
काठमाडौं ।
१३ फागुन : विमानस्थलस्थित अध्यागमन कार्यालयकै कर्मचारी लक्ष्मण गुरागाई सुन तस्करी गर्दागर्दै पक्राउ परे ।
९ फागुन : रौतहटका इस्ताफ आलम बिना कुनै कागजपत्र तीन तहको सुरक्षा घेरा नाघेर कतार उड्न लागेको नेपाल एयरलाइन्सको जहाजको बिजनेस क्लासमा पुगे ।
१८ भदौ : त्रिभुवन विमानस्थलस्थित सुरक्षा निकायलाई झुक्याउँदै दुई युवक तस्करीको चार किलो सुन लिएर नेपालगञ्ज पुग्न सफल भए ।
नेपालको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलमा पछिल्लो सात महिनामा देखिएका सुरक्षाका तीन गम्भीर त्रुटि हुन् यी ।
हवाई सुरक्षामा यस्ता त्रुटिलाई निकै संवेदनशील मानिन्छ । तर, नेपालको विमानस्थलमा भने गल्तीबाट पाठ नसिक्दा ठूलो दुर्घटना निम्तने जोखिम बढेको छ ।
गत ९ फागुनको घटनाले त विमानको सुरक्षाप्रति सर्वसाधरण नै त्रसित हुने अवस्था बनेको छ । विमानस्थलको बाहिरी पेरिमिटरको तारबारबाट छिरेर आलम रनवेमा रहेको विमानसम्म पुग्दा पनि कुनै सुरक्षा निकायले उनलाई देखेनन् । अझ बोर्डिङपास बिना नै विमानभित्र छिर्न समेत सफल भए ।
अन्य देशमा हो भने यति ठूलो घटनामा विमानस्थलका सबै जिम्मेवार अधिकारी कारबाहीमा परिसक्थे । तर, नेपालमा भने सामान्य छानबिन गरेर यो प्रकरणलाई सामान्यिकरण गर्ने प्रयास भइरहेको छ ।
विमानस्थलको बाहिरी पेरिमिटरको सुरक्षा जिम्मेवारी नेपाली सेनालाई छ । सेनाले चारै तिर अग्ला अग्ला पोष्ट बनाएर पेरिमिटरको सुरक्षा गर्दै आएको छ । त्यसपछिको सुरक्षा जिम्मेवारी नेपाल प्रहरीको हो । रनवे क्षेत्रमा समेत प्रहरीको डिउटी हुन्छ । तर, सेना र प्रहरी दुवैको डिउटी राम्रो नहुँदा आलम विमानसम्म पुग्न सफल भएका छन् ।
नागरिक उड्डन प्राधिकरणले तार छिनेको ठाउँमा मर्मत नगर्दा यसरी आलम भित्र छिरेको कारण देखाएर सुरक्षा अधिकारीहरू यसमा पन्छिने प्रयास गरिरहेका छन् । तर, त्यो ठाउँमा सुरक्षा निकायले डिउटी चुस्त नबनाएको प्रष्ट हुन्छ ।
त्यहाँबाट प्रवेश गरेपनि रनवेसम्म पुग्दा उनीहरूले नदेख्नु उदेकलाग्दो विषय छ । ती युवक प्लेन चढ्ने रहरले मात्र भित्र प्रवेश गरेका थिए । कोही अपराधिक उदेश्यले भित्र प्रवेश गरेको भए देशकै ठूलो बेइज्जत हुने अवस्था रहेको सुरक्षाविद्हरू बताउँछन् ।
सुन तस्करी
अध्यागमनका नासु लक्ष्मण गुरागाईले सहजै विमानस्थलबाट सुन तस्करी गर्न सक्नुले पनि त्यहाँभित्रको कमजोरी प्रष्ट हुन्छ । विमानस्थलमा कर्मचारीमाथि समेत चेकिङ हुने बताइए पनि त्यो गफ मात्र भएको यो घटनाले प्रष्ट पारेको छ । जसकारण विमानस्थलभित्रकै कर्मचारीलाई अपराधीले दुरुपयोग गर्न सक्ने जोखिम देखिन्छ ।
यसअघि गत १८ भदौमा काठमाडौं विमानस्थल हुँदै दुई युवकले चार केजी सुन नेपालगञ्ज पुर्याएका थिए । त्यसमा गम्भीर लापरबाही देखिएको औंल्याउँदै सुरक्षा प्रणालीमा सुधार गर्न सिफारिस भएको थियो । तर, सिफारिस कार्यान्वायन भएन बरु यात्रुलाई जुत्ता खोल्न लगाएर दुःख दिने काम भयो ।
जुत्तामा लुकाएर उनीहरूले सुन लगेका थिए । काठमाडौंस्थित विमानस्थलमा सुरक्षा जाँच गराउँदा उनीहरूसँग सुन देखिएको थिएन । जाँचमा संलग्न प्रहरीको लापरबाहीले गर्दा सुन पत्ता नलागेको एसएसपी सन्दीप भण्डारी नेतृत्वको छानबिन समितिको निष्कर्ष थियो ।
