
काठमाडौं । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिकामा मानव तस्करी गरेको आरोपपछि फरार रहेका बेचन झा र पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’ का छोरा प्रतीक थापा पक्राउ परेपछि छानिछानी नेपाल प्रहरीको माथिल्लो तहका अफिसरहरू सरुवामा पर्न थालेका छन् ।
त्यसो त विशेष ब्युरोका प्रमुख मनोज केसी सरुवा हुनु नौलो कुरा होइन । नक्कली भुटानी शरणार्थी काण्डमा बालकृष्ण खाँण पक्राउ परेपछि एआईजी श्याम ज्ञवाली र काठमाडौं परिसरका प्रमुख दानबहादुर कार्कीलगायत उक्त ‘केश’को अनुसन्धान गरिरहेका प्रहरीहरूलाई सरुवा गरिएको थियो ।
त्यतिबेला पनि खाँण पक्राउ पर्दा आईजी कुँवरले चेनअफ कमान्ड तोडेको आरोपमा ज्ञवालीलाई सरुवा गरेका थिए । आफूलाई नसोधी किन खाँणलाई पक्राउ गरेको भन्ने आक्रोश आईजी कुँवरको थियो । अहिले बेचन झा पक्राउ पर्दा पनि आफूलाई किन जानकारी नदिएको भन्ने झोँकमा डिआईजी केसीलाई सरुवा गरेपछि नक्कली भुटानी शरणार्थी काण्डमा कुँवर पनि संलग्न छन् कि भन्ने आशंका उठेको छ । नभए नक्कली भुटानी शरणार्थी काण्डमा अभियुक्तहरूलाई पक्राउ गर्ने प्रहरी अधिकृतहरूलाई पुरस्कृत गर्नुको बदला किन कारबाही गरिँदैछ ।
प्रहरीको ‘चेन अफ कमान्डको पालना नगरेको’ ‘कथित’ आरोप लगाउँदै गृहमन्त्री रमेश लेखक र आइजिपी वसन्त कुँवरले प्रहरीमा सरुवा आतंक सुरु गरेका छन् । अब कुनै प्रहरीले यो मामिलामा हाल हाल्ने आँट गर्ने छैनन् । यही मौकामा नेपाल प्रहरीका डिआइजी मनोज केसीको सरुवा भइसकेको छ । नेपाल प्रहरीको विशेष ब्युरोमा कार्यरत केसीलाई प्रहरी एकेडेमीमा पु¥याएको छ ।
केसीको स्थानमा ब्युरोमा डिआइजी राजन अधिकारीलाई ल्याइएको छ । यसअघि ब्युरोकै विशेष पहलमा झा र थापालाई भारतबाट पक्राउ गरी काठमाडौं ल्याइएको थियो । गृह मन्त्रालयले दुई महिना नपुग्दै डिआइजी फेरिनुको अरू कुनै कारण, कमजोरी वा औचित्य पुष्टि गर्न सकेको छैन ।
गृह मन्त्रालयको जिम्मेवारी सम्हालेको छोटो समयमै गृहमन्त्री लेखकले विना कारण मन्त्रीस्तरीय एकल निर्णयबाट डिआइजी केसीलाई जिम्मेवारीबाट हटाएका हुन् । केसीलाई नेपाल प्रहरीमा अनुभवी र योग्य अफिसरका रूपमा चिनिन्छ ।
गत जेठमा एसएसपीबाट डिआइजीमा बढुवा भएपछि केसीले ब्युरोको जिम्मेवारी समाल्दै आएका थिए । केसी काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय प्रमुख हुँदा नक्कली भुटानी काण्डमा पहिलोपल्ट अनुसन्धान अगाडि बढाइएको थियो ।
उनैको नेतृत्वमा आरोपीलाई पक्राउ गर्ने आँट गरिएको थियो । केसीकै टिमले बेचन झालाई समेत पक्राउ गरेपछि गृहमन्त्रीको तारो बनेको स्रोतको दाबी छ । भारतीय प्रहरीले झा र थापालाई पक्राउ गरेर विशेष ब्युरोसँग समन्वय गरी नेपाल पठाएको थियो ।
गृहमन्त्री लेखक कांग्रेस सभापति शेरबहादुर देउवा र परराष्ट्रमन्त्री आरजु राणाको जोडबलमा गृहमन्त्री बनेको जगजाहेर भइसकेको छ । केसीको सरुवापछि निर्देशित र पूर्वाग्रही सरुवा गरिएको भन्दै संसदमा समेत प्रश्न उठ्यो ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद हरिप्रसाद ढकालले आइतबार प्रतिनिधि सभामा आकस्मिक समय लिएर डिआइजी केसीलाई सरुवा गरेर सरकारले नयाँ सत्ता गठबन्धन बन्नुको औचित्य पुष्टि गरेको आरोप लगाए ।
ठूला नेता जोगाउन कांग्रेस र एमालेले अघिल्लो सरकारले सुशासनको पक्षमा गरिरहेका काम र भ्रष्टाचारविरुद्धका अनुसन्धान रोक्न खोजेको दाबी ढकालको थियो । वर्तमान सत्ता गठबन्धन नै यसैका लागि बनेको दाबीसमेत उनले गरे ।
