Logo
Logo

योगेश भट्टराईका कारण संसद्मा हंगामा


2.5k
Shares

काठमाडौं । नेकपा एमालेका सांसद योगेश भट्टराईले देशमा १० वर्षे माओवादी हिंसा नभएको भए देश ०६५ सालमा लोडसेडिङमुक्त हुने भनेपछि संसदमा हंगामा मच्चिएको छ ।

बुधबार प्रतिनिधिसभाको विशेष समयमा बोल्ने क्रममा सांसद भट्टराईले माओवादी हिंसा नभएको भए नेपालको विद्युतमा योभन्दा ठुलो क्रान्ति हुने बताएका थिए ।

भट्टराईले माओवादी हिंसाका कारण देश उर्जा उत्पादनमा पछि परेको भनेपछि माओवादीले आपत्ति जनायो । माओवादीका सांसद माधव सापकोटाले नियमापत्ति जनाए । उनले सांसद भट्टराईले गैरसंसदीय र अमर्यादित शब्द प्रयोग गरेको दाबी गरे ।

तर, सभामुख देवराज घिमिरेले सांसद सापकोटालाई रोकेर भट्टराईलाई नै बोल्न निरन्तरता दिएपछि माओवादीका सांसदहरुले विरोध जनाएका छन् । माओवादीका सांसदहरुले बोल्न नदिएपछि सांसद भट्टराईले आफूलाई बोल्न नदिनु पनि हिंसा नै भएको तर्क गरे ।

त्यसपछि माओवादीका सांसद देवेन्द्र पौडेलले नेपालको शान्ति प्रक्रियालाई तलमाथि गर्ने नैतिक धरातल अहिलेको संविधानले नदिने बताए । उनले आक्रोशित हुँदै भने, ‘उहाँले बोल्नुभएको शब्द रेकर्डबाट हटाउन माग गर्छु ।’

पौडेलले बोलेपछि योगेशलाई सभामुखले समय दिए पनि माओवादीले विरोध कायमै राखेपछि दुवै पार्टीका सांसद आरोप प्रत्यारोपमा उत्रिए । माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले संविधानले हिंसा नभनेको भन्दै माओवादी जनयुद्धको अपमान गर्न नहुने बताए ।

त्यसपछि भट्टराईले बोल्दा फेरि माओवादीका सांसदले हिंसा शब्द रेकर्डबाट हटाउन माग गरेपछि भट्टराईले निहत्था मान्छेको हत्या गर्ने र अपहरण गर्ने काम हिंसा नै थियो भनेर प्रतिवाद गरे । एमालेका रघुजी पन्तले जनयुद्धमा मान्छे मारिनु हिंसा थियो भन्दै हिंसा शब्द प्रयोग गर्नु असंसदीय नरहेको बताए ।

सभामुखले माओवादीका सांसद रणेन्द्र बरालीलाई विशेष समयमा बोल्न दिए पनि उक्त पार्टीका सांसदले भने हिंसा शब्द नै हटाउनुपर्ने भन्दै सदन चल्न अवरोध सिर्जना गरेका छन् । सभामुखले पौडेललाई बोल्न समय दिएपछि सत्तापक्षका सांसदहरु उठेर ससदनमा होहल्ला गरेका थिए ।

सांसद पौडेलले संविधान प्रतिकूल हुने शब्द प्रयोग गर्न नपाइने चेतावनी दिए । दुवै पक्षका सांसदहरु उठेर होहल्ला गरेपछि सभामुखले संसदको मर्यादालाई ख्याल गर्न आग्रह गरे ।

उनले भने, ‘हिंसा भन्ने शब्द कसरी प्रयोग भएको छ, त्यो संवैधानिक छ कि असंवैधानिक भन्ने कुरामा बहस छलफल गर्न सकिन्छ । तर, संसदको मर्यादालाई ख्यालमा राखेर गतिविधि अगाडि बढाउनु हाम्रो कर्तव्य हो ।’

त्यसपछि सभामुखले योगेशलाई बोल्न समय दिएपछि माओवादी सांसदहरुले उठेर विरोध जनाइरहे ।

माओवादीका प्रमुख सचेतक हितराज पाण्डले भने, ‘यहाँ न त दिएको समयको पालना गरिएको छ । न भाषा त्यस्तो प्रयोग गरिएको छ । त्यसैले यहाँ प्रयोग भएको भाषा हाम्रो संविधान अनुसार प्रयोग भएको छैन । त्यसैले हिंसा शब्द रेकर्डबाट हटाउन अनुरोध गर्छु ।’

माओवादीको आपत्तिपछि हिंसा शब्द प्रयोग अवस्था हेरेर छानबिन गरेर हटाउन सभामुखले सचिवालयलाई निर्देशन दिए ।

प्रतिक्रिया दिनुहोस्