विमानस्थलमा सबै यात्रुलाई ‘वाक थ्रु गेट’मार्फत प्रवेश गराइन्छ । त्यसरी प्रवेश गराउँदा शरीरमा कुनै धातु रहेमा बज्ने गर्छ । सुन बोकेका दुई युवक सुरक्षा चेकजाँचको गेटबाट प्रवेश गर्दा बजेको भएपनि प्रहरीले ध्यान दिएनन् । त्यस्तो लापरबाहीले विमानसम्म हतियारसमेत पुग्न सक्ने जोखिम देखाएको छ ।
यसरी काठमाडौं विमानस्थलबाट गएका बुद्धिमान खाती र अमिर विश्वकर्मालाई सुराकीको आधारमा प्रहरीले नेपालगञ्जमा पक्राउ गरेको थियो । उनीहरूले तस्करीकै सुन ओसारपसार गरेको निष्कर्षसहित राजस्व अनुसन्धान विभागले मुद्दा दायर गरिसकेको छ ।
विगतमा पनि उनीहरूले पटक–पटक नेपालगञ्जमा सुन ओसारेको छानविनका क्रममा खुलेको थियो । विमानस्थलको सुरक्षा प्रणालीको कमजोरीको फाइदा उठाउँदै यसरी विमानबाटै अवैध सुन तस्करी भइरहेको पाइए पनि त्यसतर्फ ध्यान जान सकेको छैन ।
नेपालको विमानस्थलमा पटक–पटक सुरक्षा कमजोरी देखिदै आएको छ । सुन र डलर मात्र होइन विमानस्थलमा चिम्पाञ्जीसमेत तस्करी भएको घटनाले विमानस्थलको सुरक्षा अवस्था उदांगो भइसकेको छ । तर, पनि विमानस्थल सुरक्षामा चासो दिइएको छैन ।
अन्तर्राष्ट्रिय तस्कर समूहले पाँच वर्षअघि नाइजेरियाबाट ल्याएको चिम्पाञ्जी विमानस्थलबाट पास भइसकेपछि बरामद गरेको थियो । यी घटनाले कुख्यात अपराधी चाल्स शोभराजले भनेझैं नेपालको विमानस्थलबाट ‘हात्ती समेत नछिर्ला’ भन्न नसकिने अवस्था छ ।
गृह मन्त्रालयले गठन गरेको विशेष अनुसन्धान टोलीले पाँच वर्षसम्म ३८ सय केजी सुन तस्करी भएको खुलेको थियो । त्यसअघि साढे ३३ किलो सुन विमानस्थलमा कार्यरत एसएसपी श्याम खत्रीको मिलेमतोमा भित्रिएको थियो । विमानस्थलमा केही वर्षअघि लगेज चोरी बढेपछि पनि छानबिन समिति बनेको थियो ।
विमानस्थलको सुरक्षा बलियो बनाउन विमानस्थलमा कार्यरत सबै निकायका कर्मचारीमा पनि शुद्धीकरणको आवश्यकता रहेको नेपाल प्रहरीका पूर्व एआइजी विज्ञानराज शर्मा औंल्याउँछन् ।
विमानस्थलमा बडी स्क्यानर खोई ?
नेपालको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलमा समेत बडी स्क्यानर जडान हुन सकेको छैन । बडी स्क्यानरका साथै अत्याधुनिक एक्सरे मेसिनसमेत खरिद गर्न प्रहरीले प्रस्ताव गरेपनि त्यसमा प्रक्रिया अघि बढ्न सकेको छैन ।
हवाई सुरक्षाविज्ञ भरत ढकालका अनुसार विमानस्थलमा बडी स्क्यानरलाई आइकाओले अनिवार्य भनेको छैन । तर, यो जडान हुँदा विमानस्थलको सुरक्षा थप बलियो हुने उनी बताउँछन् ।
‘थाइल्याण्डको सुवर्णभूमि विमानस्थलमा पनि बडी स्क्यानर राखिएको छ,’ उनी भन्छन्,‘ तर, सबैलाई त्यो प्रयोग गरिदैन, कोहीमाथि शंका लागेमा भने बडी स्कानरमार्फत जाँच हुने गर्दछ ।’
नेदरल्याण्डबाट एक व्यक्ति बिष्फोटक पदार्थ बोकेर अमेरिका गएको घटनापछि अमेरिकाले विश्वभरीका विमानस्थलमा बडी स्क्यानर राख्न जोड दिँदै आएको छ । छानबिन समितिले ‘ड्युल भ्यू’ प्रविधिको एक्सरे मेसिनसमेत जडान गर्न सिफारिस गरेको छ ।
त्यस्तै, विमानस्थलमा दक्ष सुरक्षाकर्मी नहुँदा पनि सुरक्षा जोखिम बढेको छ । अपराधीहरू हाइटेक हुँदै जाने तर प्रहरी भने सामान्य तालिमको भरमा विमानस्थलमा खटिने गरेका छन् । अर्काेतर्फ, प्रविधिको प्रयोगमा समेत पछि पर्दा नेपालको विमानस्थलमा सन् १९९९ मा इन्डियन एयरलायन्स हाइज्याक भएको घटना नदोहोरिएला भन्न नसकिने सुरक्षाविद्हरू बताउँछन् ।
