झापा । पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले लोकतन्त्रको सुदृढीकरण तथा सङ्घीयताको रक्षा गर्न राजनीतिक दलबीच गठबन्धन निर्माण भएको बताएका छन् । लोकतन्त्र, धर्म निरपेक्षता र गणतन्त्रको रक्षा गर्न सत्तारूढ दलहरुबीच आगामी निर्वाचनसम्म गठबन्धन कायम रहने उनले उल्लेख गरे ।
पार्टी सम्बद्ध नेपाल खेलकुद महासङ्घ समाजवादीले आज दमकमा आयोजनामा गरेको प्रदेशस्तरीय खेलकुद तथा प्रशिक्षण कार्यक्रममा अध्यक्ष नेपालले भने, ‘तीनै तहका निर्वाचनमा सत्तारूढ दलहरुको गठबन्धनले थप सफलता हासिल गर्छ, त्यसमा द्विविधा छैन् ।’
नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्रमा आयोजित प्रदेशस्तरीय खेलकुद कार्यक्रममा अध्यक्ष नेपालले ओलीको अहम्ताका कारण कम्युनिष्ट पार्टी विभाजित हुन पुगेको आरोप लगाए । आउँदो निर्वाचनमा एकीकृत समाजवादी जनताको लोकप्रिय पार्टीका रुपमा स्थापित हुने उनले दाबी गरे ।












