काठमाडौं । नेकपा (एमाले)ले केन्द्रीय सल्लाहकार परिषदको अध्यक्षमा अमृतकुमार बोहोरा चयन भएका छन् ।
शनिबारदेखि भक्तपुरको गठ्ठाघरस्थित जर्मन हाउस हस्पिटालिटीमा सुरु भएको केन्द्रीय कमिटी बैठकले बोहोरालाई सल्लाहकार परिषदको अध्यक्षमा नियुक्त गर्ने प्रस्ताव आएको सचिव योगेश भट्टराईले बताए ।
बैठकमा अध्यक्ष केपी शर्मा ओलीले बोहोरालाई सल्लाहकार परिषदको अध्यक्षका लागि प्रस्ताव गरेका हुन् । बोहोरा यस अघि उमेर हदका कारण एमालेको सक्रिय राजनीतिबाट विदा लिएका थिए ।
यसअघि उनी अनुशासन आयोगको अध्यक्ष रहेका थिए । बैठकमा १५ वटा कार्यसूचीमाथि छलफल हुने एमाले केन्द्रीय कार्यालयका सचिव तामाङले जानकारी दिए । बैठकमा बाँकी केन्द्रीय सदस्यको शपथग्रहण, महाधिवेशनको समीक्षा, केन्द्रीय कमिटीमा सदस्यको मनोनयन, स्थायी कमिटीको गठन, पोलिटब्युरो कमिटीको गठन, केन्द्रीय सल्लाहकार परिषद् गठन, कार्यविभाजन र प्रदेशमा रिक्त पदाधिकारीको मनोनयन बिषयमा छलफल जारी छ ।
एमालेको जिल्ला र प्रदेश अधिवेशनको मिति निर्धारण, विधान सम्पादन र नियमावली संशोधन, बैठक सञ्चालन कार्यविधि, केन्द्रीय कार्यालय व्यवस्थापन, महाधिवेशनको सन्देश तथा पार्टी प्रवेश अभियान, वरीयताक्रम निर्धारण र जनसङ्गठनको सुदृढीकरण अभियान पनि बैठकका अजेण्डा रहेका छन् ।