काडमाडौं । गायक योगेश्वर अमात्यको १२ बिघा जग्गाको नक्कली लालपूर्जा बनाई कुमारी बैंकबाट १९ करोड ऋण निकालेको घटनामा मुद्दा नचलाउने बिशेष सरकारी वकिल कार्यालयको निर्णयलाई महान्यायाधिवक्ता कार्यालयले सदरको तयारी गरेको छ । लेनदेनको कुरा नमिल्दा दुई हप्तासम्म फाइल रोकेर राखिएको छ ।
बैैंकको चरम लापरबाहीका कारण नक्कली लालपूर्जाकै आधारमा १९ करोड ऋण कर्जा हुनु बैंकिङ कसुर अपराध भएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सिआइबी)को निष्कर्ष थियो । त्यहीअनुसार अभियोजन प्रक्रिया अघि बढेकोमा बिशेष सरकारी वकिल कार्यालयले मुद्दा नचलाउने निर्णय गरेको थियो । यससम्बन्धि अन्तिम निर्णय महान्यायाधिवक्ता कार्यालयबाट हुनुपर्छ । महान्यायाधिवक्ता कार्यालयले पनि मुद्दा नचलाउने निर्णय गर्न लागेको छ ।

सिआइबीले बैैैंकका कर्मचारीसहित १३ जनाविरुद्ध मुद्दा चलाउन सिफारिस गरेको थियो । कर्जा लिने मुक्तिलाल प्रधान, यसकुमार महर्जन, बिचौलिया कुसन प्रधानका साथै बैंकका कर्मचारीहरु गोपाल जोशी, सोनु ठाकुर, राजेश्वर प्रसाद शाह, अजित राई, गोपाल जोशीलाई मुद्दा चलाउन भनेको थियो । त्यस्तै धितो मूल्याङकनकर्ता राजेश चौरसियाका साथै यसमा सहयोगी भूमिका खेल्ने रेशम बहादुर सिलवाल, विजय कुमार शाह्य, उविद्र शँयक, शोभा शाक्य, ईश्वर पोखरेल लगायतलाई मुद्दा चलाउन सिफारिस भएकोमा उनीहरुले उन्मुक्ति पाएका छन् ।
बैंकले अर्काे धितो राखेर कर्जा उठाउने प्रक्रिया अघि बढाएको आधारमा त्यसरी मुद्दा नचलाउने निर्णय भएको थियो । जबकी बैंकले यो प्रकरणलाई गोप्य राखी आरोपीलाई जोगाउने प्रयास गरेको थियो । पछि योगेश्वर अमात्यले उजुरी गरेपछि मात्र घटना बाहिर आएको थियो ।
बैंकका कामु सिईओ अनुजमणि तिमल्सिना र बिचौलिया कुसन प्रधानको मिलेमतोमा यो घटना भएको स्रोत बताउँछ । सोही कारण १९ करोड कर्जा प्रवाह हुँदा पनि आधारभुत प्रक्रिया समेत पालना गरिएको छ । त्यसरी कर्जा मिलाइदिएवापत प्रधानले केही कमिसन लिएको समेत अनुसन्धानमा खुलिसकेको छ । बैंकिङ क्षेत्रलाई नै बदनाम गराएको यो घटनाका दोषीलाई उन्मुक्ति दिन सुरुमा गृहमन्त्री बालकृष्ण खाणले प्रयास गरेका थिए ।
पक्राउ परेकालाई कीर्ते मुद्दा मात्र चलाउन दबाब दिइएको थियो । पछि जिल्ला सरकारी वकिल कार्यालयले बैंकिङ कसुरमा अनुसन्धान गर्न निर्देशन दिएपछि सिआइबीले त्यहीअनुसार अनुसन्धान गरेर रायसहितको प्रतिवेदन बुझाएको थियो । तर, सरकारी वकिलमा भएको सेटिङमा मुद्दा नचलाउने निर्णय भयो । त्यसवापत सो समूहले २ करोड रुपैयाँ खर्च गरेको छ । मुद्दा सेटल गराउने पक्षले थप पैसा मागिरहेको स्रोत बताउँछ । यस्तै सेटिङ गर्नकै लागि बिशेष सरकारी वकिल कार्यालयबाट शंकर खत्रीलाई हटाएर धुव्र चौहानलाई लगिएको थियो ।
यो प्रकरण मिलाउन राष्ट्र बैंकमा समेत चलखेल भइरहेको छ । राष्ट्र बैंकले समेत यसमा छुट्टै अनुसन्धान गरिरहेको छ । यो मुद्दा सेटल गर्न सके कामु सिइओ रहेका अनुजमणि तिमल्सिना नै सिइओ बन्ने सम्भावना छ । राष्ट्र बैंकले कारबाहीको सिफारिस गरेमा उनको करिअर पनि समाप्त हुनेछ । बैंकका अन्य धेरै कर्मचारी फस्ने भएपछि यसमा चलखेल भएको हो ।












