काठमाडौं । अध्यागमन जस्तो संवेदनशील विषयमा अध्यागमनको ‘अ’ पनि नबुझेका कर्मचारीले गर्दा देशको राष्ट्रिय सुरक्षा नै जोखिममा परेको छ । अध्यागमन विभागकै नेतृत्व गरिरहेका व्यक्तिले नै अध्यागमन बुझेका छैनन् ।
अध्यागमन विभागका महानिर्देशक नारायण प्रसाद भट्टराईका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भिजिट भिसामा हुने सेटिङ मौलाएको छ । सेटिङमा खप्पिस कर्मचारीलाई हाल छानी– छानी एयरपोर्ट अध्यागमन पठाइएको छ । जसकारण घुम्नै जानेहरुलाई रोक्ने र सेटिङमा भिजिट भिसामा काम गर्न जानेलाई सहजै जान दिने गरिएको छ ।

यसबाट जनताले दुःख पाएका छन् भने देशको अध्यागमन नै बदनाम हुन पुगेको छ । स्रोतका अनुसार महानिर्देशक भट्टराईले एयरपोर्टका हाकिम पुष्पराज शाहीसँग मिलेर सेटिङ चलाएका हुन् । जसकारण हाल विमानस्थलमा सरुवा हुन कर्मचारीबीच हानथाप छ ।
अर्काेतर्फ नेपालमा बसेर अवैध गतिविधिमा कार्यरत विदेशीमाथि पनि कारबाही रोकिएको छ । खासगरी बिद्यार्थी र बिजनेस भिसामा बसेर अपराधिक गतिविधिमा संलग्नमाथिको कारबाही सेटिङमा हुन छाडेको छ । विभागको मुद्दा शाखामा पनि अनियमितता बढेको स्रोत बताउँछ । उनकै मिलेमतोमा केही महिनाअघि नक्कली पासपोर्टमा आएका दुई बंगलादेशीलाई मुद्दा नै नचलाई फकाईएको थियो ।
महानिर्देशक भट्टराईकै असक्षमताका कारण गत साता सरकारकै बदनाम भयो । कुनै निकायसँग सल्लाह नै नगरी विभागले कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन देखिएका ६७ देशबाट नेपाल आउँदा अनिवार्य रुपमा सात दिन होटल क्वारेन्टाइन बस्नुपर्ने सूचना जारी भयो । पछि गृह मन्त्रालयको निर्देशनमा त्यसलाई भोलिपल्ट नै स्थगन गर्नुपरेको थियो ।











