नेता कार्यकर्ता टंक कार्की, भीम रावल बन्नुपर्ने दुःखद अवस्था छ ।

यी सबै सवालहरू विचारसँग जोडिएका छन् । दुःखको कुरा आजको दिनमा विचार उत्पादनको काम ठप्प छ । आलोचनात्मक चेत भुत्ते बनेको छ । यसको मुख्य दोषी पहिलो पुस्ताका नेताहरू नै हुन् । नयाँ कुरा सोच्ने गर भन्नुपर्ने ठाउँमा कार्यकर्तालाई आफ्ना नालायकीहरू ढाकछोप गर भनेर निर्देशन दिइरहेका छन् । अनि कसरी विचार जन्मिन्छ ? कसरी आशा लाग्दा नेताहरूको जन्म हुन्छ ? सम्भावना बोकेका युवाहरूलाई किनारा लगाउने, यो वा त्यो बहानामा पार्टीबाट निकाल्ने काम भइरहेका छन् ।

पच्दैन आलोचना
अर्कोतर्फ, वर्तमान नेतृत्व आलोचना सुन्नसमेत सक्दैन । आफ्नाविरूद्ध उठेका सवालहरूप्रति आत्मालोचना गर्दै सुध्रिने र आलोचनाका निम्ति आलोचकलाई धन्यवाद भन्ने राजनीतिक संस्कार छैन ।

अस्तित्वमा रहेका कुनै पनि राजनीतिक दलका मुख्य नेताहरू, दोस्रो पुस्ताका नेताहरू कोही कसैले आलोचना गरेको मन पराउँदैनन् । जसले पार्टी र संगठन विचार, सिद्धान्त र विधिमा चल्नुपर्छ भन्ने आवाज उठाउँछ त्यो नेता कार्यकर्ता टंक कार्की, भीम रावल बन्नुपर्ने दुःखद अवस्था छ ।

हरेक कम्युनिष्ट पार्टीभित्र विचारमा बाँचिरहेका नेताहरू, आलोचनात्मक चेत बोकेका कार्यकर्ताहरू बिस्तारै किनारा लागिरहेका छन् । असली नेता कार्यकर्ताहरूको पलायन रोक्नेभन्दा पनि शीर्ष नेताहरू सीमित कोठरीमा रमाउने र उनीहरूका कुरा सुन्ने गरिरहेको देखिन्छ ।

कम्युनिष्ट पार्टीका हर कोही नेतृत्व आज दलाल, बिचौलिया, धनाढ्य, हुनेखाने वर्गको कित्तामा पुगेका छन् । पैसाले सबैथोक हुन्छ भन्नेहरूले पार्टीमा बलियो पकड जमाउँदै गएका छन् । जो कम्युनिष्ट आन्दोलनका निम्ति गम्भीर संकेत हो ।

नेतृत्व हस्तान्तरणको सवाल
पुष्पलालको नेतृत्वमा सुरु भएको कम्युनिष्ट आन्दोलन आज प्रयत्न जसोतसो चलिरहेको छ । कम्युनिष्ट पार्टी नामका अनेकन् पसलहरू छन् । कम्युनिष्ट पार्टीका थुप्रै असल नेताहरू छन् । मुलुकको परिवर्तनका खातिर उनीहरूको ठूलो योगदान रहेको छ ।

खास गरी २०४६ सालको परिवर्तनपछि आजको दिनसम्म नेतृत्वमा रहेका नेताहरूले मुलुकलाई महत्त्वपूर्ण उचाइमा पु¥याएका छन् । १० वर्षे जनयुद्ध, मधेस विद्रोह, दोस्रो जनआन्दोलन, शान्ति प्रक्रियाजस्ता संवेदनशील विषयमा माधवकुमार नेपाल, झलनाथ खनाल, पुष्पकमल दाहाल ‘प्रचण्ड’, वामदेव गौतमलगायतका नेताहरूको महत्त्वपूर्ण भूमिका रहेको छ ।

गणतन्त्र घोषणा भएपछि मुलुकले अनेकन् असहजता खेप्नुपरेको छ । देशी÷विदेशी शक्तिहरूले खेल्दा खेल्दै पनि माथि उल्लेखित नेताहरूले आफ्नो बलबुताले निर्णय गरेका छन् ।

जस्तो नेपालको नेतृत्वमा लडाकु व्यवस्थापन र अनमिन बिदाइ गर्ने कुरा चानचुने विषय थिएन । हरहालतमा अनमिन फिर्ता हुनुपर्छ भनेर तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालले प्रयास नगरेको भए हाम्रो मुलुकको हालत सिरिया, अफगानस्तानको जस्तो हुनसक्थ्यो ।

माओवादीलाई युद्धबाट शान्तिपूर्ण राजनीतिमा ल्याउन र संसद् विघटनविरुद्ध नेपालको नेतृत्वमा भएको विद्रोह मुलुक र जनताको निम्ति थियो । त्यस्तै सम्मानित नेता झलनाथ खनालले समाजवादी कार्यक्रमको खाका कोर्नुभएको छ । यसलाई गतिशील, प्रगतिशील र थप समृद्ध बनाउनका निम्ति दोस्रो पुस्ताका नेताहरू तयार बन भनेर उत्साहित गरे उहाँको नाम पनि इतिहासमा उत्तिकै महत्वका साथ लेखिनेछ ।

