काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले सरकारले चाहे पूर्वराजा ज्ञानेन्द्र शाहलाई नागार्जुनबाट समेत हटाइदिन सक्ने बताएका छन् ।

मंगलबार नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश सम्मेलनलाई सम्बोधन गर्दै सिटौलाले भने, ‘सरकारकै निर्णयले नागार्जुन निवास उहाँलाई तत्कालिन अवस्थामा बस्न दिएको छ । सरकारले चाहे अहिले त्यहाँबाट हटाइदिन सक्छ ।’
उनले पूर्वराजा ज्ञानेन्द्रलाई सरकारले सुरक्षा दिइरहेको पनि बताए । ‘सरकारले नै (पूर्वराजा ज्ञानेन्द्रको) सुरक्षाको बन्दोबस्त गरेको छ । त्यसैले यो बारेमा धेरै चर्चा गर्नु जाती होइन,’ उनले भने ।
नेता सिटौलाले पूर्वराजा पक्षधरको प्रदर्शनले पक्षधरको प्रदर्शनले आत्तिनुपर्ने अवस्था नरहेको बताए । ‘१५/२० हजार मान्छे सडकमा आउनु, चाहियो भन्नु यो कुनै ठूलो कुरा होइन । यसका बारेमा धेरै चर्चा गर्नु उपयुक्त हुन्छ जस्तो मलाई लाग्दैन,’ उनले भने ।
‘मैले आफैंले गएर करिब एक घण्टा बसेर सम्झाइ बुझाइ गरेर बाहिर पठाएको हुँ र मैले बुझेको छु उहाँ (ज्ञानेन्द्र शाह) कुन ताकतको मानिस हुन ? यो (राजसंस्था) फर्किर आउँदैन । अन्त्य भएको कुरा हो । धेरै चर्चा गरेर हामी आत्तिनुपर्ने छैन,’ सिटौलाले भने ।