काठमाडौँ । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले शिक्षा ऐन अहिलेकै संसद्को अधिवेशनबाट जारी गर्नेगरी सरकारले काम अगाडि बढाएको बताएका छन् ।

ललितपुर, च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आज नेपाल शिक्षक महासङ्घले आयोजना गरेको धर्ना कार्यक्रममा महासचिव पोखरेलले शिक्षासँगै अड्किएका कानुन चाँडै ल्याउनका लागि देशका दुई प्रमुख पार्टी मिलेर सरकार बनाएको बताए । ‘राज्यले शिक्षकको मागलाई ध्यानमा राखेर, संविधानको भावनालाई आत्मासात गर्दै शिक्षा ऐन जारी गर्छ, यो विषयलाई यही सदनमा टुङ्ग्याउन पाएहुन्थ्यो भनेर हामी आफैँ लागिरहेका छौँ’, उनले भने ।
महासचिव पोखरेलले शिक्षा ऐनमा समेट्ने विषयमा एकमत बनाउन लागि शिक्षक महासङ्घको सहयोग पनि आवश्यक रहेको बताए । उनले शिक्षकहरूको नेतृत्वमा बस्ने नेताले आफ्ना विद्यालय पनि राम्रो बनाउन लाग्नुपर्ने भनाइ राखे ।