सांसद ढकालले कांग्रेस–एमालेलाई लक्षित गर्दै भनेका थिए, ‘यो गठबन्धन कुन उद्देश्यले बनेको भनेर हामीले भनेका थियौँ, त्यो अब पुष्टि भयो । सरकारले सदनबाट विश्वास पाएको केही दिनमै अब्बल राष्ट्रसेवक कर्मचारी डिआइजी मनोज केसीको सरुवा गरिनु त्यसैको कारण हो ।’ आकस्मिक समयमा ढकालको भनाइ यतिमा मात्र सीमित भएन ।
उनले अनुसन्धान गर्नुपर्नेलाई मन्त्री बनाइएको भन्दै ठूला दलको कडा प्रतिवादसमेत गरे । सरकारबाट बाहिरिँदै गर्दा माओवादी सरकारका निवर्तमान अर्थमन्त्री वर्षमान पुनले समेत सत्ता गठबन्धनमा आएको संकटसँग बेचन झा पक्राउ प्रकरण मुख्य कारक भएको दाबी किटानी गरेका थिए ।
झाको कांग्रेसमा देउवा पत्नी डा.आरजुसँग मात्र नभै कृष्णप्रसाद सिटौला, विमलेन्द्र निधि र बालकृष्ण खाँणसम्म राम्रो सम्बन्ध रहेको भनाइसमेत कांग्रेस वृत्तबाटै जानकारीमा आएको छ । एमालेका नेतासँग समेत झाको राम्रो उठवश रहेको भनाई समेत बाहिरिएको छ ।
शरणार्थी काण्डमा बिचौलियाबाट दुई करोड बुझेको चेकसहित सबुद प्रमाण हुँदाहुँदै झालाई जोगाउन प्रहरी महानिरीक्षक कुँवर तल्लीन रहेको भनेर प्रश्न उठिरहेका बेला उनी विदेश गएका बेला केसीले पक्राउ गर्न सफल भएका थिए ।
त्यही कारण पछिल्लो समय केसीको प्रहरी महानिरीक्षक कुँवरसँग पनि सम्बन्ध बिग्रिएको बताइन्छ । डिआइजीमा बढुवा भएपछि केसी विशेष ब्युरोमा पदस्थापन गरिए पनि सरकार परिवर्तन भएसँगै पहिलो निशानामा परे । धेरै भिआइपीको संलग्नताबारे सूचनाका लागि महत्त्वपूर्ण ठानिएका बेचन झामाथिको अनुसन्धान विचाराधीन रहेको अवस्थामा केसीको हठात् सरुवा भएको छ ।
गृह मन्त्रालय स्रोतले जनाएअनुसार केसीको सरुवापछि गृहमन्त्री लेखकले सीआईबी प्रमुख एआईजी श्यामलाल ज्ञवाली र काठमाडौँ प्रहरी प्रमुख एसएसपी वसन्त रजौरेलाई पनि सरुवा गर्ने तयारी भइरहेको छ । झा र थापा समातिएपछि नेपालको सत्ता समीकरण नै फेरिएको भनाइसमेत बाहिरिएको छ ।
यता, सर्वोच्च अदालतले समेत नक्कली भुटानी शरणार्थी काण्डमा पक्राउ परि अनुसन्धानका लागि थुनामा रहेका बेचन झालाई रिहा गर्ने आदेश दिन अस्वीकार गरेको छ । सर्वोच्चका न्यायाधीश टेकप्रसाद ढुङ्गानाको इजलासले गत विहीबार झाको बन्दी प्रत्यक्षीकरण निवेदन खारेज गर्दै शुरुमै राखेर छानबिनका लागि मार्गप्रशस्त गरिदिएको थियो ।
हाल जिल्ला अदालतको अनुमति लिएर झालाई अनुसन्धानका लागि थुनामा राखिएको छ । झासँग कांग्रेसका नेता मात्र नभएर एमालेका माथिल्लो तहका नेताको समेत सम्बन्ध रहेको भन्दै चर्चा चलिरहेका बेला सर्वोच्चको आदेशपछि भुटानी काण्ड थप टाउको दुखाई भएको बुझ्न कठिन छैन ।
झालाई संगठित अपराधमा अनुसन्धानका लागि पटक पटक म्याद थप गरेर थुनामा राखिँदै आएको छ । सर्वोच्चको रिट खारेजी फैसलापछि अब काठमाडौं जिल्ला अदालतले झाको विषयमा मुद्दाको टुंगो लगाउने छ । नक्कली शरणार्थी काण्डमा झाविरुद्ध पूरक अभियोग पत्र दर्ता गर्ने तयारीमा प्रहरी छ ।
झाले बयानमा पोलेका आधारमा ‘लहरो तान्दा पहरो थर्किने’ अवस्था देखिएको छ । सम्भावित खतराबाट बच्न प्रहरीमा ठाडो पजनी सुरु भएको हो । शरणार्थी काण्डमा पक्राउ परेका विचौलियामध्येका एक रामशरण केसीले मन्त्रिपरिषद्बाट निर्णय गराउनका निम्ति २ करोड मागेको आरोप झाविरुद्ध लगाएका छन् ।
केसीले आफूले दुई करोडमा चेकसमेत दिएको सबुद प्रहरीलाई दिएका छन् । नेपालीलाई नक्कली भुटानी बनाएर अमेरिका पठाउने योजनामा मन्त्रिपरिषद्बाट निर्णय गराउने जिम्मा झाले लिएका थिए । अदालतको फैसलाअनुुरुप जेलमा रहेका निलम्बित गृह सचिव टेकनारायण पाण्डेले पनि अदालतमा दिएको बयानमा झालाई पोलेका छन् । झालाई बिचौलियाका मुख्य नाइकेका रुपमा हेरिँदै आएको छ ।