Logo
Logo

बुटवल यातायातमा लुट, पहुँचवालाको सेटिङमा काम


दामोदर खनाल


बुटवल । लुम्बिनी प्रदेश यातायात ब्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र, बुटवलमा बेथिति बढेको छ । कार्यालय पुगेका राष्ट्रसेवक कर्मचारी चुस्तदुरुस्त छिटोछरितो जनताको काम गर्नुको साटो कताबाट दुईचार हजार हात पार्न सकिन्छ भन्ने मानसिकतामा तल्लीन देखिन्छन् । लकडाउनका कारण सवारी चालक अनुमतिपत्र वितरण गएको वैशाख १६ गतेदेखि बन्द छ । तर पहुँचवाला र पैसावालाका लागि लकडाउनले कुनै असर पारेको छैन । वैशाखअघि पनि सेटिङका आधारमा नहुनपर्ने काम पनि भएको तथ्यहरु सार्वजनिक हुन थालेको छ ।

यातायातमा विभागका प्राविधिक आइटी इञ्जीनियर सन्तोष पोखरेल प्रदेशका लक्ष्मण पाण्डेलगायतका कर्मचारी र चौधरी थरका एक बिचौलिया तथा केही ड्राइभिङ इन्स्टिच्युटको मिलेमतोमा यहाँ बेथिति र मनपरी बढेको कर्मचारी स्रोतको दाबी छ । अतिरिक्त रकमको व्यवस्था गर्नेहरुको कार्यालय समयभन्दा अघिपछि पनि गाडीमै मानिस ओसारेर फोटो खिचाउने, फारम भर्नेजस्ता कामहरु हुने गरेको सेवाग्राहीको आरोप छ ।

कार्यालयवाट आर्थिक वर्ष २०७६÷७७ मोटरसाइकल, कार, स्कुटरलगायत अन्य गरी ११ हजार ५५१ नयाँ सवारी चालक अनुमतिपत्र बितरण भएकोमा गएको आर्थिक वर्ष २०७७÷७८ मा मोटरसाइकल १३ हजार ५९०, कार ३ हजार ६३१, स्कुटर २ हजार ७७०, हेभीलगायत गरी कुल २० हजार २४० सवारी चालक अनुमतिपत्र जारी भएको कार्यालयका सूचना अधिकारी खगराज उपाध्यायले जानकारी दिए । गएको आर्थिक वर्षमा लकडाउनका कारण नियमित काम हुन नसक्दा मासिक करिब २ करोड राजस्व असुलीमा कमी आएको कार्यालयले जनाएको छ ।

यातायात व्यवस्था कार्यालय बुटवल प्रदेश कार्यालय भए पनि सवारी शाखामा सर्भर र सिस्टमका लागि लामो समयदेखि विभागमै भर पर्नुपर्दा धेरै सेवाग्राहीले लामो समयदेखि दुःख पाइरहेका छन् । जसका कारण सानो कामका लागि पनि केन्द्रकै भर पर्नुपर्ने र हजारौ खर्च गरेर सेवा लिनका लागि केही दिन बुटवलमै बास बस्न बाध्य रहेको सेवाग्राहीको गुनासो छ । कार्यालय प्रमुख केशव अर्याल भन्छन् सर्भरले बेलाबेलामा काम नगर्ने र पुरानो दरबन्दीअनुसार कर्मचारीको समेत अभाव हुँदा काममा निकै समस्या हुने गरेको छ ।

यस कार्यालयमा बिचौलिया र ड्राइभिङ इन्स्टिच्युटका केही व्यक्तिको जगजगी नै छ । यहाँ कर्मचारीलाई घुमाउने, खुशी पार्नेहरुकै हालीमुहालीले गर्दा सोझा पुराना कर्मचारी खुम्चिएर बस्नुपरेको गुनासो पोख्दै भन्छन् अस्थायी कर्मचारी भर्नामा पनि सेटिङ छ ।

यातायात ब्यवस्था विभागका केन्द्रीय प्राविधिकसँग मिलेर भित्रभित्र ठूलै रकमको चलखेलमा हराएका, लाइसेन्स लिन नआएकाहरुको लाइसेन्स अरुकै नाममा बनाइदिई भित्रभित्र लाइसेन्स जारी भएको कर्मचारी स्रोत बताउँछ । विदेश जाने र विदेशमा रहेकाहरुको हल्का र हेभी सवारी साधनको अनुमति पत्र बनाएवापत ठूलो रकमको चलखेल हुने गरेको स्रोतको दाबी छ । उमेर नपुगेको लाइसेन्स बनेपछि २०७७।०९।१९ गते नारायणीबाट नवीकरण भएको एपि ७८००७४४ नम्बरको लाइसेन्स र करिब एक हजार वटा युजर ह्याकको कार्यालयमा यतिखेर निकै चर्चा छ । केही कर्मचारी र ड्राइभिङ इन्स्टिच्युटका व्यक्ति तनावले ढाकछोप गर्न विभिन्न व्यक्तिलाई फोन गरेका छन् । एक कर्मचारीका अनुसार ‘पैसा दिन सक्नेले दश मिनटमै काम बनाउँछन्, मलाई जानकारीमा आएसम्म १३ बिको ५० हजार र हेभीको एक लाख १० हजारसम्म लिएका छन् ।”

यो कार्यालयमा प्रबेशद्धारको दायाँतिर नागरीक बडापत्र छ तर त्यस्को पालना भएको पाइँदैन । कर्मचारीकै मिलेमतोमा बिचौलियाको आडमा काम हुने परिपाटीले सर्वसाधारण सेवाग्राहीहरु भने ठगिएका छन् । कर्मचारीको मिलेमतोमा सर्भर ह्याक हुँदा सर्वसाधारणले अनलाइन फारम भर्न नसक्ने भएपछि आर्थिक लेनदेनका आधारमा काम गर्न बिचौलियालाई झनै सजिलो हुने गरेको छ ।
लाइसेन्स वितरणमा फारम भर्दा नै सर्वसाधारण ठगिएको भन्ने गुनासो छ नि भन्ने दृष्टिको जिज्ञामा कार्यालय प्रमुख केशव अर्याल ‘स्वभाविकरुपमा यो कार्यालयको केही गुनासो आएको छ हामीले चुस्तदुरुस्त गर्ने प्रयासमा छौँ, हामीभन्दा माथिल्लो तहसम्म विभाग र मन्त्रालयसँग छलफल गर्नेछौँ”, भन्ने जवाफ दिए ।

केही सेवाग्राही र यातायातकै कर्मचारीको भनाइलाई आधार मान्ने हो भने पनि परीक्षामा असफल भएका ट्रायलमा फेल भएकाहरुको पनि भित्री सेटिडमा काम हुन्छ । लेखा शाखाका नारायण अर्याल यातायातको सधँै गुनासो हुन्छ केही भएका पनि होलान् केही नभएका पनि हल्ला होलान् भन्दै उनले हाल सबैकाम कम्प्युटरबाट हुने हुँदा ढड्डामा चढाइँदैन सोझै इन्ट्री हुने हुँदा केही गलत काम हुनसक्ने संकेत गरे ।

पाल्पा, गुल्मी, अर्घाखाँची, चितवन, नवलपरासीलगायत विभिन्न जिल्लाबाट सवारी चालक अनुमति पत्र बनाउन, जाँचपास, नामसारी, नवीकरणलगायतका कामका लागि हजारौँ रकम खर्चिएर बुटवल आएर होटलमा बासै बसेर सेवा लिन बाध्य छन् सेवाग्राही ।

प्रतिक्रिया दिनुहोस्