Logo
Logo

नेपाल र भारतबीचको सम्बन्धन सुमधुर : भाजपा नेता हर्षवर्धन



काठमाडौं । भारतीय जनता पार्टी (भाजपा) का नेता डा. हर्षवर्धन मिश्राले नेपाल र भारत बीचको सम्बन्धन वर्षौदेखि सुमधुर रहेको बताएका छन् ।

नेपाली कांग्रेसको १४औं महाधिवेशनको सफलताको शुभकामना दिँदै उनले दुई देशबीचको सम्बन्धको चर्चा गरे । उनले भारत र नेपालले एकअर्कालाई दुःख, सुखमा साथ सहयोग गर्दै आएको बताए ।

नेपाल–भारतको सम्बन्धबारे चर्चा गर्दै उनले सन् २०१५ मा नेपालमा भूकम्प आउँदा भारतीय जनतालाई पनि पीडा भएको बताए । त्यस्तै कोभिडमा पनि भारतले नेपालीका लागि औषधीको व्यवस्था गरेको स्मरण गरे ।

‘कोभिड भारतमा पनि थियो तर नेपाल–भारतको सम्बन्ध यस्तो छ, त्यसका आधारमा भारतले नेपाललाई सहयोग गरेको थियो’ उनले भने ।

नेपालका राजनीतिक दलको प्रशंसा उनले गरेका छन् । एक राजनीतिक दलको महाधिवेशन हुँदै गर्दा देशका सम्पुर्ण पार्टीका शीर्ष नेताहरु सहभागी भएर शुभकामना दिने दृश्य आफूले विश्वको कुनै पनि देशमा नदेखेको मिश्राले बताए ।

केही दिनअघि एमालेको १०औं महाधिवेशन चितवनमा हुँदै गर्दा देशको प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा समेत घण्टौसम्म कार्यक्रममा बस्नु र शुभकामना दिनु राम्रो पक्ष भएको उनले सुनाए ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, भाजपा अध्यक्ष जेपी नाडाले समेत कांग्रेसको महाधिवेशनको शुभकामना सन्देश पठाएको उनले बताए । कांग्रेसको महाधिवेशनमा सहभागिताको अवसरसंगै पशुपतिनाथको दर्शन गर्न पाएकोमा मिश्राले खुशी व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्