एमालेका अध्यक्ष केपी ओलीले २० वर्षसम्म पार्टी अध्यक्षको कुर्सीतिर आँखा नलगाऊ भनिरहेको बेला, माओवादी अध्यक्ष प्रचण्डले विगत ३५ वर्षदेखि पार्टी सत्तामा राज गरिरहेको बेला एकीकृत समाजवादीमा पुस्तान्तरण भयो भने साँच्चै नौलो हुनेछ । दोस्रो र तेस्रो पुस्ता नेताहरूले नयाँ प्रविधिको हतियार उठाएर लड्ने, भिड्ने, सिक्ने र जित्ने मौका पाउनेछन् ।

होइन, बाँचुञ्जले हामीबाहेक कसैले नेतृत्व गर्न पाउँदैनौ । हाम्रो पालो सकिएको छैन भन्ने लाग्छ भने वर्तमान समयमा देखिएका नयाँ भनिएका विचारहिन समूहका उम्मेदवारसँग चुनावमा पराजित हुनुपर्ने दिन नआउला भन्न सकिन्न ।

रूपान्तरण, पुस्तान्तरण र हस्तान्तरणबाट भागेर पार्टी सत्ता र राज्य सत्ताको लोभ पालिरहने हो भने लेखिएकै इतिहासप्रति पनि जनविश्वास घट्ने छ । यसतर्फ ध्यान दिँदै रूपान्तरणसहितको पुस्तान्तरण गर्दा व्यक्तिगत र दलगत फाइदा हुनेछ ।

दोस्रो पुस्ताले पनि अब हामी तयार भइसक्यौँ । तपाईँहरू आराम गर्नुहोस् । हामीलाई सल्लाह दिनुहोस् भन्न सक्नुपर्छ । केही युवा नामका निरपेक्ष र भुत्ते चेत भएकाहरूले माधव, झलनाथ, प्रचण्ड, केपी ओली नै निर्विकल्प नेता हुन्, उनीहरू बाहेकले नेतृत्व गर्न सक्दैनन् भन्न सक्छन् ।

तर, आजको अवस्था र आवश्यकताबारे ठोस् विश्लेषण गर्न सक्ने युवाहरूले अब बाटो खाली गर्नुहोस् भन्नेछन् । धन्यवाद दिएर अगाडिको जिम्मेवारी हामी बहन गर्छौँ भन्छन् । भनिरहेका छन् ।

केपी, प्रचण्ड, माधव, झलनाथको नाम भजाएर पालित पोषितहरूले दिने सल्लाह भनेकै तपाईँबाहेक कोही हुँदैन भन्ने नै हो । एउटा असल र राजनेताहरूले समयमै आफ्नो उत्तराधिकारी जन्माउँछ भनेर भन्ने ल्याकत ती निरपेक्ष चेतमा बाँचिरहेकाले राख्दैनन् ।

मुलुक र नेतृत्वको दिगो भलाइका निम्ति असल सुझाव दिने कार्यकर्ताहरूको हरेक पार्टीमा खडेरी र संकट छ । कार्यकर्ता नामका लम्पट, चम्चे र दासहरूका गलत रिपोर्टिङदेखि नेताहरू सावधान रहनुपर्छ । राजा ज्ञानेन्द्रको शासन कमल थापा र भेषबहादुर थापाका कारण अस्वभाभिक पतन भएको कुरा हेक्का हुनुपर्छ । पार्टी सत्ता र राज्य सत्ताको दुरुपयोग गर्नेहरू सकिएर गएको इतिहास छ ।

अन्त्यमा, खास गरी वैचारिक र सैद्धान्तिक रूपमा एकीकृत समाजवादी ठिक ठाउँमा छ । अब सांगठनिक रूपमा बलियो बनाउन, कम्युनिष्ट आन्दोलनको मूल प्रवाह हो भनेर पुष्टि गर्न नयाँ नेतृत्वको आवश्यकता छ ।

रवि लामिछाने जस्ता विवादित छवि भएकाले नेतृत्व गरेको पार्टीसँग अपेक्षा राखिरहेका जनताहरूले घनश्याम भुसाल, रामकुमारी झाँक्री, प्रकाश ज्वाला, जगन्नाथ खतिवडा, डा.गंगालाल तुलाधर जस्ता नेताहरूले पार्टीको नेतृत्व गर्ने हो भने अवश्य पनि एकीकृत समाजवादीप्रति जनलहर बढ्ने देखिन्छ । नयाँ आशावादको जन्म हुनेछ ।

माधव—झलनाथ जस्ता इतिहास बोकेका नेताहरूका निम्ति आगामी महाधिवेशन सुरक्षित अवतरण गर्ने मौकासमेत हो । कुनै पार्टीसँग विलय गराउने र खिइदै जानेभन्दा पनि नयाँ पुस्तालाई ल तिमीहरूले नै गर भन्दा राम्रो हुनेछ ।

रूपान्तरणसहितको पुस्तान्तरण र हस्तान्तरण आजको आवश्यकता हो । आलोचना गर्ने कार्यकर्तादेखि नेतृत्व भयातुर हुनुपर्ने कुनै कारण छैन । एकीकृत समाजवादीभित्र मात्रै होइन, हरेक पार्टीभित्र पुस्तान्तरणको मुद्धा भुसको आगो जसरी सल्किरहेको छ । विचार उत्पादन/पुनरोत्पादनलाई बढवा दिने नेतृत्व र समयको सुझाव, आलोचना र खबरदारी गर्ने कार्यकाले मात्रै लोकतन्त्रलाई बलियो बनाउन सक्छन् । चेतना भया ।

प्रतिक्रिया दिनुहोस्