काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले भारतको ओडिसास्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी) विश्वविद्यालयको होस्टेलमा नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु र त्यसपछि विकसित घटनाका विषयमा ओडिसाका उच्च शिक्षा मन्त्रीसँग टेलिफोनमा कुराकानी गरेकी छिन्।
मन्त्री डा. राणाले ओडिसाका उच्च शिक्षा मन्त्री सूर्यवंशी सुरजसँग लम्सालको मृत्युको निष्पक्ष अनुसन्धान र दोषीमाथि कानुनी कारबाहीका साथै त्यहाँका नेपाली विद्यार्थीहरुलाई कलेजमा सुरक्षित वातावरणसहित पठनपाठनको व्यवस्थाका लागि आग्रह गरिन् ।

फोन संवादमा भारतीय मन्त्री सुरजले उक्त घटनालाई ओडिसा राज्यले गम्भीर रुपमा लिएको र प्रकृतिलाई न्याय र दोषीमाथि कारबाहीका लागि उच्चस्तरीय छानबीन समिति गठन गरिएको जानकारी गराएका थिए ।
उनले त्यहाँ रहेका नेपाली विद्यार्थी र अभिभावकहरुलाई आवश्यक पर्ने परामर्शका लागि अलग्गै हटलाइनको व्यवस्था गरिएको र घर गएका नेपाली विद्यार्थीहरुलाई होस्टलमा फर्काएर पठनपाठनको व्यवस्था मिलाइएको जानकारी मन्त्री डा. देउवालाई गराएका थिए ।
त्यस्तै मन्त्री सुरजले कलेजमा नेपाली विद्यार्थीमाथि दुव्र्यवहार गर्ने कर्मचारीलाई बर्खास्त गरी कानुनी कारबाही अघि बढाइएको र नेपाली विद्यार्थीलाई सुरक्षित रुपमा होस्टेलमा रहेर पठनपाठन गर्न सक्नेगरी सुरक्षाको प्रबन्ध गरिएको जानकारी पनि दिएका थिएका छन् ।
कुराकानीका क्रममा मन्त्री सुरजले भारत र नेपालको सम्बन्ध विशिष्ट खालको रहेको र यो सम्बन्धलाई आगामी दिनमा पनि अहिले जस्तै सुमधुर बनाउँदै लगिने बताए । यस घटनाका सन्दर्भमा परराष्ट्र मन्त्रालय र नेपाली राजदूतावास नयाँ दिल्लीले विश्वविद्यालय प्रशासन र भारतीय सुरक्षा अधिकारीको सम्पर्कमा रहेर आवश्यक समन्वयका साथ काम गरिरहेका छन् । हिजो मात्र नेपाली विद्यार्थीलाई कलेजमा सुरक्षाको वातावरण मिलाउने सन्दर्भमा नेपाली राजदूताबास नयाँ दिल्लीबाट कूटनीतिक कर्मचारी त्यहाँ पुगेका छन् भने भारतका लागि नेपाली राजदूत डा. शंकर शर्माले कलेज प्रशासनसँग कुराकानी गरेका छन् ।