Logo
Logo
कांग्रेसको १४औं महाधिवेशन

महाधिवेशनमा पेश हुने राजनीतिक र आर्थिकसहितको प्रतिवेदन पारित

सहमहामन्त्री थप्ने प्रस्ताव आएन



काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसको १४ औं महाधिवेशन भोलीदखि शुरु हुँदैछ । बन्दसत्रमा पेश हुने राजनीतिक, आर्थिकसहितको प्रतिवेदन केन्द्रीय समितिको बैठकले पारित गरेको छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बसेको अन्तिम केन्द्रीय समितिको बैठकले महाधिवेशनमा पेश हुने प्रतिवेदनहरु पारित गरेको केन्द्रीय सदस्य फरमुल्लाह मन्सुरले बताए ।

वरिष्ठ नेता रामचन्द्र पौडेल सहित शेखर कोइराला, प्रकाशमान सिंहसहितका नेताहरुले सो बैठकलाई बहिस्कार गरेका थिए । सभापति शेरबहादुर देउवाले आफ्नो समुहका नेताहरुको व्यवस्थापनका लागि सहमहामन्त्री पद थप्ने प्रस्ताव ल्याउने तयारी गरेपछि उनीहरुले बैठक बहिष्कार गरेका थिए ।

तर बैठकमा सभापति देउवाले सहमहामन्त्री थप्ने प्रस्ताव नै नगरेको कांग्रेसका एक नेताले बताए । आफ्नो समूहका नेताहरुको व्यवस्थापनका लागि देउवाले यसअघि सहमहामन्त्री थप्ने प्रस्ताव केन्द्रीय समितिको बैठकमा ल्याउने तयारी गरेका थिए । केन्द्रीय सदस्य मन्सुरले बैठकमा सहमहामन्त्री थप्ने प्रस्ताव नआएको बताए ।

यता महाधिवेशन हुने भृकुटीमण्डपमा विभिन्न पदका उम्मेदवारले प्रचार प्रसार तिब्र बनाएका छन् । महाधिवेशन प्रतिनिधि काठमाडौं आइपुगेका छन् । बाँकी रहेका केही प्रतिनिधिहरु आउँने क्रममा रहेको कांग्रेस नेता मुकेस यादवले बताए ।

महाधिवेशनका लागि सम्पुर्ण तयारी पूरा भएको प्रवक्ता विश्वप्रकाश शर्माले बताए । मञ्च, आवास, खाना, स्वयंसेवक लगायतको सम्पुर्ण तयारी पूरा भएको उनले बताए ।

कांग्रेस सभापति शेरबहादुर देउवाले भोलि १४औं महाधिवेशनको भृकुटीमण्डपमा दिउँसो १ बजे उद्घाटन गर्दै छन् । कांग्रेसले महाधिवेशनको ब्यानरमा ‘सबै अट्ने देश र सबैलाई जोड्ने कांग्रेस’ नारा राखेको छ  ।

प्रतिक्रिया दिनुहोस्