
काठमाडौं । नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) आज पोखरा जाने भएका छन् । पार्टीको प्रशिक्षणमूलक कार्यक्रममा सहभागी हुन उनी पोखरा जान लागेका हुन् ।
प्रचण्ड पोखरा पुग्ने कार्यक्रम तय भएसँगै गण्डकी प्रदेशसभा स्थगित गरिएको बताइएको छ । उनको कार्यक्रमका कारण सांसदहरू व्यस्त हुने भएपछि आज १ बजे बस्ने भनिएको संसद् बैठक भोलिका लागि सारिएको जनाइएको छ । ‘प्रचण्डको कार्यक्रम पोखरामा रहेछ । उहाँहरूसहित उच्च नेताहरू आउने भएपछि यहाँका सांसदहरू त्यतै व्यस्त हुनुहुन्छ,’ कानुन मन्त्री विन्दुकुमार थापाले भने, ‘सहमतिमै १ दिनका लागि बैठक स्थगित गर्ने निर्णय भयो ।’
कार्यव्यवस्था परामर्श समितिको बैठक बसेर संसद् बैठक स्थगित गर्ने निर्णय भएको उनले बताए । माओवादीले आज सभागृहमा प्रदेशस्तरीय राजनीतिक वैचारिक प्रशिक्षणको आयोजना गर्दैछ । सो प्रशिक्षणलाई प्रचण्डलगायत वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, देव गुरुङ, देवेन्द्र पौडेल, दिनानाथ शर्मासहितका नेताहरूले सम्बोधन गर्ने भएका छन् ।












