
काठमाडौं । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा उम्मेदवार बन्ने जनप्रतिनिधिले राजीनामा दिनुपर्ने व्यवस्थाप्रति दलहरुले विरोध जनाएको छ ।
निर्वाचन आयोगले सार्वजनिक गरेको आचारसंहितामा उम्मेदवार बन्न जनप्रतिनिधिले राजीनामा दिनुपर्ने व्यवस्था छ । सांसदको चुनाव हुँदा प्रधानमन्त्रीले राजीनामा दिनु नपर्ने तर पालिकाका मेयर वा अध्यक्षले राजीनामा दिनुपर्ने व्यवस्था अव्यावहारिक हुने नेताहरुले बताएका छन् ।
नेपाली कांग्रेसका प्रवक्ता डाक्टर प्रकाशशरण महतले उम्मेदवार बन्ने जनप्रतिनिधिले राजीनामा दिनुुपर्ने व्यवस्था उचित नहुने बताए । उम्मेवदवार बन्ने जनप्रतिनिधिले राजीनामा दिँदा पालिकाबाट हुँदै आएको सेवा नै प्रभावित हुने भएकाले यो व्यवस्था अव्यावहारिक हुने उनको भनाई छ ।
यस्तै एमालेका उपमहासचिव विष्णु रिमालले पनि चुनावमा जाँदा पदको दुरुपयोग नहोस् भनेर सोच्नुपर्ने भए पनि सेवा नै रोक्नेगरी आचारसंहिता बनाउन उचित नहुने बताएका छन् ।
एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालले पनि स्थानीय जनप्रतिनिधिले उम्मेदवारी दिनु पहिले नै राजीनामा दिनुपर्ने व्यवस्था विभेदकारी रहेको टिप्पणी गरेका छन् । निर्वाचन आयोगले भने अहिलेको कानुनी व्यवस्थाअनुसार नै निर्वाचन आचारसंहितामा राजीनामाको व्यवस्था गरिएको बताएको छ ।
निर्वाचन आयोगले चुनावलाई स्वतन्त्र, निष्पक्ष र प्रभावरहित बनाउने उद्देश्यका साथ नयाँ व्यवस्था गरिएको जनाएको छ ।














