काठमाडौं । पटक–पटक सांसद जितेर पनि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पेलानमा परेर मन्त्री हुन नपाएका विरोध खतिवडालाई नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले स्वास्थ्यमन्त्रीको जिम्मेवारी सुम्पिएका छन् ।
बोल्नमा खरो खतिवडा मन्त्रालय चलाउन भने असफलजस्तो देखिएका छन् । स्वास्थ्य मन्त्रालयका खरदार, सुब्बाले समेत मन्त्रीलाई टेर्दैनन् । मन्त्रीले पठाएका फाइल कर्मचारीहरूले लुकाउँदा समेत मन्त्रीले चाल पाउँदैनन् । कर्मचारीले हस्, हजुर भन्दा दंग पर्ने मन्त्री खतिवडा यस्तै चाला हो भने कुन दिन ठूलै भड्खालोमा जाकिन बेर छैन ।

मन्त्री खतिवडालाई एउटा उपकुलपतिले अवकाश पाउँदा अर्को उपकुलपति नियुक्त नहुँदासम्म रेक्टरलाई कार्यबाहकको जिम्मेवारी दिनुपर्ने कुरासमेत थाहा छैन । मंसिर २६ गते राप्ती चिकित्सा विज्ञान प्रतिष्ठानको उपकुलपति संगीता भण्डारी अवकाश भएर पनि मन्त्रीको कृपाले सोही पदमा कार्यरत छिन् ।
राप्ती चिकित्सा विज्ञान प्रतिष्ठानको उपकुलपति नियुक्त गर्न मन्त्री स्वयंको अध्यक्षतामा स्वास्थ्य सचिव रोशन पोखरेल र डा. भगवान कोइराला सदस्य रहेको कमिटी गठन भइसकेको छ । खुला प्रतिस्पर्धाबाट उपकुलपति नियुक्त गर्नुपर्नेमा संगीता भण्डारीप्रति मन्त्री खतिवडाको यो के मोह हो भनेर प्रतिष्ठानका कर्मचारीहरूले समेत प्रश्न उठाउन थालेका छन् ।
भण्डारी पाटन चिकित्सा विज्ञान प्रतिष्ठानको उपकुलपतिमा हुँदा भ्रष्टाचारमा मुछिएपछि सिनेटले कारबाही गरेर निकालिएकी कर्मचारी हुन् । तर, शक्तिकेन्द्रको आडमा उनी राप्ती चिकित्सा विज्ञानको उपकुलपति बन्न सफल भइन् । र, अहिले पनि उनी त्यही पदमा निरन्तरताको लागि आरजु राणा देउवासँग निकट भएको बालुवाटार स्रोतले बताएको छ ।











