Logo
Logo

विपद् व्यवस्थापनमा सरकार सचेत : मन्त्री कार्की



विराटनगर । प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले विपद् व्यवस्थापनका लागि सरकार सचेत रहेको बताएका छन् । उक्त मन्त्रालयद्वारा आज यहाँ आयोजित ‘विपद् व्यवस्थापनका लागि सुरक्षा निकायसँग पूर्वअभ्याससहितको अन्तक्र्रिया’ कार्यक्रम शुभारम्भ गर्दै उनले प्रदेशमा विपद् हुने क्षेत्रलाई नक्साङ्कन गरेर योजनासहित अघि बढ्ने जानकारी दिए

मन्त्री कार्कीले विपद् पछि राहत, उद्धार र पुनःस्थापनाका लागि अग्रभागमा खटिने नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई जति प्रशंसा गरे पनि कम हुने भन्दै विपद्पछि राहत वितरणमा तछाडमछाड गर्ने टोलीलाई पनि एकद्वार प्रणालीमा ल्याउनु आवश्यक छ भने ।

उनले विपद्मा खटिने नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई उच्चमनोबलका साथ काम गर्न आग्रह गर्दै यो काममा समुदायका मानिसलाई पनि परिचालन गर्नुपर्ने आवश्यकता औँल्याए ।

मन्त्रालयका सचिव कालीप्रसाद पराजुलीले विपद्मा उद्धार र राहतमा खटिने नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको सिकाइ एवं अनुभव एक अर्कामा आदानप्रादन गर्ने उद्देश्यले आयोजित यो कार्यक्रममा प्राप्त ज्ञानले विपद् व्यवस्थापनमा थप मद्दत पुग्ने विश्वास व्यक्त गरे ।

उनले विपद् व्यवस्थापनमा मन्त्रालयले कार्ययोजना बनाएर प्रत्येक नगरपालिकाका रक्षकलाई पनि तालिम दिने योजना रहेकाले विपद् व्यवस्थापनमा एकीकृत ढङ्गले अघि बढ्नुको विकल्प नरहेको बताए ।

नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका अधिकृत एवं जवानलाई सशस्त्र प्रहरीका नायब उपरीक्षक वीरेन्द्र खनालले दुई दिनसम्म विपत्सम्बन्धी तालिम दिनुहुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्