Logo
Logo

ओलीविरुद्धको अवहेलना मुद्धा ‘हेर्न नभ्याइने’मा



काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबिरुद्ध दर्ता भएको अदालतको अवहेलना मुद्धा आज पेसीमा चढेको भए पनि हेर्न नभ्याइने भएको छ ।

तत्कालीन प्रधानमन्त्रीका रुपमा दिएको अभिव्यक्तिका कारण ओलीविरुद्ध दर्ता भएको अदालतको अवहेलना मुद्दा पेसीमा चढेको थियो । तर सो मुद्धा न्यायाधीशले हेर्न नभ्याइने भएकाले आज बहस नहुने भएको हो । उनको मुद्दा न्यायाधीशद्वय अनिलकुमार सिन्हा र हरिप्रसाद फुयालको संयुक्त इजलासमा पेसी चढेको थियो ।

२०७७ माघ २३ गते ओलीले प्रतिनिधिसभा विघटनको मुद्दाको बहस चलिरहँदा दिएको अभिव्यक्तिले अदालतको अवहेलना भएको भन्दै वरिष्ठ अधिवक्ता कुमार शर्मा आचार्य र कञ्चनकृष्ण न्यौपानेले अवहेलना निवेदन दायर गरेका थिए ।

पुस ५ गते ओलीले बहुमतको सरकार सञ्चालन गरिरहँदा संविधाने नदिएको अधिकार प्रयोग गरी प्रतिनिधिसभा विघटन गरेर नयाँ निर्वाचन घोषणा गरेका थिए । उक्त घोाषणा असंवैधानिक भएको भनी सर्वोच्चमा रिट दायार भएको थियो ।

उक्त रिट निवेदनमाथि संवैधानिक इजलासमा बहस चलिरहँदा उनले अदालतले आफूले गरेको निर्णय उल्ट्याउन नसक्ने र ‘बाजे वकिल’लाई समेत लगेर कानुन व्यवसायीहरुले तमासा गरेको टिप्पणी गरेका थिए ।

अवहेलना मुद्दा दर्ता भएपछि ओलीले फागुन ६ गते लिखित जबाफ लिएर आफैँ उपस्थितसमेत भएका थिए । सर्वोच्च अदालतले अवहेलनासम्बन्धी मुद्दामा जबाफसहित आफैँ उपस्थित हुन माघ १५ मा आदेश दिएको थियो ।

तत्कालीन प्रधानमन्त्री ओलीले वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीविरुद्ध अपमानजनक शब्द बोलेको भन्दै सर्वोच्च अदालतमा अवहेलना मुद्दा वरिष्ठ अधिवक्ता कुमार शर्मा आर्चायले दर्ता गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्