काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणा देउवा भारतको राजधानी नयाँदिल्ली पुगेकी छन् । भारतको झारखण्डस्थित बाबा वैद्यनाथ धाममा दर्शन तथा पूजाआजापछि उनी आज नयाँदिल्ली पुगेको उनको सचिवालयले जनाएको छ ।

मन्त्री राणालाई नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतका विदेश मन्त्रालयका अतिरिक्त सचिव मनु महावर तथा भारतका लागि नेपाली राजदूत डा शंकर शर्माले स्वागत गरेका थिए ।
मन्त्री राणा भारतको विदेश मन्त्रालयसँगको सहकार्यमा ‘द अब्जर्भर रिसर्च फाउन्डेसन’ (ओआरएफ)द्वारा यही मार्च १७ देखि १९ सम्म नयाँदिल्लीमा आयोजित राइसिना डायलग कार्यक्रममा सहभागी हुने कार्यक्रम छ । यही मार्च १७ मा उदघाटन हुने सो कार्यक्रमका जलवायु परिवर्तनको अवस्था र समस्या तथा दक्षिण के चाहन्छ ? नामक फरक–फरक सत्रमा सहभागी भई उनी नेपालका तर्फबाट सम्बोधन गर्ने कार्यक्रम छ ।
यस दौरानमा मन्त्री राणाले भारतका विदेशमन्त्री डा एस जयशंकर तथा अन्य मित्रराष्ट्रका समकक्षीहरूसँग पनि द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको बताइएको छ । सो राइसिना डायलगमा विश्वका विभिन्न देशका प्रधानमन्त्री, विदेशमन्त्री, नेता तथा नीति निर्माताहरूको सहभागिता रहने आयोजक संस्था ओरआएफले जनाएको छ ।