काठमाडौं । काठमाडौं महानगरपालिकाले ७ वटा सहकारीलाई कारबाही गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा पत्र पठाएको छ ।
महानगरले ४० वटा विभिन्न सहकारी संस्थाहरूको अनुगमन गर्दा ७ वटालाई अनुसन्धान र कारबाही गर्नुपर्ने देखिएको भन्दै थप प्रक्रियाका लागि सीआईबीलाई पत्राचार गरेको हो । महानगरले २०८० को चैत १६ देखि गत असार ७ गतेसम्म महानगरभित्रका सहकारीहरूको अनुगमन गरेको थियो ।
अनुगमनपछि तयार पारिएको प्रतिवेदनका आधारमा उक्त सहकारीहरूमध्ये ६ वटा बचत तथा ऋण सहकारी संस्था र एउटा बहुउद्देश्य सहकारीमा कैफियत देखिएपछि कारबाहीका लागि प्रक्रिया अगाडि बढाइएको महानगरले जनाएको छ ।
जसमा बचत तथा ऋण सहकारी संस्थातर्फ सुमेरु, स्क्वायर, रुरल डिभलेपमेन्ट, सत्कार, महाबौद्ध र नमो हारती रहेका छन् । यसैगरी थप एक आधारभूत बहुउद्देश्य सहकारी संस्था रहेको छ ।
बचत संकलन, संकलित रकम परिचानल, ऋण प्रवाह तथा लगानीका विषयमा थप अनुसन्धान गर्नुपर्ने भएकाले अनुसन्धानका लागि सीआईबीलाई पत्राचार गरिएको महानगर सहकारी विभाग प्रमुख ध्रुवकुमार काफ्लेले जानकारी दिए ।
काठमाडौं महानगरपालिका सहकारी ऐन २०७४ बमोजिम कसुरको गाम्भीर्यता हेरी अधिकतम पाँच लाख रुपैयाँसम्म जरिवाना र अधिकतम १० वर्षसम्म कैद सजाय हुने व्यवस्था छ ।