पूर्वएआइजी शर्मा नेपाल प्रहरीमा विमानस्थल सुरक्षा प्रहरी गठन गर्नु अत्यावश्यक भइसकेको बताउँछन् । प्रहरीलाई जाँच र खानतालासी जस्ता मुख्य काममा केन्द्रित गरी बाहिरी पेरिमिटरको सुरक्षामा सशस्त्र वा सेनालाई खटाउनु उपयुक्त हुने उनको सुझाव छ । हवाई सुरक्षाविज्ञ भरत ढकाल पनि विशिष्टकृत सुरक्षा फौजको विमानस्थलमा आवश्यकता रहेको औंल्याउँछन् ।
छिमेकी देश भारतमा पनि विमानस्थलमा विशिष्टकृत सुरक्षा फौज खटाउन थालिएको छ । सेन्ट्रल इन्ड्रिस्टियल सेक्युरिटी फोर्स अन्र्तगत एयरपोर्ट सेक्युरिटी ग्रुप बनाएर विमानस्थल सुरक्षामा खटाइएको छ । खासगरी सन् १९९९ मा नेपालबाट एयर इन्डियाको जहाज अपहरणमा परेपछि भारतमा यसरी विशिष्टकृत सुरक्षाकर्मी खटाउन थालिएको हो ।
विमानस्थलको सुरक्षा सुदृढ बनाउन पटक–पटक छानविन तथा अध्ययन भएका छन् । तीन वर्षअघि एसपी कृष्णप्रसाद कोइरालको नेतृत्वको अध्ययन कार्यदलले प्रतिवेदन तयार पारेको थियो । उक्त कार्यदलले गरेका सिफारिसहरू अझै कार्यान्वायन भएका छैनन् ।
अन्तिम सेक्युरिटी जाँचपछि यात्रु र कर्मचारी भेट नहुने गरी व्यवस्थापन मिलाउनुपर्ने, अत्याधुनिक बडी स्क्यानर र एक्सरे मेसिन जडान गर्नुपर्ने, सबै कर्मचारीलाई अनिवार्य रुपमा पोशाकको व्यवस्था गर्नुपर्ने, अत्यावश्यक अवस्थामा बाहेक पास दिन नहुनेलगायत सुझाव कार्यदलले दिएको थियो ।
स्काइ सेफको खानालाई अनिवार्य रुपमा स्क्रिनिङ गर्न सिफारिस भएको थियो । प्लेनमा जाने खाना स्काइ सेफ नामक निजी कम्पनीले लैजाने गरेको छ । तर, खानासँगै विमानमा अन्य प्रतिबन्धित वस्तुसमेत पुग्न सक्ने भएकाले स्क्रिनिङ गर्न भनिएको थियो । तर, स्काइ सेफका खाना विमानमा लैजादा स्क्रिनिङ तथा जाँच हुने गरेको छैन ।
सह-सचिव शाहीलाई भएन कारबाही
मानव तस्करीमा मुछिदै आएका विमानस्थलस्थित अध्यागमनका कर्मचारी सुन तस्करीमा समेत संलग्न रहेको खुलेको छ । विमानस्थलमा स्टोरकिपरका रुपमा कार्यरत लक्ष्मण गुरागाई पक्राउ परेपछि अध्यागमन कर्मचारीको संगठित अपराध बाहिर आएको हो ।
उनले गत शुक्रबार एक किलो एक सय ६५ ग्राम सुन तस्करी गराएका थिए । दुबईबाट आएका कमल घिमिरेको सुन शौचालयमा गएर लिई विमानस्थल बाहिर पुगेर दिने क्रममा उनलाई उनलाई पक्राउ गरेको थियो । नासु गुरागाई प्रमुख अध्यागमन अधिकृत (सहसचिव) पुष्पराज शाहीका विश्वासप्राप्त कर्मचारी हुन् ।
स्टोरकिपर भएपनि उनले तस्करीमा संलग्न घिमिरेलाई भिजिट भिसामा दुबई पठाउने र सुन तस्करी गराउँदै आएका थिए । यसमा अध्यागमनका अन्य कर्मचारीको समेत संलग्नता रहेको स्रोत बताउँछ ।
यसअघि अध्यागमन प्रमुख शाही भिजिट भिसामा हुने मानव तस्करीमा मुछिएका थिए । उनको कार्यकालमा अध्यागमनको सेटिङमा हजारौं सर्वसाधारण खाडी पुगेका थिए । त्यसउपर हाल छानबिन भइरहेको छ ।
पटक-पटक यस्ता गलत काममा मुछिएका शाहीलाई गृह मन्त्रालयले कारबाही नगरी जोगाएको छ । सेटिङबाट कमाएको पैसाकै बलमा उनले कारबाही रोकेको अध्यागमन विभागका अधिकारीहरू बताउँछन् ।











