Logo
Logo

माओवादी प्रदेश १ को नेतृत्व चुन्न केन्द्रीय सदस्यहरुको बैठक बस्दै



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र प्रदेश १ कार्यक्षेत्र भएका केन्द्रीय सदस्यहरुको बैठक बस्दैछ । माओवादी प्रदेश १ समितिको पदाधिकारी चयन सहमतिमै गर्नका लागि आज अन्तिम प्रयासका लागि बैठक बोलाएको हो ।

बैठकमा आकांक्षीहरुको विषयमा छलफल हुने र निष्कर्षका लागि प्रयास गरिने माओवादी केन्द्रका नेता सुदन किराँतीले बताए ।

‘हामीले सहमितमा पदाधिकारी चयन गर्न भनेर प्रयास गरिरहेको छौँ । आकाँक्षीहरु धेरै हुनुहुन्छ । त्यसकारण अहिले पनि हामी सहमतिका लागि छलफल गरिरहेका छौँ’ उनले भने ।

माओवादी केन्द्रको प्रदेश १ ले आकांक्षी धेरै हुँदा अहिलेसम्म अध्यक्षसहित पदाधिकारीको टुंगो लाग्न सकेको छैन । मोरङको विराटचोकमा गत मंसिर २५ र २६ गते सम्पन्न प्रदेश १ को प्रथम अधिवेशनले २७१ सदस्यीय कार्यसमिति चयन गरेको छ । तर पदाधिकारी चयन भने थाती राखेको थियो ।

माओवादी केन्द्र प्रदेश १ को अध्यक्षमा ६ जनाले दाबी गरेका छन् । पाँचथरका हर्कबहादुर नेम्वाङ, सुनसरीका शिवकुमार डाँगी र मुक्साहाङ मेन्याङ्बो, उदयपुरका मोहनबहादुर खत्री, झापाका मणिकुमार साम्पाङ र विराटनगरका हेम कार्कीले प्रदेश अध्यक्षमा दाबी गरेका छन् ।

प्रदेश १ माओवादी केन्द्रको प्रदेश समितिको दोस्रो बैठक भने भोली बस्दैछ । बैठकले पदाधिकारी चयन गर्ने भनिए पनि आकांक्षीहरु धेरै देखिएकाले सहमतिको सम्भावना कम हुँदै गएको छ ।

प्रतिक्रिया दिनुहोस्