
काठमाडौं । हाल देशभर पश्चिमी वायुको प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाले जनाए अनुसार उक्त प्रणालीका कारण हाल देशका अधिकांश भ–भागमा, आंशिक देखि सामान्य बदली रहेको छ ।
हाल प्रदेश १ तथा लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली रहेको महाशाखाले जनाएको छ । पश्चिमी तथा मध्य तराईका जिल्लाहरुमा बाक्लो हुस्सु/कुहिरो लागेको छ ।
आज (आइतबार) दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशहरूमा आंशिकदेखि सामान्य बदली रहनेछ ।सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका केही स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार बाँकी प्रदेशका एक–दुई स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। साथै उच्च पहाडी तथा हिमाली भू-भागका धेरै स्थानहरूमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ ।
त्यस्तै राति पनि देशभर आंशिकदेखि सामान्य बदली रहने महाशाखाको भनाइ छ। सुदूरपश्चिम, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको छ। साथै उच्च पहाडी तथा हिमाली भू-भागका धेरै स्थानहरूमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको महाशाखाको भनाई छ ।
देशका केही भूभागमा वर्षा तथा हिमपातको सम्भावना रहेकाले देशभर चिसो बढ्ने र चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउनसमेत महाशाखाले अनुरोध गरेको छ ।














